वीरको कोभिड वार्ड नर्सको भरमा

कोभिड वार्डका नर्स भन्छन्– ‘ बिरामी आत्तिन्छन्, डाक्टर नै बोलाइदेऊ भनेर हामीलाई कराउँछन् तर डाक्टर बिरामीसँग बो ले पनि फोनमा मात्रै हो । सबै हामीले नै सम्हालेका छौं ।’
फातिमा बानु

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड अस्पताल बनाउने घोषणा गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार मन्त्रालयमा बसेको बैठकले वीर अस्पताललाई पनि कोभिड अस्पताल बनाइएको जानकारी दिएका थिए ।

वीरको कोभिड वार्ड नर्सको भरमा

वीरमा कोभिड उपचारका लागि हाललाई १ सय ७० बेड छुट्याइएको छ । यसका साथै भेन्टिलेटरसहितका २३ वटा आईसीयू बेड पनि कोभिड–१९ बिरामीका लागि प्रयोग गरिने भएको छ ।

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार वीर अस्पतालको ओपीडीमा बिरामीहरूको जाँच गरिन्छ र पोजिटिभ देखिएका बिरामीलाई वीरमा भर्ना गरिन्छ भने नेगेटिभ आएकालाई थप उपचार चाहिने देखिएमा ट्रमा सेन्टरमा पठाइनेछ । उनले बिरामीको चाप कम भएकाले कोभिड अस्पताल बनाउँदा अप्ठेरो नहुने बताए । कोभिड वार्डमा भर्ना रहेका कोरोना संक्रमितको उपचारमा भने नर्सिङका कर्मचारी मात्रै खटिन्छन्, चिकित्सकहरू हम्मेसी पस्दैनन् । निर्देशक डा. सेन्चुरीले कोभिड वार्डमा पालो परेका सबै चिकित्सकलाई काममा खटिन अनुरोध गरेको बताए । यद्यपि त्यहाँ पालो परेका चिकित्सकले काम गरे/नगरेको भन्नेबारे आफूले अनुगमन गर्न नभ्याएको उनले दाबी गरे ।

निर्देशक डा. सेन्चुरीको दाबीविपरीत जेठदेखि कोरोना वार्डमा कार्यरत नर्सिङ स्टाफका अनुसार चिकित्सकहरूले त्यहाँ फोनमा मात्रै निर्देशन दिने गरेका छन् । अहिले आफैं संक्रमित भएपछि आइसोलेसनमा रहेकी ती नर्सका अनुसार चिकित्सकहरू विरलै वार्डभित्र पस्छन् । उनले वार्डमा खटिँदा चिकित्सकले नसघाउने र बोलाउँदा पनि नआउने गरेको सुनाइन् । उनका अनुसार वार्डमा अधिकांश करार, ज्यालादारी र रेजिडेन्ट चिकित्सक मात्रै खटाइएका छन् । ‘चिकित्सकहरू आउनुभयो भने पनि वार्डभित्र छिर्नुहुन्न, सकेसम्म ढोकैबाट सोधखोज गरेर फर्किनुहुन्छ,’ उनले भनिन्, ‘कोही भित्र छिर्नुभयो भने पनि बिरामीको बेड साइडसम्म जानुहुन्न । फाइल हामीलाई नै पल्टाउन लगाउनुहुन्छ र औषधि पनि टाढैबाट टिपाइदिनुहुन्छ ।’

उनका अनुसार कोभिड वार्डमा नर्सिङ स्टाफहरू बस्नका लागि छुट्याइएको स्टेसन पनि आफैंमा असुरक्षित छ । ‘हामी बस्ने वार्ड सुरक्षित छैन, नर्सिङ स्टेसन र वार्ड एकै ठाउँमा छ । ड्युटी गर्दासम्म बिरामी नजिकै बस्नुपर्ने थियो,’ उनले भनिन्, ‘त्यसैले पनि संक्रमित भएँ ।’

चिकित्सक वार्डमा नआइदिँदा आफूहरूलाई बिरामीको उपचारमा समस्या पर्ने गरेको अर्की एक नर्सिङ स्टाफले बताइन् । ‘बिरामी आत्तिन्छन्, डाक्टर नै बोलाइदेऊ भनेर हामीलाई गाली गर्छन्,’ उनले भनिन्, ‘तर डाक्टर बिरामीसँग बोले पनि फोनमा मात्रै हो । सबै हामीले नै सम्हालेका छौं ।’

पाँच वर्षदेखि वीर अस्पतालमा कार्यरत एक नर्स कोरोनाका बिरामीको रेखदेखमा खटिँदाखटिँदै अहिले आफैं संक्रमित भएकी छन् । ‘कोरोना रोग नै नयाँ थियो, हामीलाई पनि धेरै थाहा थिएन, डर लाग्थ्यो,’ उनले भनिन्, ‘बिरामी हेर्न सिकाउने डाक्टर नआउने, सबै कुरा फोनमा मात्रै सोधेर काम टार्थे । ल राम्ररी काम गर भन्थे तर बिरामी हेर्न सिकाएनन् ।’ अहिले उनी अस्पतालले नै उपलब्ध गराएको आइसोलेसनमा छिन् । कोभिड वार्डमा काम लगाउँदा पनि गुणस्तरीय व्यक्तिगत सुरक्षा सामग्री नदिइएको उनले गुनासो गरिन् । ‘निरन्तर आठ घण्टा ड्युटी हुन्थ्यो । पीपीई लगाएपछि घरीघरी शौचालय जान मिलेन,’ उनले भनिन्, ‘म त पानी पनि नखाई खटिएँ । महिनावारी हुँदा कति पटक त प्याड चेन्ज गर्न पनि मिलेन ।’ खाइनखाई बिरामी हेर्दा पनि कामको मूल्यांकन नभएको उनले दुखेसो पोखिन् ।

पूरै वार्ड आफूहरूले सम्हालेर बस्दा पनि अहिलेसम्म जोखिम भत्ता नपाएको र तलबसमेत समयमा नपाएको अधिकांश नर्सिङ स्टाफले गुनासो गरे । जोखिम धेरै र सुरक्षा नभएपछि घरबाट पनि कामै छोड्न दबाब आएको र यसले मानसिक तनाव भइरहने उनीहरूको भनाइ थियो । ‘घर नगएको महिनौं भयो, अस्पतालले अविवाहित र बच्चा नभएकालाई छानेर कोभिडमा खटाएको छ,’ उनले भनिन्, ‘अविवाहितको चाहिँ जीवन हुँदैन र ? परिवार नै छैनन् र ?’

आकस्मिक कक्षमा खटिने पनि असुरक्षित

काठमाडौं उपत्यकामा रहेका अस्पतालहरूमा वीर अस्पतालको आकस्मिक कक्ष सबैभन्दा बढी बिरामीको चाप हुनेमध्येमा पर्छ । त्यहाँ कोरोना संक्रमणको शंका लागेका र नलागेका दुवै बिरामी पुग्छन् । सामान्य अवस्थामा पनि रेजिडेन्ट, जुनियर चिकित्सक तथा इन्टर्न स्वास्थ्यकर्मीहरूको जिम्मामा आकस्मिक कक्ष हुने गर्छ । विशेषज्ञ चिकित्सक त्यहाँ विरलै पुग्छन् । त्यहाँ खटिएका स्वास्थ्यकर्मीले पनि अस्पतालले गुणस्तरीय पीपीईलगायत पन्जाको व्यवस्था नगरेको दाबी गरे । ‘पन्जा दिइएको छैन । हामीले बिरामीलाई नै पन्जा किन्न लगाएर मात्रै उपचार सुरु गर्ने गरेका छौं,’ उनले भने ।

पीपीई नहुँदा र तलब समयमा नदिँदा चिकित्सकहरूले काम गर्नै नचाहेको उनले बताए । यस्तै अवस्था रहे भोलि बिरामी नहेर्ने, आफ्नै ज्यान बचाउनेतिर लाग्ने मानसिकतामा सबै पुगिसकेको कोभिडको उपचारमा खटिएका एक स्वास्थ्यकर्मीले बताए ।

प्रकाशित : भाद्र २२, २०७७ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?