१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ढोरपाटन बाढीपहिरो : ११ को शव भेटियो, २५ जना सम्पर्कविहीन [अपडेट]

प्रकाश बराल

बागलुङ — बागलुङको ढोरपाटन नगरपालिका–९ का देउराली, सुपुरदुङलगायत स्थानमा बुधबार राति आएको बाढीपहिरोमा ११ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बिहीबार दिउँसो साढे ११ बजेसम्म ११ जनाको शव घटनास्थल र खोलाका किनारहरूमा भेटिएको बताए । 

ढोरपाटन बाढीपहिरो : ११ को शव भेटियो, २५ जना सम्पर्कविहीन [अपडेट]

पहिरोले पुरेको बस्तीका २५ जना सम्पर्कविहीन रहेको र उनीरू पहिरोमै परेका हुन्/होइनन् भन्ने यकिन भइनसकेको उनले जानकारी दिए ।

बुधबार राति १२ बजेदेखि खसेको पहिरोले यहाँका ४० घरमा क्षति पुगेको छ । अधिकांश घर बगेका छन् भने कतिपय पुरिएको देखिएको घटनास्थल पुगेका ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए । पहिरो खोलामा मिसिएपछि आएको बाढीले सडक, झोलुंगेपुल र खानेपानीका मुहानसमेत क्षतविक्षत बनाएको छ । एक विद्यालयको भवनमा क्षति पुगेको छ ।

घटनाको जानकारी पाएपछि गएको प्रहरीको टोलीले बिहान साढे सात बजेदेखि उद्धार थालेको थियो । स्थानीय बासिन्दा, नेपाली सेनासमेत पहिरो पन्छाउन खटिएका छन् । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीका अनुसार अहिलेसम्म मृतकमध्ये २६ वर्षीया केशमाया विकको मात्र पहिचान भएको छ । अन्यको सनाखत भइसकेको छैन । टोलीले घटनास्थलबाट ४ घाइतेको उद्धार गरेको छ ।

घटनास्थल सदरमुकाम देखि १ सय ३० किमी पश्चिममा पर्छ । पहिरो खसेको थाहा पाएर पनि रातभर फोन र विद्युत् अवरुद्ध भएकाले उद्धार गर्न कठिनाइ भएको स्थानीय फूलमाया पुनले बताइन् । उनीहरूले प्रहरी र बजार क्षेत्रमा रहेका मानिसलाई घटनाबारे जानकारी गराएका थिए । जिल्ला प्रहरीका नायब उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार उद्धारका लागि थप जनशक्ति पठाइए पनि बुर्तिवाङदेखि माथिल्लो खण्डमा सडक क्षतविक्षत भएकाले सहजै जान नसक्दा ढिलाइ भएको छ । कतिपय मानिस जान नसकेर फर्केका छन् ।

भुजी खोलाले बगाएर ल्याएका शव बुर्तिवाङ बजार र बडिगाड खोलासम्म पनि भेटिएको स्थानीयले बताए । उद्धारका लागि नेपाली सेनाले अर्जुनबाण गणबाट पनि टोली खटाएको गणपति मिलनध्वज खाँडले बताए । पहिरो खसेको स्थान ढोरपाटन–सालझन्डी सडक खण्डमा पर्छ ।

प्रकाशित : भाद्र १८, २०७७ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?