सेक्युरिटी प्रेस खरिद प्रकरण : मिश्रलाई उपस्थित हुन अख्तियारको सूचना- समाचार - कान्तिपुर समाचार

सेक्युरिटी प्रेस खरिद प्रकरण : मिश्रलाई उपस्थित हुन अख्तियारको सूचना

कृष्ण ज्ञवाली

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई एक साताभित्र आयोगमा उपस्थित हुन सार्वजनिक सूचना निकालेको छ ।

कोरोना संक्रमणको जोखिमका कारण उजुरीहरुको छानबिनका क्रममा बयान लिने र सोधपुछ गर्ने काम अवरुद्ध भएका बेला अख्तियारले मिश्रलाई उपस्थितिका लागि सूचना निकालेको हो ।

एक दिनअघि मात्रै मिश्रले विज्ञप्ति जारी गरेर आफूले अख्तियारलाई अनुसन्धानमा सहयोग गर्ने बताएका थिए । अडियो रेकर्ड गर्ने उपकरण जापानमा रहेकाले त्यही लिन आफू जापान आएको भन्दै उनले लकडाउनका कारण फर्किन नपाएको बताएका थिए ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग सेक्युरिटी प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँको मोलमोलाईको अडियो सार्वजनिक भएपछि मिश्रसमेत विवादमा तानिएका थिए । घटनापछि बास्कोटाले राजीनामा दिएका छन् । मिश्र भने जापान पुगेका छन् ।

केही दिनअघि कान्तिपुरले बाँस्कोटालाई सफाई दिने तयारी भन्ने समाचार प्रकाशित भएपछि यो विषय सतहमा आएको हो । अख्तियारमा छानबिन भइरहेको यो अनुसन्धान अघि बढ्न मिश्रले अडियो टेपको सनाखत गर्नुपर्ने कानुनी बाध्यता रहन्छ ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र १७, २०७७ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्

बुटवलमा उपचाररत कपिलवस्तुकी संक्रमित महिलाको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु–११ की ६० वर्षीया महिलाको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । 

‘भदौ ७ गते कोरोना पोजिटिभ भई अस्पताल भर्ना भएकी उनलाई आईसीयूमा राखी उपचार गरिएको थियो,’ उनले भने, ‘श्वासप्रश्वासको समस्या र ज्वरोसमेत थियो ।’ उनी पहिलेदेखि उच्च रक्तचापकी बिरामी रहेको डा. गौतमले बताए ।

अहिले कोरोना विशेष अस्पतालको सामान्य कक्षमा १६, आईसीयूमा १५ र भेन्टिलेटरमा ४ जनाको उपचार भइरहेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । यससँगै लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या आठ पुगेको छ । अस्पतालको फिभर क्लिनिक आइसोलेसनमा २ जनाको मृत्यु भएको थापाले जानकारी दिए ।

प्रकाशित : भाद्र १७, २०७७ १०:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×