१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

खतिवडालाई राष्ट्रिय सभा लैजान दाहाल र गौतम असहमत

गौतमलाई ओलीको नयाँ प्रस्ताव– उपचुनाव लडेर राष्ट्रिय सभामा आउनुस्, रोजेको मन्त्रालयसहित उपप्रधानमन्त्री बनाउने ग्यारेन्टी भयो
ओलीजी ललाइफकाइ गर्ने पुरानै शैलीमा आउनुभयो । अर्थ मन्त्रालय मै राम्रोसँग चलाइदिन सक्छु राष्ट्रिय सभामा लैजानुस् भनेको छु । – वामदेव गौतम
बिनु सुवेदी

काठमाडौँ — विवाद समाधानको उपाय सुझाउन बनेको कार्यदलको प्रतिवेदनमा छलफल गर्न बिहीबार बोलाइएको नेकपा सचिवालय बैठक राष्ट्रिय सभाको रिक्त एक जना मनोनीत सदस्यमा कसलाई लैजाने भन्नेमा केन्द्रित हुने भएको छ ।

खतिवडालाई राष्ट्रिय सभा लैजान दाहाल र गौतम असहमत

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार साँझ भएको दुई घण्टा लामो भेटमा राष्ट्रिय सभामा कसलाई लाने भन्नेमा कुरा नमिलेपछि यो विषयले प्राथमिकता पाउने भएको हो ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिन चाहेकाले भदौ २० गतेभित्र राष्ट्रिय सभा सदस्य बनाइसक्नुपर्छ । त्यसका लागि नेकपा नेतृत्वसँग बिहीबार र शुक्रबार दुई दिन मात्रै समय छ । बिहीबार बस्ने सचिवालय बैठकमा निर्णय गरेर मन्त्रिपरिषद्बाट मनोनयनका लागि उम्मेदवार सिफारिस गर्ने सहमति अध्यक्षद्वयबीच भएको छ । तर बुधबार साँझको भेटमा पनि प्रधानमन्त्री ओलीले खतिवडाको पक्षमा अडान राखेको र दाहालले पार्टी सचिवालयको निर्णयअनुसार गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउनुपर्ने भनाइ दोहोर्‍याएको उनीहरूनिकट स्रोतले जानकारी दियो ।

ओलीसँग भेट्न जानुअघि दिउँसो दाहाल र गौतमबीच भेट भएको थियो । भेटमा गौतमले आफू राष्ट्रिय सभामा जाने धारणा राखेका थिए । दाहालले पनि त्यसमा समर्थन जनाए र ओलीसँग साँझ त्यही प्रस्ताव गरे । तर अध्यक्षद्वयबीच कुरा मिलेन । त्यसपछि साँझ ७ बजेदेखि साढे ८ सम्म ओलीले उपाध्यक्ष गौतमसँग छुट्टै परामर्श गरेका थिए । दाहाल र गौतमसँग भेट्नुअघि ओली पक्षधर नेताहरूबीच भएको छलफलबाट राष्ट्रिय सभामा मनोनीत तीनमध्येका एक सदस्य रामनारायण बिडारीलाई राजीनामा गराएर गौतम र खतिवडा दुवैलाई राष्ट्रिय सभामा मनोनयन गर्ने प्रस्ताव पनि तयार गरिएको थियो । तर उक्त प्रस्तावमा दाहाल सकारात्मक नभएको ओलीनिकट स्रोतको दाबी छ ।

त्यसपछि ओली र गौतमबीच छलफल भएको थियो । छलफलमा ओलीले गौतमसँग आफूलाई साथ दिन आग्रह गरेका थिए । गौतमनिकट स्रोतका अनुसार ओलीले बुधबारको भेटमा पनि गौतमलाई सुरुमा डोल्पाबाट प्रतिनिधिसभामा उठ्नुहोस् भने, त्यसपछि राष्ट्रिय सभाको कुनै सिट खाली गराएर एक महिनाभित्रैमा उपचुनाव गर्ने र जितेर आएपछि अर्थ मन्त्रालयबाहेक रोजेको मन्त्रालय दिने, गौतम पत्नी प्रतिनिधिसभा सदस्य तुल्सी थापालाई मन्त्री बनाउनेलगायत प्रस्ताव गरेका थिए । ‘ओलीजी ललाइफकाइ गर्ने पुरानै शैलीमा आउनुभयो,’ गौतमको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘अर्थ मन्त्रालय मै राम्रोसँग चलाइदिनसक्छु, राष्ट्रिय सभामा लैजानुस् भनेको छु ।’

ओलीलाई भेट्न जानुअघि अध्यक्ष दाहाल र उपाध्यक्ष गौतमबीच भएको कुराकानी अनुसार नै दुवै नेताले ओलीसँग एउटै प्रकारको धारणा राखे । गौतमले आफू राष्ट्रिय सभामा जाने कुरा गरे, अध्यक्ष दाहालले पनि अर्थमन्त्रीमा खतिवडालाई निरन्तरता दिन नहुने र गौतमलाई नै राष्ट्रिय सभा सदस्य बनाउनुपर्ने धारणा ओलीसमक्ष राखे । तर आफ्नै प्रस्ताव र अडानमा समेत स्थिर रहन नसक्ने पुराना नजिरहरूका कारण गौतम बिहीबार बिहान बस्ने सचिवालय बैठकसम्म राष्ट्रिय सभा सदस्य बन्ने प्रस्तावमा यथावत् रहन्छन् या रहन्नन् यकिन भने छैन । ‘पार्टीको सिनियर नेता र पहिले नै निर्णयसमेत भइसकेको विषय भएकाले हाम्रो साथ वामदेवजीलाई नै हुन्छ,’ सचिवालयका एक सदस्यले भने, ‘तर आफ्नो प्रस्तावमा उहाँ आफैं रहनुहुन्छ कि हुन्न यसै भन्न सकिन्न ।’

ओलीले राष्ट्रिय सभा सदस्यको चुनावका लागि कुनै एक ठाउँ खाली गराएर एक महिनाभित्रमा चुनाव हुने ग्यारेन्टीसहित गौतमलाई उम्मेदवार बनाउने प्रस्ताव अध्यक्ष दाहालसमक्ष पनि गरेका थिए । यसमा भने दाहालले ‘वामदेवजीको कुरामा आफूले यसै भन्न नसक्ने’ जवाफ दिएको उनीनिकट एक स्थायी कमिटी सदस्यले बताए । खतिवडालाई दोहोर्‍याउन चाहेका ओली, दाहाल र गौतमबाट सकारात्मक जवाफ नपाएपछि अप्ठ्यारोमा परेका छन् । महामारीपछि डामाडोल भएको अर्थतन्त्र उकास्न दातृ निकायहरूको सहयोग चाहिने र त्यसका लागि खतिवडा उपयुक्त पात्र हुने बुझाइका कारण उनलाई सकेसम्म गुमाउन नपरोस् भन्ने सोच प्रधानमन्त्री ओलीको छ ।

राष्ट्रपतिले मनोनयन गर्ने विषयमा पार्टीको निर्णय आफूअनुकूल भएन भने ओलीसँग खतिवडालाई नै राष्ट्रिय सभाको उम्मेदवार उठाएर चुनाव लडाउने विकल्प पनि छ । त्यो त्यति सजिलो बाटो होइन तर राष्ट्रिय सभामा ओलीपक्षीय नेकपा सांसदको बाहुल्य भएकाले उनलाई सघाउन कोही न कोही तयार हुन सक्छन् ।

जनप्रतिनिधिहरूले मात्रै मतदान गर्ने भएकाले राष्ट्रिय सभाको चुनाव प्रतिनिधिसभा जत्तिको अप्ठ्यारो हुँदैन । तर खतिवडा स्वयं त्यो बाटोबाट संसद्मा आएर मन्त्री बन्ने पक्षमा नरहेको उनी निकटस्थहरूको भनाइ छ । ‘बरु उहाँले कुनै राम्रो मुलुकमा राजदूत बनेर जाने कि भन्नेबारे पनि कुराकानी थाल्नुभएको छ,’ खतिवडानिकट स्रोतले भन्यो, ‘त्यो संयुक्त राज्य अमेरिका नै पनि हुन सक्छ ।’ तर यो विषयमा नेकपा नेतृत्व तहमा छलफल चलेको छैन । ओलीको कोणबाट विश्लेषण गर्नेहरूले खतिवडालाई राजदूतभन्दा मन्त्री बनाउँदा नै अनुकूल हुने देख्छन् ।

राष्ट्रिय सभा सदस्य कसलाई बनाउने भन्ने विषय पेचिलो बन्दै गएपछि बिहीबार बिहान ११ बजेका लागि डाकिएको सचिवालय बैठक यही विषयमा केन्द्रित रहन सक्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘हामीलाई पठाइएको छलफलको कार्यसूचीमा कार्यदलले तयार पारेको प्रतिवेदनमाथि नै छलफल हुने उल्लेख छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘तर राष्ट्रिय सभा सदस्यको विषय टुंगो लगाउनुपर्ने भएकाले त्यसमा छलफल केन्द्रित हुन सक्छ ।’

गत फागुन १४ गतेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त निर्णय प्रधानमन्त्री ओलीले नमान्ने अडान राखेपछि निर्णय कार्यान्वयन हुन सकेको थिएन । वैशाख २० गते फेरि सचिवालयले नै गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

यही आधारमा प्रधानमन्त्री ओलीले गौतमलाई पछिल्लोपटक डोल्पाबाट चुनाव उठ्न आग्रह गरेका थिए । गौतमले भने अहिले चुनाव सम्भव नभएकाले राष्ट्रिय सभा सदस्य बनाउने पुरानो निर्णय कार्यान्वयन गराउन माग गरेका थिए । बुधबारको कुराकानीमा पनि गौतमले यही अडान दोहोर्‍याएको उनका निकटस्थहरूको भनाइ छ ।

प्रकाशित : भाद्र १८, २०७७ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?