२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

वामदेवलाई राष्ट्रियसभामा सिफारिस गर्न ओली तयार

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय सभामा रिक्त एक मनोनीत सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्न तयार भएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले पार्टी निर्णयअनुरूप गौतमलाई राष्ट्रिय सभा सदस्यमा राष्ट्रपति समक्ष सिफारिस गर्ने जानकारी गराएको प्रवक्ता नारायण्काजी श्रेष्ठले बताए।

वामदेवलाई राष्ट्रियसभामा सिफारिस गर्न ओली तयार

फागुन १४ मा बसेको सचिवालयको बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने औपचारिक निर्णय गरेको थियो । तर, बैठक सकिएको केही बेरपछि नै प्रधानमन्त्रीले उक्त निर्णय नमान्ने बताएका थिए । त्यसयता त्यो निर्णय कार्यान्वयन हुन सकेको थिएन ।

ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिन खोजेका थिए । तर, गौतम आफैँले राष्ट्रियसभामा जाने चाहना व्यक्त गरेपछि ओली दबाबमा परेका थिए ।

यस्तै, राष्ट्रिय सभाका कुनै एक मनोनित सदस्यलाई फिर्ता बोलाएर खतिवडालाई निरन्तरता दिने भन्ने बिषयबारे संचारकर्मीले सोधेको प्रश्नमा प्रवक्ता श्रेष्ठले त्यसबारे प्रधानमन्त्रीले केही नभनेको बताए ।

बैठकमा कार्यदल प्रतिवेदनमा छलफल गरी ठोस कार्ययोजना बनाई प्रस्ताव प्रस्तुत गरिने पनि प्रवक्ता श्रेष्ठले बताए । उनले स्थायी कमिटी बैठक उपयुक्त समयमा छिटोभन्दा छिटो बोलाइने जानकारी दिए ।

‘कार्यदलबाट प्रस्तुत प्रतिवेदनका महत्त्वपूर्ण सुझावलाई आधार बनाएर साथै आज सचिवालय बैठकमा व्यक्त विचारलाई ध्यान दिई अध्यक्ष कमरेडहरुले पार्टी, सरकारका सन्दर्भमा र स्थायी कमिटीको चालु बैठकमा प्रस्तुत कार्यसूचीका सम्बन्धमा निर्णय गर्न आवश्यक प्रस्ताव तयार गर्न गृहकार्य गर्नुहुनेछ,’ प्रवक्ता श्रेष्ठले भने, 'उपयुक्त समयमा स्थायी कमिटी बैठक राखिने छ । स्थायी कमिटी बैठकमामा समेत छलफल हुनेछ । त्यहाँ भएको छलफल र सुझावलाई ध्यान दिई अध्यक्ष कमरेडले नयाँ ठोस कार्ययोजनासहितको निर्णय प्रस्तावलाई अन्तिम मस्यौदाको रुप दिई सचिवालयमा प्रस्तुत गर्नुहुनेछ ।’

श्रेष्ठका अनुसार उक्त मस्यौदा सचिवालयबाट स्थायी कमिटी बैठकमा निर्णयार्थ पेश गरिने छ ।

बैठकले बागलुङ जिल्लाको ढोरपाटनमा बाढीबाट हुन गएको क्षतिप्रति दुख व्यक्त गरेको छ । साथै सरकालाई उद्धार, राहत र पुर्नस्थपनाको कामलाई तीव्रतापूर्वक व्यवस्थितरुपमा अगाडि बढाउन आग्रह गरेको छ । पार्टी कमिटीलाई उद्धार र राहतमा जुट्न निर्देशन गरेको पनि प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित : भाद्र १८, २०७७ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?