३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

उद्धार उडानमा मनोमानी

माल्दिभ्सबाट डेढ सय यात्रु ल्याउँदा ट्राभल एजेन्सीले यात्रुसँग एयरलाइन्सले तोकेभन्दा एक सय डलर बढी असुली, यात्रुद्वारा कारबाही माग
देवेन्द्र भट्टराई

काठमाडौँ — हिमालय एयरलाइन्सले तालिकामा राखेको माल्दिभ्स–काठमाडौं उद्धार उडानमा एयरलाइन्सले तोकेभन्दा एक सय डलर बढी प्रत्येक यात्रुबाट असुलेकामा उक्त उडानमा आएका डेढ सय यात्रुले सम्बद्ध ट्राभल एजेन्सीविरुद्ध कारबाहीको माग गरेका छन् ।

उद्धार उडानमा मनोमानी

एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर्दै माल्दिभ्स–काठमाडौं उडानलाई ४८० डलर भाडा तोकेको थियो । ‘माल्दिभ्स मामिला हेर्ने श्रीलंकाको कोलम्बो दूतावासबाट उद्धार उडानको सूचना आएपछि भनिएअनुसार हामीले हिमालय एयरलाइन्सको एजेन्टलाई सम्पर्क गरेका हौं,’ गत बुधबार नेपाल फर्किएर ठमेलस्थित एक होटलमा क्वारेन्टाइन बसिरहेका एक नेपाली डाक्टरले भने, ‘एयरलाइन्सको सूचनामा तोकिएभन्दा १ सय डलर बढी ५८० डलरका दरले बैंकमा जम्मा गर्‍यौं ।’

तोकिएभन्दा बढी शुल्क किन लिइएको हो भन्दा एजेन्ट र एजेन्सीले कुनै जवाफै दिएनन् ।’ संकटको घडीमा उद्धार उडानमा आउन लागेका यात्रुबाट बढी पैसा असुल्ने एजेन्सी रुप्से ट्राभल्सविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन यात्रुहरूले एयरलाइन्स र पर्यटन मन्त्रालयसमेतलाई अनुरोध गरेका छन् ।

सरकारले तोके र अनिवार्य सर्त बनाएअनुसार पाँच दिनयता ठमेलका विभिन्न होटलमा सशुल्क क्वारेन्टाइनमा राखिएका माल्दिभ्सबाट आएका सबै यात्रुबाट होटलमा एक साताका लागि प्रतिबेड ११ हजार रुपैयाँ शुल्क लिइएको छ । एउटा कोठामा दुई बेड राखेर यात्रुलाई आवासीय सुविधा दिइएको अर्का एक डाक्टरले बताए । माल्दिभ्समा ५ सयभन्दा बढी नेपाली डाक्टर कार्यरत छन् । गत बुधबार मालेबाट आएको यो उद्धार उडानमा झन्डै एक दर्जन माल्दिभ्सकै विद्यार्थी पनि छन्, उनीहरू नेपालमै एमबीबीएस अध्ययनरत छन् ।

हङकङ उडानमा मनपर्दी टिकट

नियमित तालिकामा परेको नेपाल वायुसेवा (आरए) को काठमाडौं–हङकङको आगामी बुधबार (भदौ २४ गते) को उडानका लागि एउटै टिकट पनि आरए पद्धतिबाट बिक्री नगरी एकलौटी एजेन्ट हार्वेस्ट मुनलाई जिम्मा दिइएपछि यसबारे छानबिन गर्न उजुरी परेको छ ।

हङकङ फर्कन यही उडान पर्खेर बसिरहेका नेपाली व्यवसायी तथा यात्रुले थाहै नपाई गत आइतबार कार्यालय समय सकिनै लागेको अपराह्नको समयमा बुकिङ खुला गरिएकामा २ घण्टाकै अन्तरमा एउटै एजेन्सीबाट न्यारोबडीको झन्डै १५० टिकटमध्ये ९० वटा जारी भएको देखिएपछि यसमा ‘मिलेमतो’ भएको भन्दै व्यवसायीले उजुरी दिएका छन् । ‘नेपाल वायुसेवाले करसहित ५७ हजार रुपैयाँ टिकट शुल्क तोके पनि ट्राभल एजेन्सीले ८० हजार रुपैयाँभन्दा बढी शुल्क लिएको पाएका छौं, त्योसँगै गत आइतबार अपराह्न ४:४५ मा खुला गरिएको टिकट बुकिङ २ घण्टामै सकिएको र ९० वटा सिटमा एउटै एजेन्सीले टिकट बुकिङ गरेको देखिएपछि निगम पदाधिकारी, एजेन्ट र कर्मचारी तहमा प्रत्यक्ष मिलेमतो देखिएको छ,’ नेपाल एसोसिएसन अफ ट्राभल एजेन्ट्स (नाटा) का एक पदाधिकारीले भने, ‘यो मामिलालाई अख्तियार छानबिनमा लिएर जाने भएका छौं ।’

यो उडानका लागि पहिले टिकट लिएर बसेमध्ये झन्डै २५ यात्रुको ‘रिभ्यालिड टिकट’ गरिएको भए पनि अरू टिकट बुकिङ र बिक्रीबारे केही सीमित ट्राभललाई पहिल्यै जानकारी गराई यात्रुको सूची तयार गरेपश्चात् मात्रै निगमको वाणिज्य विभागबाट बुकिङ खुला गरिएको ती पदाधिकारीले बताए । अहिले विवादमा देखिएको ट्राभल एजेन्सी हार्वेस्ट मुन दुई महिनाअघि अनियमित ढंगबाट भएका चार्टर उडानको सूचीमा परेपछि पर्यटन मन्त्रालयले कारबाही गर्ने भन्दै प्रतिवेदन तयार पारेको थियो । यो ट्राभल एजेन्सी मलेसियाको हवाई उडान टिकेटिङ प्रकरणमा पनि कारबाहीमा परेको थियो ।

सरकारले यही भदौ १६ देखि पीसीआर सहज हुने केही देशसँग नियमित उडान खोल्ने निर्णय गरेको थियो । यही मौकामा निगम पदाधिकारी तथा केही सीमित ट्राभल एजेन्टको मिलेमतोमा बुकिङमा चलखेल गरेको पाइएको छ । नाटाका पदाधिकारीले कोरोनाले गर्दा निषेधाज्ञा रहेका समयमा समेत कार्यालय समय सकिनै लाग्दा बुकिङ खोलिनु, बुकिङ खुल्ला गरेको दुई घण्टामै एकै ट्राभलबाट अधिकांश टिकट बुकिङ हुनुमा साँठगाँठ भएको जनाएका छन् । ‘यसरी निगमभित्र शृंखलाबद्ध भ्रष्टाचार र आर्थिक अनियमितताको पाटो उजागर हँुदा पनि विभागीय मन्त्री, कार्यकारी अध्यक्षसहितका पदाधिकारी मौन रहेको स्थितिलाई सामान्य मान्न नमिल्ने देखिन्छ,’ ती पदाधिकारीले भने । यसबारे प्रतिक्रिया लिन खोज्दा नेपाल वायुसेवाका प्रवक्ता सम्पर्कमा आउन चाहेनन् ।

चार्टर प्रतिवेदन ‘गायब’

कोरोना संक्रमण र सन्त्रासकै बीच विदेशबाट आफ्ना नागरिक फिर्ता ल्याउने भन्दै गरिएको चार्टन उडानहरूमा छानबिन गर्न पर्यटन मन्त्रालयले दुई महिनाअघि गठन गरेको छानबिन समितिको प्रतिवेदन ‘गुपचुप’ बनाइएको छ ।

पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा तयार भएको प्रतिवेदनमा ‘कुनै ट्राभल एजेन्सीको पक्षमा सिफारिस गर्दै जापान उडान गर्न सकिने भनेर कूटनीतिक मर्यादाविपरीत काम भएको’ निष्कर्ष निकालिएको थियो । गत जेठ तेस्रो साता यात्रुसँग तेब्बर भाडा असुल्दै चार्टर उडान सञ्चालन गर्न थालिएपछि कूटनीतिक नियोग प्रत्यक्ष संलग्न हुनेबाहेकका उडानलाई अनुमति नदिने निर्णय गरिएको थियो । तर यो निर्णय नसेलाउँदै ‘माथिबाट आएको दबाब’ भनेर काठमाडौंका सोसाइटी र सेरेन ट्राभललाई जापान र अस्ट्रेलिया लागि चार्टर उडान अनुमति दिइएको थियो ।

दूतावास र एयरलाइन्सबीच सम्झौता नभएकै अवस्थामा आपसी मिलेमतोमा चार्टर उडान भएको पुष्टि भएपछि पर्यटनमन्त्री योगेश भट्टराईले सम्बद्ध पक्षलाई कारबाही गरिने भन्दै छानबिन समिति बनाएका थिए । अहिलेसम्म ‘गोप्य’ राखिएको प्रतिवेदनमा भनिएको छ, ‘निगमका वाणिज्य विभागका जिम्मेवार अधिकारीले कूटनीतिक नियोगमा सोझै इमेल पत्राचार गर्दै कुनै ट्राभल एजेन्सीको पक्षमा जापान उडान हुने स्वीकृति दूतावासबाट प्राप्त गर्ने गरेको विषय कूटनीतिक मर्यादाको प्रतिकूल पाइएको छ ।’ प्रतिवेदनमा निगमका वाणिज्य विभागका प्रमुख टंकनिधि दाहललगायतले यो गैरकानुनी प्रक्रियाबारे कामचलाउ स्पष्टीकरण दिएका छन् । यसरी अनियमित ढंगमा चार्टर उडान भर्नेमा सोसाइटी, सेरेन, सुमेग, हार्वेस्ट–मुन, बोन, एबल नेपाल, प्रेसिडेन्टलगायत थिए ।

नारिता स्टेसन ‘बेबारिस’

नेपाल–जापान प्रत्यक्ष हवाई सम्पर्क जोड्ने भन्दै सुरु भएको नेपाल वायुसेवाको नारिताको नेपाली स्टेसनमा ६ महिनादेखि नेपाली कर्मचारी नरहेकै अवस्थामा पर्यटन मन्त्रालयले नियमित उडान तालिका सार्वजनिक गरेको छ ।

लामो समयदेखि जापानका लागि कन्ट्री म्यानेजर तोकिएको छैन भने भएका एयरपोर्ट म्यानेजर गीता चन्द र फाइनान्स म्यानेजर सरोज पन्थी दुवै जना ५ महिनायता काठमाडौंमै छन् । अहिले जापानी कर्मचारीको सहयोगमा नेपाल वायुसेवाको उडान कामचलाउ सञ्चालन भइरहेको छ । ‘अहिले नेपाल वायुसेवाको नारिता उडानलाई बेवारिस बनाइएको छ,’ टोकियोस्थित नेपाली दूतावासका एक कर्मचारीले कान्तिपुरसँग भने, ‘अहिले नेपाल वायुसेवाको उडान तालिका नियमित भइसक्दा पनि वायुसेवाका कोही कर्मचारी यहाँ आएका छैनन् । वायुसेवा सम्बन्धित कतिपय समस्या लिएर यात्रुहरू दूतावासमा आइरहेका हुन्छन्, हामी जवाफ दिने अवस्थामै छैनौं ।’

गत साता काठमाडौंबाट नियमित फ्लाइट सुरु भएर नारितामा पहिलो उडान भइसक्दासमेत वायुसेवा कर्मचारीलाई काठमाडौंमै राखेर उडान सेवालाई बेवारिसे बनाइएकामा टोकियोस्थित दूतावासले यो बेवारिस अवस्थाबारे परराष्ट्रलाई जानकारी पठाएको छ ।

प्रकाशित : भाद्र २२, २०७७ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?