कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तर्राष्ट्रिय उडानको तालिका संशाेधन, थपिए ५५ उडान

सुरज कुँवर

काठमाडौँ — मन्त्रिपरिषदले अन्तर्राष्ट्रियतर्फ दैनिक आगमन यात्रु ८ सयसम्म नबढ्ने गरी नियमित र चार्टर उडान सञ्चालन गर्ने आदेश दिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिकामा ५५ वटा उडान थपेर १ सय ४२ वटा उडानलाई अनुमति दिइएको छ ।

अन्तर्राष्ट्रिय उडानको तालिका संशाेधन, थपिए ५५ उडान

कोभिड–१९ को माहामारीका कारण स्वदेश फर्किन चाहने नेपालीहरु श्रम गन्तव्यमा हजारौंको संख्यामा रहेकाले भदौ १४ गतेको मन्त्रिपरिषद बैठकले चार्टर र नियमित दुवै उडानबाट आउने यात्रुको संख्या ३ सय थप्दै ८ सय पुर्‍याएको थियो । सरकारले भदौं ४ को जारी गरेको यात्रु संख्या ५ सयको आदेश संशाेधन गरिदिएछि मन्त्रालयले भदौ १६ देखि असोज १४ सम्मको एक महिनामा ९३ वटा नियमित र ४९ वटा चार्टर उडानलाई काठमाडौंका लागि अनुमति दिएको हो ।

सरकारले पहिलोपटक भदौं ४ गते मन्त्रिपरिषदबाट दैनिक आगमन यात्रु ५ सय नबढ्ने गरी चार्टर उडानसँगै निमियत उडान खुला गर्ने निर्णय गरेको थियो । तर, नेपाल आउने यात्रुको संख्या विदेशमा अत्याधिक भएको र थोरै उडानमा टिकट अत्याधिक महँगो भएपछि सरकारलाई उडान संख्या बढाउन दबाब परेको थियो ।

हाल नियमित उडान खुला गरिएका गन्तव्यमा छिमेकी मुलुक भारतबाहेक चीनको छेन्दु, ग्वाङजाउ, छोङकुइङ, हङकङ, मलेसिया, जापान, कोरिया छन् । त्यस्तै पश्चिममा दोहा, दुबई, शारजाह, साउदी अरब, आबुधाबी र इस्तानबुल छन् । त्यस्तै चार्टर (उद्धार) उडानतर्फ माल्दिभ्स, कतार, कुवेत, जेद्दा ओमन, बहराइन, रियाद, सिंगापुर आदि गन्तव्य छन् ।

उडान अनुमति पाउने स्वदेश वायुसेवामा नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्स र श्री एयरलायन्स छन । विदेशीतर्फ कोरियन एयर, चाइना साउर्दन, एयर चाइना, मलेसियन एयरलायन्स, मालिन्दो एयर, क्याथे ड्रयागन, सिल्क एयर, एयर अरेबिया, कतार एयरवेज, फ्लाई दुबई, जजिरा एयर लगायत छन् ।

मन्त्रालयका एक अधिकारीका अनुसार यी नियमित तथा चार्टर उडानले काठमाडौंमा यात्रु ल्याउँदा बिहान ६ बजेदेखि बेलुकी ६ बजेभित्र आइसक्नुपर्ने छ । यी उडानमा मेडिकल लगायतका कार्गो उडान गर्ने वायुसेवाको अनुमति समेटीएको छैन ।

नियमित उडानमा नेपाल आउने यात्रुले उडान हुनु ७२ घन्टाभित्रको पीसीआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य ल्याउनु पर्ने नियम छ । एउटै उडानमा पीसीआर जाँच गरेका र नगरेका यात्रु मिसाएर ल्याउन रोक लगाइएको छ । त्यसो गरेमा वायुसेवाको खर्चमा ७ दिन सबै यात्रुलाई काठमाडौंका होटल क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने नियम छ ।

नियमित उडानबाट काठमाडौंमा पर्यटकलाई आउन रोक नै लगाइएको छ । तर नेपालमा रहेका कूटनैतिक नियोग, दूतावास, अन्तर्राष्ट्रिय विकास साझेदार संस्था, संयुक्त राष्ट्र संघका नियोगमा कार्यरत कर्मचारी र तीनका परिवारलाई भने आउन छुट छ ।

प्रकाशित : भाद्र २२, २०७७ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?