२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कोरोनाले थलियो ‘टापु’ नगरपालिका

द्वन्द्व, नाकाबन्दी र हडतालले असर नगरेको दोधारा र चाँदनी कोरोनाले सुनसान बनेको छ ।
भवानी भट्ट

महेन्‍द्रनगर — पूर्वतिर महाकाली नदी । पश्चिममा अर्को नदी जोगबुडा । बीचमा टापु जस्तै दोधारा–चाँदनी क्षेत्र । हाल महाकाली नगरपालिका नामकरण गरिएको महाकाली पारिको एकान्त क्षेत्रको छुट्टै पहिचान छ । सशस्त्र द्वन्द्वका बेला होस् वा भारतको नाकाबन्दीका बेला यहाँको जनजीवन कहिल्यै प्रभावित भएन ।

कोरोनाले थलियो ‘टापु’ नगरपालिका

जिल्लामा हुने विभिन्न किसिमका बन्द र हडतालबाट समेत यो क्षेत्र टाढा रह्यो । भारतीय नाकाबन्दीका बेला त झन् यहाँबाट पेट्रोलियम पदार्थदेखि विभिन्न सामग्री नेपाल भित्रिन्थ्यो ।

१० वर्षे सशस्त्र द्वन्द्व र विभिन्न आन्दोलनका बेलासमेत दोधारा–चाँदनीको चहलपहल घटेको थिएन । अहिले भने यो क्षेत्र सुनसान छ । यहाँका मुख्य बजारहरू चाँदनी, हेल्थपोस्ट, बाबाथान र आम्भोज पूर्ण रूपमा बन्द छन् । बजार मात्रै होइन ग्रामीण भेगमा समेत आवागमन पूर्ण रूपमा बन्द छ । कोरोना संक्रमणको जोखिम बढेपछि पछिल्लो समय नगरपालिकालै नै एक साताका लागि लकडाउन घोषणा गरेपछि यो क्षेत्र झनै सुनसान बनेको हो ।

‘लकडाउनले सबै ठप्प भएको छ,’ महाकाली नगरपालिका–९ का कान्छा मगरले भने, ‘गाउँमा मालसामान पाइन पनि छाडेको छ ।’ उनका अनुसार लकडाउनअघिसम्म दोधारा–चाँदनीमा खाद्यान्नदेखि दैनिक उपभोग्य सामग्री सबै सीमावर्ती बजार खटिमाबाट आयात हुन्थ्यो । लकडाउन सुरु भएपछि भारतबाट आउने सामान बन्द नै भएको छ । महेन्द्रनगरबाट पनि आवश्यकताअनुसार दैनिक उपभोग्य वस्तु आउन नसकेका कारण अभाव हुन थालेको कान्छा बताउँछन् । ‘माओवादी द्वन्द्वमा समेत यो क्षेत्र यति प्रभावित भएको थिएन,’ कान्छा भन्छन्, ‘नाकाबन्दीका बेला हामीले नै भारतबाट डिजेल, पेट्रोल ल्याएर महेन्द्रनगरसम्म पुर्‍यायौं ।’

महाकाली नगरपालिका अहिले पनि सडक सञ्जालसँग जोडिएको छैन । चारपाङ्ग्रे सवारीसाधनका लागि भारतकै बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । ५० को दशकमा निर्माण भएको झोलुङ्गे पुलले यस क्षेत्रलाई सदरमुकामसँग जोडेको छ । लकडाउनसँगै नाका बन्द भएपछि यहाँ नेपालमा उत्पादित सामानहरू देखिन थालेका छन् ।

‘लकडाउनले यो क्षेत्रको जनजीवन निकै प्रभावित भएको छ, भारतबाट सामान ल्याउन पाइँदैन, नेपालबाट भित्र्याउने बाटो छैन,’ महाकाली नगरपालिका–१० का अमरबहादुर खड्काले भने, ‘हामी त लकडाउनमा टापुमै फस्यौं ।’ उनका अनुसार लकडाउनका कारण अहिले खाद्यान्नलगायत वस्तुको मूल्यसमेत निकै बढेको छ । लकडाउनकै कारण यहाँ उत्पादित तरकारीसमेत बजार पुर्‍याउन नसकिएको स्थानीय बताउँछन् । यस क्षेत्रमा तरकारी उत्पादन निकै राम्रो हुन्छ ।

साविकको दोधारा र चाँदनी गाविसलाई गाभेर महाकाली नगरपालिका बनाइएको हो । यहाँका अधिकांश युवाहरू रोजगारीका लागि भारत जान्छन् । मावि तहसम्मका अध्ययनपछि उनीहरू रोजगारीका लागि भारत जाने गरेका हुन् । कोरोनाका कारण अहिले भारत पसेका अधिकांश युवाहरू घर फर्किएका छन् । गाउँमा रोजगारीका अवसर नहुँदा उनीहरूलाई दैनिक गुजारा चलाउन पनि समस्या हुन थालेको छ । ‘कोरोनाका डरले घर फर्कियौं, अब यहाँ गुजारा चलाउनै मुस्किल हुन थाल्यो,’ मुम्बईबाट जेठमा घर फर्किएका महाकाली नगरपालिका–२ का बिरु सुनारले भने, ‘एक/डेढ महिना क्वारेन्टाइनमै बसेर बित्यो, गाउँमा काम पनि केही छैन ।’ उनी मुम्बईमा होटलमा काम गर्थे । मासिक १५ हजार तलब पाउँथे ।

दोधारा–चाँदनीलाई जोड्‍ने महाकाली नदीमा झोलुंगे पुल  । तस्बिर : भवानी/कान्तिपुर

यस क्षेत्रमा खेतीपातीबाहेक रोजगारीको अन्य अवसरहरू छैनन् । युवालाई स्थानीयस्तरमा स्वरोजगार बनाउने योजनाहरू ल्याउने गरी यस वर्ष बजेटसमेत छुट्याइएको नगरप्रमुख वीरबहादुर सुनार बताउँछन् । तर कोरोनाको जोखिमका कारण विभिन्न किसिमका तालिमहरू सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले बताए । ‘कोरोनाका कारण धेरै युवाहरू घर फर्किएका छन्, कतिपय त फेरि काममा फर्किसके,’ नगरप्रमुख सुनारले भने, ‘धेरै युवाहरू फर्केका कारण बेरोजगारको संख्या पनि बढेको छ ।’

महाकाली नगरपालिकामा कामका लागि भारत जानेको संख्या १५ हजारभन्दा बढी छ । कोरोनाका कारण घर फर्किनेको संख्या आधा मात्रै छ । तीमध्ये कतिपयले सानोतिनो व्यवसाय सुरु गरेका छन् भने केही मजदुरी गरिरहेका छन् । अधिकांश अहिले पनि बेरोजगार नै छन् । ‘यो क्षेत्र पूर्ण रूपमा ठप्प भएको पहिलो पटक हो,’ नगरपालिकाका प्रवक्ता दिलबहादुर सिँजालीले भने, ‘द्वन्द्व, नाकाबन्दी र हडताल कुनै बेलासमेत यहाँ केही असर परेको थिएन, कोरोनाले थला पार्‍यो ।

प्रकाशित : भाद्र २०, २०७७ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?