२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

अवैध क्लिनिकमा शल्यक्रिया गराउँदा सुत्केरीको मृत्यु

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको मलंगवा–९ को आमर्त्य पोलिक्लिनिकमा सुत्केरी भएको चार दिनपछि एक महिलाको मृत्यु भएको छ । मलंगवा–१० की २४ वर्षीया सुत्केरी सविता भनिने सहती कुमारी हलुवाईको मृत्यु भएको हो ।

गत भदौ १२ गते प्रसव व्यथा लागेपछि साह जिल्ला अस्पताल भर्ना भएकी थिइन् । तर, प्रसूति कक्षका एक स्विपरलाई कोरोना पुष्टि भएपछि त्यहाँ सेवा बन्द गरिएको थियो । चिकित्सकले महिलालाई वीरगन्ज वा जनकपुर लैजान भने पनि आफन्तले खर्च नहुँदा बाहिर लगेका थिएनन् । अस्पतालमै अलमलमा परिरहेका साहसहित उनका आफन्त स्थानीयको सुझावपछि डा. सुरेन्द्र यादवले सञ्चालन गरेको पोलिक्लिनिकमा गएका थिए । डा. यादवले सामान्य जाँचपछि साहलाई अप्रेसन थिएटरमा लगे । अप्रेसन गरेर बच्चा निकालिएको चार दिनपछि मंगलबार बिहान सुत्केरी साहको मृत्यु भएको हो ।

सुत्केरीको शरीरमा रगतको मात्रा कम भएकाले मृत्यु भएको बताइएको छ । साहले पहिलो सन्तानका रूपमा जन्माएको छोराको अर्कै अस्पतालमा उपचार भइरहेको छ ।

अवैध किसिमले अप्रेसन थिएटर सञ्चालन गरिरहेको पोलिक्लिनिकको लापरबाहीका कारण सुत्केरीको ज्यान गएको आफन्तको आरोप छ । मृतक साहकी आमाजू दुलारीदेवीले मंगलबार बिहान सुत्केरीको मृत्यु भइसके पनि डाक्टर पन्छिन खोजेको बताइन् । ‘मंगलबार बिहान बुहारीको शरीर चिसो भइसकेको थियो, डाक्टरले हतपत एम्बुलेन्स बोलाएर जबर्जस्ती बाहिर पठाइहाले, १७ किलोमिटर पर पुगेपछि एम्बुलेन्स चालकले मृत्यु भएको घोषणा गरिदिए,’ उनले भनिन्, ‘अगाडि रहेको चालकले पछाडिको बिरामी मृत्यु भएको कसरी थाहा हुन्छ ? सुत्केरीको अस्पतालमै मृत्यु भएको हुनुपर्छ, डाक्टर आफू पन्छिनका लागि मात्र हामीलाई बाहिर पठाएका रहेछन्, यसमा एम्बुलेन्स चालकको पनि मिलेमतो छ ।’

पोलिक्लिनिकका सञ्चालक डा. यादवले आफ्नो क्लिनिकमा अप्रेसन थिएटर सञ्चालन गर्ने अनुमति नभए पनि योग्यताका आधारमा अप्रेसन गर्दै आएको बताए । उनले गल्ती भएको स्वीकार गरे पनि अझैसम्म अप्रेसन गर्न रोकेका छैनन् । डा. यादवले सुत्केरीको आफन्तको हारगुहारका कारण आफूले जोखिम मोलेर अप्रेसन गरेको दाबी गरे । ‘सुत्केरीको शरीरमा रगत कमी छ, रगतको व्यवस्थापन गर्न भन्दाभन्दै पनि व्यवस्था गर्नु भएन, जसका कारण अवस्था बिग्रिँदै गएपछि अन्तिम अवस्थामा हामीले रिफर गर्‍यौं,’ उनले भने, ‘मैले अथक प्रयास गर्दा पनि बचाउन सकिनँ, उनको बाटोमा मृत्यु भएको जानकारी पाएका छौं ।’

आमर्त्यमा सुत्केरी महिलाको मृत्यु भएको यो पहिलो घटना भने हैन । गत वर्ष पनि एक महिलाले पोलिक्लिनिककै कारण अनाहकमा ज्यान गुमाउनुपरेको थियो ।

डा. यादवले पनि आनो क्लिनिकमा यो दोस्रो घटना भएको बताए । अवैध रूपमा सञ्चालनमा रहेको क्लिनिकमा महिलाहरूले ज्यान गुमाइरहँदा कतैबाट अनुगमनसमेत हुन सकेको छैन ।

प्रकाशित : भाद्र १९, २०७७ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?