२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

ठडिएन यः सिं, तानिएन रथ

भीडभाडका साथ गर्दै आएका परम्परालाई यसपटक कोरोनाले बाधा पारे पनि भित्रका पूजा भने विधिपूर्वक भइरहेको छ । कुमारी, पुलुकिशी र लाखेघरलगायतमा सम्बन्धित गुठियारले पूजा जारी राखेका छन् । 
दामोदर न्यौपाने

काठमाडौँ — इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले भाद्र शुक्ल चतुर्दशीका दिन वसन्तपुर यति सुनसान पहिले कहिल्यै देखेका थिएनन् । इन्द्रजात्राको मुख्य जात्रा सुरु हुने यो दिनमा उत्सवमय हुने यो सहर अघि कहिल्यै सुनसान नभएको बुबा/हजुरबाले सुनाउने गरेको ५१ वर्षीय शाक्यले सम्झिए ।

ठडिएन यः सिं, तानिएन रथ

‘आज मूल जात्रा हुने दिन हो,’ उनले भने, ‘तर रथयात्रा रोकिएको छ । कोरोनाको महामारीले गर्दा सरकारले गरेको कर्फ्युको सम्मान गर्दै यो वर्ष इन्द्रजात्रा रोकेका छौं ।’

काठमाडौं उपत्यकाको मुख्य जात्रामध्येमा पर्ने इन्द्रजात्रा भाद्र शुक्ल द्वादशी तिथिमा ३३ फिट अग्लो यः सिं ठड्याएपछि विधिवत् रूपमा सुरु हुन्छ । तर हनुमानढोका दरबार छेउको कालभैरव मन्दिर नजिक यो वर्ष यः सिं ठड्याइएन । ‘हिजो बिहान ९ बजेको साइतमा यः सिं ठड्याउने ठाउँमा विधि पूजा गरियो,’ उनले भने, ‘यः सिं भने ठड्याइएन ।’ ठड्याइएको यः सिंलाई इन्द्रध्वजोत्सव पनि भनिन्छ ।

संस्कृतिविद् यज्ञमानपति बज्राचार्यका अनुसार इन्द्रजात्रा पर्व सुरु भयो भन्ने संकेतका रूपमा यः सिं ठड्याउने गरिन्छ । साइत निकालेर काठ लिन गएपछि इन्द्रजात्रा प्रारम्भ भएको मानिन्छ । हनुमानढोका दरबारभित्रको नासलचोकमा मानन्धर समुदायले विधिवत् पूजा गरेर काठ लिन जाने चलन छ । टाउकोमा सेतो फेटा बाँधेर जम्मा भएका मानन्धर समुदायलाई पण्डितले टीका लगाएर बिदा गरेपछि मानन्धर सुूदाय गुरुजी पल्टनका सेना कालो पोसाक लगाएका सेनाको पछि लाग्छन् । हनुमानढोका दरबारको पश्चिमतिर पञ्चमुखी हनुमानको मूर्ति भएको ढोकाबाट एक एक गरेर निस्केर काठ काट्न निस्केपछि नल्याएसम्म मानन्धर समुदाय भित्र छिर्न नहुने परम्परा छ ।

यहाँबाट गएका समूहले काभ्रे नालाको जंगलमा साइत जुराएर काठ काट्ने चलन छ । शिवरात्रि तिथिमै राम्रो काठ छान्ने विधि पूरा गरिन्छ । पहिलो हनुमानढोकाबाट हिँडेरै जाने चलन भए पनि पछि गाडीबाट जान थालियो । ‘यो वर्ष यी सबै परम्परा रोकिए,’ मानन्धर समाजका अध्यक्ष गजेन्द्रमान मानन्धरले भने, ‘यसरी यो महान् पर्व रोक्नु परेको अनुभव थिएन । दुःख लागेको छ ।’ तृतीया तिथिको बिहानबाटै दुई दिन यः सिं तान्दै भोटाहिटीमा राख्ने चलन छ । अष्टमी तिथिमा भोटाहिटीबाट हनुमानढोका दरबार पुर्‍याएको यः सिंलाई एकादशीमा डोरीले बाँधेर द्वादशीमा उठाइन्छ । ‘यः सिं उठाएपछि इन्द्रजात्राको रौनक सुरु हुन्थ्यो,’ मानन्धरले भने ।

काष्ठमण्डपमा फेस शिल्ड लगाएर भुइँमा पूजा गर्दै स्थानीय । तस्बिर संजोग मानन्धर/कान्तिपुर

यः सिं ठड्याएको भोलिपल्ट कुमारी रथयात्रा गरिने भएकाले यो दिन विशेष उत्सवमय हुन्थ्यो । साँझ वसन्तपुर गद्दी बैठकबाट राष्ट्रप्रमुखले कुमारी दर्शन गरेपछि वसन्तपुर क्षेत्रको तल्लो टोलमा कुमारी रथयात्रा गराइन्छ । कुमारीघरमा बस्ने कुमारी वर्षमा १३ पटक मात्र बाहिर निकालिन्छ । त्यसमध्ये इन्द्रजात्राका बेलामा भाद्र द्वादशी तिथिदेखि आश्विन चौथी तिथिसम्म मनाइने इन्द्रजात्राको अवसरमा तीन पटक बाहिर निकालेर रथयात्रा गरिने परम्परा छ । टोलवासीले जीवित देवी कुमारीको दर्शन गरून् भन्ने उद्देश्यले टोल टोलमा रथयात्रा गर्ने परम्परा रहेको हो । तल्लो टोलमा वसन्तपुर, मरु, चिकंमुगल, जैसीदेवल, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै रथयात्रा वसन्तपुर आएर टुंगिन्छ ।

भोलिपल्ट माथिल्लो टोलमा रथयात्रा हुन्छ । माथिल्लो टोलको पनि परम्परादेखि चल्दै आएको रुट वसन्तपुरबाट निकालेर प्याफल, यट्खा, नरदेवी, तेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै फेरि वसन्तपुरमै ल्याइन्छ । इतिहासकार बज्राचार्यका अनुसार इन्द्रध्वज उठाएर उत्सव गर्ने परम्परा धेरै पुरानो हो । भारतमा भाद्र शुक्ल एकादशीको दिन इन्द्रध्वजा ठड्याइन्थ्यो । मल्ल राजाको पालामा भने एकादशी तिथिमै ठड्याइन्थ्यो । यः सिं ठड्याउने बेलाको निकै रौनक हुने गर्थ्यो ।

वैदिक कालदेखि नै देवताको राजाका रूपमा विशेष सम्मान थियो इन्द्रको । नेपालको इतिहासको प्रारम्भदेखि नै इन्द्रको पूजा गर्ने प्रचलन रहेको बज्राचार्य बताउँछन् । लिच्छविकालीन अभिलेखमा पनि इन्द्रयात्राको उल्लेख छ । त्यस हिसाबले इन्द्रजात्रा प्राचीन हो । बज्राचार्यका अनुसार पन्ध्रौं शताब्दीमा इन्द्रजात्रा निकै लोकप्रिय भइसकेको थियो ।

‘इन्द्रजात्रा परापूर्वकालदेखि थियो,’ इन्द्रजात्रा व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष शरदकुमार डंगोल भन्छन्, ‘कुमारी यात्राचाहिँ मल्लकालमा थपियो । अहिले इन्द्रजात्राको मुख्य आकर्षणका रूपमा यही कुमारी यात्रालाई लिइन्छ ।’ कुमारीको पूजाको चलन भने छैटौं शताब्दीदेखि नै सुरु भएको मानिन्छ ।

यः सिं ठड्याइएकै दिनबाट देगुतलेजु मन्दिरमा रहेको श्वेत भैरव प्रदर्शन गर्ने चलन छ । श्वेत भैरव प्रदर्शन गर्ने परम्परा रणबहादुर शाहको पालामा भएको मानिन्छ । यहाँ हरेक साँझे श्वेत भैरवको मुखमा टुटिराखेर बनाइएको ठाउँबाट प्रसादका रूपमा जाँड बगाइन्छ । जाँड मुखमा पार्न भीड लाग्छ ।

जात्रा नभए पनि हनुमानढोकास्थित भैरवको पूजा गर्दै श्रद्धालु तस्बिर संजोग मानन्धर/कान्तिपुर

वसन्तपुर क्षेत्रका प्रत्येक टोल उत्सवमय भएका हुन्थे यो बेला । टोलटोलमा माटो, काठ र धातुबाट बनेका भैरवका मूर्ति राखिएका हुन्थे । प्रदर्शनीमा राखिने भैरवमध्ये इन्द्रचोकको आकाश भैरव प्रसिद्ध छन् । मन्दिरभित्र राखिएका भैरवलाई बाहिर खटमा राखेर इन्द्रजात्राभरि प्रदर्शन गरिन्थ्यो । दर्शन गर्न भक्तजनको भीड लाग्थ्यो यहाँ । शिवपार्वती डबली छेउकै कडेलचोक भगवती मन्दिरमा पनि भैरव प्रदर्शन गर्ने चलन छ । यहाँ प्रदर्शन गरिने मूर्ति आनन्द भैरवको हो ।

रथयात्रालगायत बाहिरी परम्परा रोकिए पनि भित्रका पूजा भने विधिपूर्वक भइरहेको अध्यक्ष शाक्यले बताए । कुमारी घरभित्र, पुलुकिशी घर, लाखे घरलगायतमा सम्बन्धित गुठियारले पूजा जारी राखेका छन् । रथयात्रा सुरु हुनुभन्दा अघि कुमारीको आगमन घरमा तान्त्रिक विधिबाट हुने कुमारी पूजा सम्पन्न भएको छ ।

त्रयोदशीमा गरिने पूजामा कुमारीको रथयात्रामा संलग्न हुने सबैलाई कुमारी घर बोलाइन्छ । भोज खुवाइन्छ । भोज खर्च गुठीले व्यहोर्छ । यही दिन तलेजु भवानीका पुजारीको घरमा पनि भोज खाने चलन छ । चतुर्दशी तिथिमा गरिने पूजालाई ‘क्वः नेयाः’ भनिन्छ । यो दिन रथयात्रा गराउने दिन हो । तल्लो टोलमा रथयात्रा गराउने भएकाले यो दिनलाई ‘क्वः नेयाः’ भनिएको हो । ‘यो वर्ष साधारण पूजा बाहेक अरू केही गर्न सकेनौं,’ शाक्यले भने, ‘अर्को वर्ष यही अवस्था पक्कै रहँदैन । भव्य गरी मनाउनेछौं । यो महासंकटबाट मुक्तिको कामना गर्दै क्षमापूजा गर्नेछौं ।’

प्रकाशित : भाद्र १७, २०७७ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?