सिंगापुर र ब्रिटिस आर्मीमा कोटा घटाइयो

ब्रिटिस आर्मीमा ३४० र सिंगापुर पुलिस फोर्समा १४० जना भर्ती गर्ने तयारी
गणेश राई

काठमाडौँ — बेलायत सरकारले कोरोनाको कारण जनाउँदै ब्रिगेड अफ गोर्खाजका निम्ति यस पटक ब्रिटिस आर्मीमा ३ सय ४० र सिंगापुर पुलिस फोर्समा १ सय ४० जना मात्र भर्ती गर्ने भएको छ । 

सिंगापुर र ब्रिटिस आर्मीमा कोटा घटाइयो

ब्रिटिस आर्मी मुख्यालयले मंगलबार आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रतिस्पर्धी नेपाली युवालाई उक्त जानकारी दिएको हो । गत वर्ष ब्रिटिसमा ४ सय ३२ र सिंगापुरमा १ सय ४० भर्ती लिइएको थियो । कोरोना महामारी फैलिएपछि गत वर्ष क्षेत्रीय र अन्तिम चरणको छनोटबाट बाहिरिएकामध्ये सीमित युवालाई मात्र मौका दिइने मुख्यालयले यसअघि जनाउ दिइसकेको छ ।

‘ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिसका सम्भावित रेक्रुटहरू, कोरोना भाइरसको अवस्था नेपालमा मात्र नभएर संसारभरि नै अनिश्चित छ,’ ब्रिटिस आर्मी मुख्यालयले आफ्नो वेबसाइटमा भनेको छ, ‘जसले गर्दा हाम्रो छनोट प्रक्रियामा बाधा हुन सक्ने सम्भावना छ । अति नै संकटकालीन अवस्था आइपरेमा यो वर्षको छनोट नहुन पनि सक्छ । तर छनोट भएमा हामी सक्दो सुरक्षित ढंगबाट यो छनोट प्रक्रियालाई सञ्चालन गर्ने प्रयास गर्नेछौं ।’ छनोटका निम्ति ब्रिटिस आर्मीका लागि ५ सय ६० जना सम्भावित रेक्रुटलाई बोलाएर तीमध्ये ३ सय ४० जनालाई छनोट गर्ने विज्ञप्तिमा भनिएको छ । सिंगापुर पुलिसका लागि २ सय १० जना सम्भावित रेक्रुटलाई बोलाएर त्यसमध्येबाट १ सय ४० जनालाई छनोट गर्ने जनाइएको छ ।

काठमाडौंस्थित क्लास रुम एकेडेमीका प्रबन्ध निर्देशक विनोद राईले ब्रिटिस आर्मीमा भिड्दै आएका युवामध्ये सीमितले मात्र अवसर पाएको बताए । ‘ब्रिटिस आर्मी मुख्यालयले यो पटक सीमित युवा मात्र सर्ट लिस्टमा पारेको छ,’ उनले भने, ‘नेपालको पूर्व र पश्चिम गरी क्षेत्रीय छनोटबाट आधा–आधा संख्यामा युवा छनोटमा परेका छन् ।’

प्रकाशित : भाद्र १६, २०७७ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?