जब एप्पलका सह–संस्थापकले स्वीकारे नेपाली विद्यार्थीको निम्तो

विजय तिमल्सिना

काठमाडौँ — संसारको सबैभन्दा मूल्यवान अमेरिकी कम्पनी एप्पलको सफलताको लागि जति चर्चा स्टिभ जब्सले पाएका छन्, त्यति चर्चा स्टिभ वोज्नियाकले पाएका छैनन् । एप्पलसँग नाम जोडेर स्टिभ जब्सको चर्चा बढी हुने गरेको भए पनि कम्पनीका सुरुवातकालका कर्मचारी भने वोज्नियाकलाई प्रमुख आविष्कारक र जब्सलाई मार्केटिङ गर्ने व्यक्तिको रुपमा चित्रण गर्छन् ।

जब एप्पलका सह–संस्थापकले स्वीकारे नेपाली विद्यार्थीको निम्तो

वोज्नियाक सहसंस्थापक भएर सन् १९७६ मा खोलिएका एप्पल इन्कर्पोेरेसन आज बजार पूँजी र आम्दानीको हिसाबले विश्वको सबैभन्दा ठूलो सूचना प्रविधि सम्बन्धी कम्पनी हो ।

यिनै वोज्नियाक नेपाली समय अनुसार शनिबार बेलुका ६ बजे नेपालमा सञ्चालित अन्तर्राष्ट्रिय ह्याकाथनको अवसरमा आफ्नो मन्तव्य दिइरहेका थिए । संसाभरका सूचना प्रविधि सम्बन्धी कार्यक्रममा प्रमुख वक्ता र मेन्टरको रुपमा सहभागी भइरहने वोज्नियाकले दक्षिण एसियामा भएको कुनै पनि कार्यक्रममा पहिलो पटक मन्तव्य दिएका थिए । आफ्नो मन्तव्यकै क्रममा वोज्नियाकले यसलाई स्वीकारे ।

यस्ता ह्याकाथनले इनोभेसनलाई सहयोग गर्ने भएकाले ह्याकाथन आफ्नो लागि प्रिय भएको वोज्नियाकले सुनाए । अनलाइनमार्फत २ हजार ५ सय बढीले सहभागिता जनाएको ह्याकाथनमा वोज्नियाकले सन् १९७६ मा एप्पल कम्पनी स्थापना गर्दाको अनुभव सुनाउँदै कहिल्यै पनि कम्पनी यति ठूला बन्ला भनेर कल्पना नगरेको बताए ।

नेपालका कम्प्युटर इन्जिनियरिङ तथा सूचना प्रविधिका विद्यार्थीहरुमा प्रतिस्पर्धा गराइ उनीहरुको प्रतिभा उजागर गर्न सघाउ पुर्‍याउने उद्देश्यले भदौ १२ देखि १४ गतेसम्म नेपालमा क्वान्टम ह्याक अन्तर्राष्टिय ह्याकाथन कार्यक्रम आयोजना गरिएको थियो । धेरै मानिसहरु एक ठाउँमा भेला भएर सूचना प्रविधिको माध्यमबाट कुनै समस्याको समाधान खोज्ने कार्यक्रमलाई अनौपचारिक भाषामा ह्याकाथन भनिन्छ ।

कार्यक्रम आयोजक नेक्टस्जेनको टिमले वोज्नियाकलाई कार्यक्रममा सहभागिताको लागि इमेल गरेको दुई घण्टामै रिप्लाई गरेर सहभागिताको लागि इच्छुक रहेको बताएका थिए ।

‘मलाई दक्षिण एसियाबाट कसैले पनि यस्तो निम्तो दिएका थिएन, दक्षिण एसियामै यो मेरो पहिलो मन्तव्य हो भनेर भन्नुभयो,’ लिड अर्गनाइजर जयकिसन पन्जियारले भने, ‘उहाँले आफूलाई ह्याकाथन एकदमै मन पर्ने आफ्नो मन्तव्यको क्रममा सुनाउनुभयो ।’ वोज्नियाकले आफ्नो मन्तव्यको क्रममा स्टिभ जब्स र आफूले आफ्नो रुचि पछ्याएकै कारण सफलता प्राप्त गरेको भन्दै सहभागीहरुलाई आफ्नो रुचि अनुसारको काम गर्न अनुरोध गरे । आफ्नो १५ मिनेटको मन्तव्यको क्रममा वोज्नियाकले अन्य देशमा भएको ह्याकाथनलाई पनि आफूले सहयोग गरिरहेको अनुभव सुनाए ।

वोज्नियाक एप्पलले पहिलो पटक सार्वजनिक गरेको एप्पल १ र एप्पल २ माइक्रोकम्युटरका डिजाइनर हुन् । यस्तै, त्यसपछि एप्पलले सार्वजनिक गरेको एप्पल म्याकिन्टोस कम्युटरको प्रारम्भिक डिजाइन पनि उनैले गरेका थिए । सन् १९८५ मा एप्पल छाडेका उनी हालसम्म पनि कम्पनीको सेरोमोनियल कर्मचारी हुन् । एप्पल छाडेपछि सीएल नाइन नामक कम्पनी स्थापना गरी उनले युनिभर्सल रिमोटको डिजाइन गरेका थिए ।

अनलाइनमार्फत आयोजित कार्यक्रममा भारतको डेभ्फोलियोको सहयोगमा पुल्चोक क्याम्पसको नेक्स्टजेन संस्थाले आयोजना गरेको थियो ।

ह्याकाथनमा प्रकोप व्यवस्थापन, सबैका लागि आधुनिक वित्तिय व्यवस्थापन, शिक्षा, स्वास्थ्य तथा सहरी जनसंख्या व्यवस्थापन, वातावरण लगायत छ वटा विधामा प्रविधिको प्रयोग तथा त्यसको माध्यमद्वारा समस्याको समाधान पत्ता लगाउन प्रयास गरिएको थियो । कार्यक्रममा ७० भन्दा बढी समूहका २५० जनाले विभिन्न प्रतियोगितात्मक परियोजना तथा अवधारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वोज्नियाकले विशेष अतिथिको रुपमा सम्बोधन गरेका थिए भने आईबिएमका वरिष्ठ प्रोग्रामर तथा इन्जिनियर जो सेपी तथा डेभ्फोलियोका कम्युनिटी लिड व्यवस्थापक डेनभर डि सुजाले मुख्य वक्ताको रुपमा सम्बोधन गरेका थिए ।

सो कार्यक्रममा नासा, अमेजन वेभ सर्भिस आदिका वरिष्ठ प्रतिनिधिहरुले मेन्टर्सको रुपमा काम गरेका थिए । ह्याकाथन लगातार ३६ घण्टासम्म चलेको थियो ।

ह्याकाथनमा यूरोप, सिंगापुरलगायतका ३० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरुले साझेदारी गरेका थिए ।

प्रकाशित : भाद्र १६, २०७७ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?