कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त नर्स भन्छिन्– ‘सेवाभावले काम गर्दा फल’

बुनु थारु

काठमाडौँ — उषा देवकोटालाई सोमबार बिहान ६ बजे अस्पताल प्रशासनबाट फोन आयो । हत्तपत्त उठाएर हेलो भन्न नपाउँदै उनले सुरुमै बधाइ पाइन् । ‘सुरुमा त पत्याइनँ, किनकि मलाई नदेखेसम्म केही विश्वास गर्ने बानी छैन,’ उनले हाँस्दै भनिन्, ‘लिस्ट हेरें, मेरो नाम रहेछ । दिनभर बधाई दिनेको ओइरो नै लाग्यो ।’

उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त नर्स भन्छिन्– ‘सेवाभावले काम गर्दा फल’

कोभिड महामारीमा यतिबेला सबैभन्दा धेरै स्वास्थ्यकर्मी डटेर लागिपरेका छन् । उषा पनि टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ को फ्रन्टलाइनमा रहेर काम गर्ने एक नर्स हुन् ।

२५ वर्षे नर्सिङ करिअरको अवधिमा सरकारले उत्कृष्ट मूल्यांकन गरेर पुरस्कृत गर्छ होला भनेर कहिल्यै पनि कल्पना गरेकी थिइनन् । १७औं निजामति दिवसको अवसरमा उत्कृष्ट निजामति सेवा पुरस्कार पाएपछि आफूले गरेको परिश्रमको फल पाएको उनको भनाइ छ । उनले १ लाख राशीको पुरस्कार पाएकी हुन् । गोरखाको पालुङटार घर भएकी ४९ वर्षीया उषा अस्पतालमा अईसीयू इन्चार्जको रुपमाका कार्यरत छिन् ।

देवकोटालाई पुरस्कार भन्ने चिज सोर्सफोर्स लगाएर मात्रै पाइन्छ होला भन्ने लाग्थ्यो । त्यसैले वास्ता गर्दिनथिन् । ‘आफ्नो काममा पहिल्यैदेखि मन लगाएर गरिएको थियो । पुरस्कारको आशा त कहिल्यै थिएन । तर आज खुसी अनुभव भएको छ,’ उनी हर्षित सुनिइन् ।



टेकुमा आइसीयूको स्थापनाको पहलकर्ता
नेपालमा माघ १० गते पहिलोपटक कोरोना देखियो । सो समयदेखि नै सबै स्वास्थ्यकर्मी डटेर लागिपरेको उनी बताउँछिन् ।

४ वटा आईसीयू बेड चलाउँदै आएकी देवकोटालाई केस बढ्दै जाँदा बिरामीको सेवा कसरी गर्न सकिन्छ र आफूलाई पनि संक्रमण होलाकी भन्ने डर मनमा रहन्थ्यो । जति आईसीयूको क्षमता बढ्ने, त्यति टेन्सन बढ्ने हुन्थ्यो । तर, अहिले त्यस्तो अवस्था नरहेको उनको भनाइ छ ।

२०४७ सालबाट पोखरा नर्सिङ कलेजबाट नर्सिङ करिअर सुरुवात गरेकी उनले २०६३ सालमा टेकु अस्पतालमा काम गर्न सुरु गरेकी हुन् । ४ वर्षअघि आईसीयूको निर्माणमा पनि उनको पहलकदमी महत्वपूर्ण थियो । ४ बेडबाट सुरु गरिएको आईसीयू कोरोना अस्पताल बनाइएपछि २० वटा बेडमा विस्तार गरिएको छ ।

देवकोटाले फोहोर व्यवस्थापन संयोजकको जिम्मेवारीसमेत सम्हालेकी छिन् । उनका अनुसार हालसम्म यस अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित नहुनु भनेको फोहोरको उचित व्यवस्थापन र स्वास्थ्यकर्मीलाई पर्याप्त मात्रामा आवश्यक सामग्री जुटाइएका कारणले हो ।

सफलताको श्रेय अस्पताल टिमलाई
कोरोनाको केस बढ्दै गए पनि अस्पतालको राम्रो व्यवस्थापन र टिमले कहिल्यै पनि कोभिडका बिरामीलाई हेरिरहेको भन्ने डर महसुस नगराएको उनको भनाइ छ । उनी भन्छिन्, ‘हामी आफ्नो कामबाट डराएर कहिल्यै पनि पन्छिने गरेका छैनौं, नर्सिङ सेवा राम्ररी दिएका छौं ।’

देवकोटाका अनुसार पछिल्लो समय आईसीयूमा भर्ना हुने केस बढ्दो छ । अहिले पनि २० वटै बेड प्याक छ । उनले यो दौरानमा धेरै बिरामीको सेवा गरिन् र अहिलेसम्म आफूलाई कसैले नराम्रो व्यवहार नगरेको उनको अनुभव छ । ‘आईसीयूमा भर्ना हुने बिरामी प्राय अक्सिजन चाहिन्छ नै र भनेको कुरा मान्छन् पनि,’ उनी भन्छिन् ‘कोहीकोही त अझै डिस्चार्ज हुने बेलापनि एक दुई दिन अझै बस्छु भनेर जिद्दी पनि गरेको पाएको छु ।’

देवकोटा सरकारबाट मूल्यांकन गरेर उत्कृष्ट ठहरिएकोमा यसको श्रेय अस्पताललाई दिन चाहन्छिन् । उनी भन्छिन्, ‘आफूले नेतृत्व गरेर काम गरेपनि सबै टिमले गर्दा नै सहज हुन्छ । तर, मुख्य कुरा सेवा गर्ने भावनाले काम गर्‍यो भने फल पक्कै पाइन्छ ।’

हाल अस्पतालकै क्वार्टरमा बस्दै आएकी उनी कहिलेकाहिँ फुर्सद मिलाएर घर जाने गरेकी छिन् । विसम परिस्थितिमा बिरामीको सेवा गर्न पाउँदा गर्व लाग्ने तर, स्वास्थ्यकर्मीहरलाई दुर्व्यवहार गरेको घटना सुन्दा भने एकदम दुःख लाग्ने उनले सुनाइन् । भन्छिन्, ‘सबैलाई कोरोना लाग्छ सक्छ । संक्रमित हुँदैमा कसैलाई भेदभाव गर्नु हुँदैन । जसरी हामी सबै बिरामीलाई सेवा गर्छौं, स्वास्थ्यकर्मीलाई पनि आदर गर्न सिक्नुपर्छ ।’

प्रकाशित : भाद्र २२, २०७७ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?