कोरोनाजस्तो अदृश्य शत्रुसँगको लडाइँ एक्लाएक्लै जित्‍न सकिन्‍न : मेयर शाक्य

कोरोना संक्रमण भएका व्यक्ति तथा कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी कसैलाई पनि दुर्व्यवहार नगर्न आग्रह

भाद्र १६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस (कोभिड- १९)बाट संक्रमित भएका काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले कोरोनाविरुद्ध सबैले मिलेर लड्नुपर्ने बताएका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै उनले कोरोना संक्रमण भएका व्यक्ति,  कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी कसैलाई पनि दुर्व्यवहार नगर्न आग्रह गरेका छन् । 

मेयर शाक्यले आफूलाई कोरोना देखिएपनि कोरोनाका कुनै लक्षण देखा नपरेको बताएका छन् । आफूमा मनोबल उच्च रहेको र त्यसले कोरोना परास्त गर्न सफल भइने उनको विश्वास छ । आफ्नी श्रीमतीलाई ज्वरो देखिएपछि ग्रान्डी अस्पतालमा नियमित उपचार गराउन गएको र चिकित्सकको सल्लाह अनुसार दुवैजनाको कोरोना परीक्षणका लागि स्वाब दिएपछि आफूमा कोरोना देखिएको शाक्यले बताएका छन् । 

'कोरोनाको जटिल परिस्थितिमा समेत उच्च सावधानी अपनाउँदै कोभिड १९ को नियन्त्रण र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौं र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिइरहेको अवस्थामा मलाई संक्रमण पुष्टि भयो,' शाक्यले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

परिवारसहित होम आइसोलेसनमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै बसिरहेको शाक्यले भनेका छन् । 'कोरोनाजस्तो अदृश्य शत्रुसँगको लडाइँ एक्लाएक्लै जित्न सकिन्न । त्यसैले आ-आफ्नो ठाउँबाट एकमुष्ठ प्रयास गरौं र कोरोनालाई परास्त गरौं,' उनले विज्ञप्तिमा थपेका छन्, 'स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न र संक्रमित भनेर कसैलाई कसैले दुर्व्यवहार नगर्न पनि विनयपूर्वक आग्रह गर्दछु ।'

महानगपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई सेवा प्रवाहमा लाग्न आग्रह गर्दै शाक्यले 'काठमाडौं महानगरपालिका र उपत्यका नगरपालिका फोरममा दैनन्दिन कामलाई निरन्तर अघि बढाउन प्रयासरत रहने' प्रतिबद्धता जनाएका छन् । 

कान्तिपुर

Link copied successfully