कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कांग्रेस महाधिवेशन : सजिलो छैन पौडेललाई

कांग्रेसका वरिष्ठ नेता पौडेल लामो समय पार्टीको आन्तरिक द्वन्द्वमा मध्यमार्गी भूमिकामा देखा परे, गुट–उपगुटको राजनीतिबाट अलग हुन खोजे । संस्थापनइतर समूहको नेता बने पनि उनको संगठनको आधार कमजोर छ । आगामी महाधिवेशनमा उम्मेदवार बन्न पनि अरु शीर्ष नेताहरुको साथ र सहयोग चाहिने देखिन्छ ।
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसभित्र पुस्तान्तरणको मुद्दा उठ्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो तुलना नहुने तर्क गर्छन् । चार पटक प्रधानमन्त्री र पार्टी सभापतिमा परीक्षण भइसकेको नेतासँग आफूलाई दाँज्न नहुने उनको भनाइ छ ।

कांग्रेस महाधिवेशन : सजिलो छैन पौडेललाई

देउवासँगै जोडेर दुवैबाट पार्टी चल्दैन भनेर गरिने टीकाटिप्पणीप्रति उनको चित्तदुखाइ छ । उनी भन्ने गर्छन्, ‘मलाई एक पटक परीक्षण गरेर हेर्नुहोस्, अनि मात्रै सफल र असफलको चित्रण गर्नुहोला ।’

आफूमाथिको परीक्षणकै लागि पौडेलले आसन्न १४ औं महाधिवेशन ताकिरहेका छन् । पत्रकारसमेत रहेका विश्लेषक राजेन्द्र दाहालको भनाइमा भने पौडेल प्रधानमन्त्रीबाहेक पार्टी र सरकारमा मुख्य पदमा परीक्षण भइसकेका नेता हुन् । प्रधानमन्त्रीका लागि उनी १७ पटकसम्म प्रत्याशी भए । तर निर्वाचित हुन सकेनन् । तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि उनी छोटै समय भए पनि पार्टीको कार्यवाहक सभापति भए । उनकै नेतृत्वमा १३ औं महाधिवेशन भयो । त्यही महाधिवेशनबाट आफ्नै समकक्षी नेता देउवासँग उनी सभापतिमा पराजित भए । ‘पौडेलको निष्ठा र त्यागमा कुनै खोट छैन, तर उनका पछि आम कार्यकर्ताको पंक्ति लामबद्ध हुन सकेन । थुप्रै अवसर पाए पनि आम नेता तथा कार्यकर्तालाई आशा जगाएर आफ्नो पछि हिँडाउन सकेनन्,’ पत्रकार दाहालले भने, ‘त्यसैले आसन्न महाधिवेशन पौडेलका लागि सहज हुने स्थिति म देख्दिनँ ।’

पौडेल अहिले जुन धारमा छन्, त्यहाँ उनको एकल पकड छैन । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहलाई छाड्ने हो भने संस्थापन इतरपक्षभित्रै चारवटा गुट सक्रिय देखिन्छन् । सिटौलाको गुट पौडेलसँग अलग छ । कोइराला परिवारभित्रै महामन्त्री शशांक र केन्द्रीय सदस्य शेखरको कोइराला गुट छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको छुट्टै समूह छ । पौडेल यिनै गुटहरूको महासंघका नेता जस्ता देखिएका छन् । इतरपक्षीय नेताहरूकै भनाइअनुसार संगठनमा ‘नेटवर्किङ’ सहितको पकड जमाएर बसेका देउवासँग जुध्न सबै गुटलाई मिलाएर लैजान सक्ने क्षमता पौडेलले प्रदर्शन गर्न सक्नुपर्छ । तर, उनी आफ्नो समूहको सर्वस्वीकृत नेता हुन चुकिरहेका छन् ।

अडान र मुद्दामा पनि पौडेल अडिइरहन सकेका छैनन् । उनका अधिकांश अडान सम्झौतामा टुंगिने गर्छन् । पार्टीभित्र सभापति देउवाले विधान र पद्धति मिचेको आरोप सबैभन्दा चर्को स्वरमा पौडेलले उठाउँदै आएका छन् । तर बेलाबखत उनी आफैं विधान मिच्ने बाटोमा देउवालाई सहयोग गर्छन् । जस्तो– केही समयअघि नेविसंघको तदर्थ समिति गठन गर्दा भयो । विधानअनुसार ३२ वर्षभन्दा तल्लो उमेरकालाई नेविसंघको अध्यक्षसहितका पदाधिकारी र सदस्यहरूमा ल्याउनुपर्ने थियो । भागबन्डा मिलेपछि विधान बाहिर गएर ५० वर्ष पुग्न लागेकालाई नेतृत्वमा ल्याउने सभापतिको इच्छा पौडेलकै कारण पूरा भयो । त्यस्तै स्थिति संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समिति गठनमा समेत भएको थियो । भागबन्डा मिल्दा विधान मिच्नसमेत छुट दिने तर नमिल्दा विरोध गर्ने गरेको भन्दै पौडेलमाथि पटक–पटक प्रश्न उठ्ने गरेको छ । विगतका तिनै नजिरका कारण सभापति देउवाले अहिले केन्द्रीय विभाग गठनमा विधानको प्रावधानलाई उल्लंघन गर्दै आएका छन् ।

‘स्पष्ट अडान राखेर पार्टीभित्र वैकल्पिक नेताका रूपमा आफूलाई उभ्याउनेभन्दा पनि सानोतिनो स्वार्थ हेरेर सम्झौता गर्ने बानी उहाँमा देखिन्छ,’ पौडेल नजिकका एक नेताले भने, ‘हामी पनि द्वैध मापदण्ड बोकेर नेता बन्न सकिन्न, एउटा अडान र विचारमा अडिन सक्नुपर्छ भनेर सुझाव दिन्छौं । व्यवहारमा त्यही दोहोरिन्छ । त्यही कारण सभापति देउवाले पार्टीमा पेल्दै जानुभएको छ ।’

पार्टीको आन्तरिक शक्ति संघर्ष र मुद्दामा सिटौलासहितकै इतरपक्षीय नेताहरू एक ठाउँमा छन् । सभापति देउवाको पार्टी सञ्चालनको कार्यशैलीमा उनीहरूको साझा असहमति देखिन्छ । पार्टी र सरकारको नेतृत्वमै देउवा असफल भइसकेको निष्कर्षसमेत यो समूहले बनाएको छ । त्यसका लागि देउवालाई नेतृत्व दोहोर्‍याउन दिन नहुने पक्षमा मतक्यै छ । तर, नेतृत्व लिन भने आपसी खिचातानी र प्रतिस्पर्धा भित्रैदेखि चलिरहेको छ ।

पौडेलका लागि मुख्य चुनौती नै कोइराला दाजुभाइ हुन् । महामन्त्री शशांक र केन्द्रीय सदस्य शेखर यसै महाधिवेशनमा सभापतिका प्रत्याशी बन्ने तयारीमा छन् । उम्मेदवार बन्नै दाजुभाइ बीचमै टकराव छ । पार्टी सभापति देउवालाई हराउन आफूबाहेक कसैले नसक्ने भन्दै शशांक आफ्नो ‘पोजिसन’ बलियो बनाउँदै गएका छन् । उनले हालै सार्वजनिक रूपमा सभापति देउवालाई हराउन पौडेलले समेत नसक्ने प्रतिक्रिया दिएका थिए । शशांकको मुख्य आधार बीपीको विरासत हो । त्यसैका आधारमा आफू बलियो हुने तर्क उनले गर्दै आएका छन् ।

शेखरको तयारी त तीन वर्षअघिदेखि नै चल्दै आएको छ । उमेरका कारणले अर्को महधिवेशनबाट आफू सक्रिय राजनीतिबाट अलग्गिने उनको घोषणा छ । ७० वर्ष टेकेका शेखरले यसै महाधिवेशनलाई आफ्नो राजनीतिक करिअरको अन्तिम विन्दु ठानेका छन् । आफ्नो पक्षमा सहमतिका लागि शेखरले दोहोर्‍याएर सभापति नबन्ने, सभापति भएपछि प्रधानमन्त्रीका लागि दाबी नगर्ने तुरुपसमेत अन्य प्रतिस्पर्धीलाई मनाउन प्रयोजनका लागि फालेका छन् । भाइ शशांक उठे पनि पछि नहट्ने सन्देश उनले दिइरहेका छन् । कोइराला परिवारभित्रै देखिएको आपसी प्रतिस्पर्धाका बीच पौडेलका लागि मैदान खाली गरिदिने सम्भावना त झनै कम हुँदै गएको इतरपक्षीय नेताहरूकै दाबी छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी इतरपक्षको अर्को शक्ति केन्द्र हो । सिंहले पनि यसै पटक सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् । केन्द्रीय सदस्य रामशरण महत इतरपक्षमा एक जना मात्रै उम्मेदवार बन्ने अवस्थामा पौडेल उपयुक्त हुन सक्ने बताए । ‘सर्वसम्मतिमा म पनि बन्न सक्छु, तर विगतका त्याग, निष्ठा र वरिष्ठ नेताको हैसियतले मान्न सजिलो पौडेलजीलाई नै हुन्छ,’ उनले कान्तिपुरसँग भने ।

महतका अनुसार इतरपक्षबाट संयुक्त रूपमा अघि बढ्ने समझदारी छ । उम्मेदवारीका आपसी प्रतिस्पर्धालाई केही समय सार्वजनिक रूपमा प्रकट नगर्ने समझदारीसमेत यो समूहमा भएको थियो । तर, पछिल्ला अन्तर्वार्तामा उम्मेदवारी घोषणा गर्ने र आफ्नो ‘पोजिसन’ बलियो भएको दाबी गर्ने होड चलेको छ । ‘महाधिवेशन प्रतिनिधि चयन भएपछि कसको बलियो आधार देखा पर्छ, उसैलाई उम्मेदवार बनाउने पक्षमा हामी छौं,’ महतले भने, ‘त्यतिबेला एक जना मात्रै उम्मेदवार बनाउने पक्षमा हामी छौं ।’

लाभको सम्भावना

नेतृत्वको प्रतिस्पर्धामा रहेका प्रकाशमान, शशांक, शेखरबीच एकले अर्कोलाई नस्विकार्ने परिस्थिति बढ्दै छ । ‘उनीहरू आपसमा मिल्दैनन्, नमिलेपछि मलाई स्विकार्न बाध्य हुन्छन्’ भन्ने भित्री बुझाइ पौडेलमा छ । यो समूहलाई मिलेर एउटै उम्मेदवार अघि बढाउन चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, गुरु घिमिरे, प्रदीप पौडेललगायत युवा नेताको दबाबसमेत छ । सर्वसम्मतिमा उम्मेदवार चयन गर्न नसके युवाबाटै सभापतिमा दाबी रहने नेता भण्डारीको चेतावनी छ ।

उनका अनुसार नेताहरू मिल्न सके त्यसैलाई स्विकार्ने र युवा पुस्ताले १५ औं महधिवेशनमा सभापति बन्ने आधारसहित अघि बढ्ने, मिल्न नसके यसै पटक उम्मेदवार दिने तयारी छ । त्यसका लागि धेरै पटक छलफलसमेत भएको उनले बताए । ‘सत्ताको कचिलोले आफैंले आफैंलाई भुल्दा कम्युनिस्टले ओभरटेक गरेको नेताहरूले यतिबेला बुझ्नुपर्छ । उहाँहरूले विचार, चिन्तन र कार्यक्रमसहित मिलेर एक जना उम्मेदवार सर्वसम्मति गराउनुभयो भने हामी सहयोग गर्छौं,’ भण्डारीले भने, ‘होइन, मिल्नु हुन्न भने हामी युवा मिलेरै सभापतिमा उम्मेदवार दिन्छौं ।’ युवाको यो दबाबले पनि पौडेललाई सहज बनाउने बुझाइ नेताहरूमा छ ।

प्रतिकूल परिस्थिति

पार्टीभित्र र बाहिरबाट समेत कांग्रेसमा नेतृत्व हस्तान्तरणको मुद्दा प्रबल बन्दै गएको छ । ७५ कटिसकेका देउवा र पौडेल दुवैबाट पार्टी चल्न सक्दैन भन्ने भावना कार्यकर्तामा जागृत गराइएको छ । यही मेसोमा संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधिको उम्मेदवारीको घोषणाले देउवा र पौडेल दुवैलाई धक्का दिएको छ । निधिले खुट्टा टेके त्यसको असर देउवालाई मात्रै पर्दैन, पौडेलले टेकेको जमिनसमेत हल्लिन सक्ने आकलन धेरैको छ । पत्रकार दाहाल पनि निधि उम्मेदवारबाट पछि नहटे कांग्रेसमा धेरै ठूलो परिवर्तनको बाटो खुल्ने दाबी गर्छन् । ‘उनको उम्मेदवारीले शेरबहादुरलाई कि त सच्चिनुपर्ने, कि त हट्नुपर्ने परिस्थिति खडा गर्छ । त्यतिबेला पौडेलका लागि पनि उम्मेदवार हुन अप्ठ्यारो पर्छ, उनका पछि धेरै नेता नबस्ने अवस्था आउन सक्ने देखिन्छ,’ उनले भने ।

निधिको उम्मेदवारीले अहिले कायम रहेका गुट र समीकरण पनि भत्कन सक्ने र त्यसले निर्माण गर्ने नयाँ समीकरणमा देउवा र पौडेल दुवैका लागि चुनौती हुने बुझाइ धेरैमा छ । पौडेल निकट केन्द्रीय सदस्य नवीन्द्रराज जोशी दुवै नेतालाई एउटै बास्केटमा हालेर मूल्यांकन गर्दा अन्याय हुने तर्क गर्छन् । ‘रामचन्द्रजी पार्टी सभापति र प्रधानमन्त्रीमा परीक्षण भइसक्नुभएको छैन तर शेरबहादुरजी परीक्षण भइसक्नुभयो । अब फेरि देउवाजीको नेतृत्वबाट पार्टी अघि बढ्ने आशा आम कार्यकर्तामा मरेको छ,’ उनले भने, ‘अबको चुनावमा पार्टीलाई बहुमतमा पुर्‍याउन विचार र भिजन भएको र संगठनमा क्रियाशील भएर लाग्न सक्ने नेतृत्वलाई हामीले छान्नुपर्ने हुन्छ ।’

पौडेलका लागि देउवा उम्मेदवार बन्दा सहज हुने बुझाइ कतिपयको छ । देउवा हुँदा पौडेलमाथि किन अन्याय गर्ने भन्ने भावनात्मक प्रश्नसमेत उठ्छ । ‘देउवालाई नेतृत्वमा दोहोर्‍याउन दिन हुन्न भन्ने संस्थापनइतर पक्षमा साझा मत छ । यस्तो अवस्थामा पौडेललाई नेता मानेर जान सहज हुन सक्ने देखिन्छ,’ जोशीले थपे, ‘शेरबहादुरजी आफैं उम्मेदवार हुने सम्भावना बढी देख्छु । त्यस्तो बेला इतरपक्ष मिलेर जानुको विकल्प छैन ।’

सिटौला ‘फ्याक्टर’

१३ औं महधिवेशनमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई आफ्नो पक्षमा ल्याउन नसक्नु नै पौडेलको हारको मुख्य कारण थियो । यस पटक पनि पौडेल र सिटौलाबीचमा विश्वासभन्दा अविश्वास बढी छ । सिटौला निकट नेताहरूका अनुसार उनी यस पटक देउवासँग मिल्ने सम्भावना कम छ । तर, पौडेलसँग मिल्न सक्ने विश्वास पनि आर्जन हुन सकेको छैन । विश्वासमा ल्याएर सिटौलाको समर्थन लिन पौडेलका लागि ठूलो चुनौती छ । दुई नेताबीच १३ औं महाधिवेशनदेखि हुर्केको अविश्वास अहिलेसम्म कायम रहेको सिटौला निकट केन्द्रीय सदस्य प्रदीप पौडेल बताउँछन् ।

सिटौलाले आफैं उम्मेदवार हुने या नहुने भन्नेबारे निर्णय लिएका छैनन् । उनले कसलाई सघाउने भन्नेबारे पनि बोलेका छैनन् । उनले महाधिवेशन प्रतिनिधि चयन हुने बेलासम्म पर्खनुपर्ने बताउँदै आएका छन् । परम्परागत समीकरण नै कायम रहे सिटौला फेरि पनि निर्णायक बन्न सक्ने स्थिति छ । त्यस्तो बेला पौडेलसामु सिटौलालाई मिलाउने चुनौती हुनेछ ।

प्रकाशित : भाद्र २०, २०७७ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?