‘आगोले सबै सम्पत्ति नष्ट गर्‍यो, अब कसरी पाल्ने परिवार ?’

छपाल लामा

हुम्ला — आगलागीबाट घर जलेपछि सर्केगार्ड गाउँपालिका–७, रोडिकोटस्थित ठूलागाउँकी ६० वर्षीया दृष्टिविहीन मसिर जैसीको परिवारले आफन्तको घरमा शरण लिइरहेको छ । उनका छिमेकी जोखे जैसी पनि एकसरो लुगासहित आफन्तको गोठमा बसिरहेका छन् ।

‘आगोले सबै सम्पत्ति नष्ट गर्‍यो, अब कसरी पाल्ने परिवार ?’

गाउँमा बुधबार साँझ भएको आगलागी बिहाबार बिहान मात्र नियन्त्रणमा आउँदा ५ घर पूर्णरुपमा नष्ट भएका छन् भने १५ घरमा क्षति पुगेको छ । ‘न खाने अन्न बच्यो, न लत्ताकपडा नै,’ जैसीले भनिन्, ‘कसैले राहत दिएनन्, आफन्तको घरमा कति दिन शरण लिएर बस्ने ?’ उनको ५ जनाको परिवार छ ।

प्रहरीका अनुसार अभिभावकहरु नजिकैका सामुदायिक वनमा घाँस–दाउरा गर्न गएको बेला बालबालिकाले खाना पकाउने क्रममा आगलागी भएको थियो । ‘वनबाट आउँदा घरमा भएको सबै सामान र नगद जलिसकेको थियो,’ उनले भनिन्, ‘तत्कालका लागि कसैले खाना र अस्थायी बासको व्यवस्था मिलाए पनि पुण्य हुन्थ्यो ।’ आगलागीबाट ११ लाख रुपैयाँको क्षति भएको उनले गुनासो गरिन् ।

आगलागीपीडित जोखे जैसीले सरकारी राहत नपाउँदा आफूहरुको बिचल्ली भएको बताए । उनको ११ जनाको परिवार छ । ‘एक त परिवारको छाक टार्न समस्या थियो,’ उनले भने, ‘आगोले भएको सबै सम्पत्ति नष्ट गर्‍यो, अब कसरी परिवार पाल्ने ?’

आफन्तको घरमा बास नपाइएपछि ५५ वर्षीय हरिभक्त जैसीले जलेको घरनजिकै त्रिपाल टाँगेका छन् । ‘पहिलेदेखि नै गरिब थियौं, अब त झन् आगोले उठिबास लगायो,’ उनले भनिन्, ‘राहत लिएर आउँछांै भनेका जनप्रतिनिधि फेरि फर्केर आएनन्, छाक टार्नै समस्या भयो ।’

ठूलो गाउँमा १ सय २२ घरधुरी छन् । अधिकांश घरहरु जोडिएकाले आलगागीबाट ठूलो क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ६० लाख रुपैयाँको क्षति भएको प्रहरी निरीक्षक सीताराम विष्टले बताए । उनका अनुसार जोखे जैसी, हरिभक्त जैसी, अपिलाल जैसी, देवीसिंह जैसी, रुपकला जैसी र मथन जैसीको घर पूर्णरुपमा नष्ट भएको छ ।

सर्केगाड गाउँपालिका–७ का वडाध्यक्ष कृष्णप्रसाद जैसीले आगलागीपीडितका लागि राहतको व्यवस्था गर्न विभिन्न निकायमा पहल भइरहेको बताए । ‘ढिलो गरी भए पनि आगो नियन्त्रणमा आयो, नत्र पूरै गाउँ खरानी हुन्थ्यो,’ उनले भने, ‘सबैको सक्रियताले सँगै जोडिएका भए पनि अरु घर बचे ।’ घटनास्थल सदरमुकाम सिमकोटबाट २ दिनको पैदल दूरीमा छ ।

प्रकाशित : भाद्र १९, २०७७ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?