१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

रातभर अस्पताल चहार्दा आईसीयू पाइएन : एम्बुलेन्समै छटपटिएर बिरामीको मृत्यु

चितवन, उदयपुर — पूर्वी नवलपरासी कावासोती–३ शिव मन्दिर गुम्बाचोकका ५४ वर्षीय होमबहादुर गुरुङको स्वास्थ्य अवस्था गम्भीर भएपछि परिवारले शनिबार राति उपचारका लागि भरतपुर ल्याए । रातभर साना–ठूला निजी तथा सरकारी अस्पताल चहारे ।

रातभर अस्पताल चहार्दा आईसीयू पाइएन : एम्बुलेन्समै छटपटिएर बिरामीको मृत्यु

भरतपुरको सरकारी अस्पतालमा केहीबेर बसेर चितवन मेडिकल कलेज (सीएमसी) को शिक्षण अस्पताल आए । धेरैबेर एम्बुलेन्समै बसेपछि नर्स र डाक्टर आएर भित्र त लगे तर केहीबेरमै होमबहादुरले प्राण त्यागे ।

‘डाक्टरहरूले बेलैमा हेरेको भए चित्त बुझाउने बाटो हुन्थ्यो होला तर हेर्न मानेनन्,’ उपचारका लागि सँगै आएका होमबहादुरका भाइ टेकप्रसादले भने ।

होमबहादुर कलेजोका बिरामी थिए । शनिबार उनलाई असजिलो भएपछि कावासोतीकै कालीगण्डकी अस्पताल लगिएको थियो । दुई घण्टा राख्दा पनि होस नआएपछि त्यहाँका स्वास्थ्यकर्मीले भरतपुर लैजान सिफारिस गरे । एम्बुलेन्स खोजेर उनीहरू भरतपुर हुइँकिए । ‘सुरुमै सीएमसी आयौं । राति १ बजेको थियो होला,’ टेकप्रसादले सुनाए, ‘बिरामीलाई आईसीयू चाहिने रहेछ । यहाँ छैन अन्तै लैजानु भने ।’ त्यसपछि नारायणी सामुदायिक अस्पताल पुगेका उनीहरूलाई डाक्टरहरू क्वारेन्टाइनमा बसेको जानकारी गराउँदै आईसीयू भएको अस्पताल लैजान भनियो । त्यसपछि पुरानो मेडिकल कलेज (सीएमएस) गए । ‘त्यहाँ पनि आईसीयू छैन भने । अब भएन भनेर फेरि सीएमसीमै आयौं ।’ टेकप्रसादले भने, ‘नर्सहरू आएर एम्बुलेन्सको ढोका खोलेर हेर्नुभयो । आईसीयू नभएको हुँदा राख्न सकिन्न भन्नुभयो ।’

त्यसपछि उनीहरू भरतपुरको सरकारी अस्पताल गए । त्यहाँ पनि आईसीयू नभएको कुरा आयो । निराश भएर बिरामीलाई एम्बुलेन्सबाट नझारी सरकारी अस्पतालमै बसे । लगभग अढाई घण्टा त्यसरी बसेपछि उज्यालो भएको र एक महिला स्वास्थ्यकर्मी आएपछि आफ्नो समस्या राखेको टेकप्रसादले बताए । ‘उहाँले हाम्रो कुरा र समस्या राम्रोसँग सुन्नुभयो । आईसीयू खाली नभएका कारण बिरामी राख्न नसक्ने तर इमर्जेन्सीमा राखेर आवश्यक केही उपचार गर्ने बताउनुभयो,’ टेकप्रसादले सुनाए । सरकारी अस्पतालको इमर्जेन्सीमा राखेर बिरामीका आफन्त आईसीयूकै सोधखोजमा लागे । ‘सीएमसीबाट आईसीयू छ आउनु भनेर सन्देश आएपछि हामी फेरि त्यहीं गयौं,’ टेकप्रसादले भने ।

उनका अनुसार सरकारी अस्पतालमा हुँदासम्म बिरामीलाई ज्वरो आएको थिएन । सीएमसीमा पुर्‍याएपछि एक्कासि ज्वरो आयो । तत्कालै बिरामीलाई भित्र नलगी एम्बुलेन्समै राखियो । करिब डेढ घण्टाजति एम्बुलेन्समै रहँदा होमबहादुर छटपटाउन थाले । ‘दाइ छटपटिन थालेपछि भाउजू र हामी रुन, कराउन थाल्यौं । त्यसपछि एक नर्स दौडिँदै आएर दाइको छाती थिच्न सुरु गरिन् । अरू डाक्टर पनि आए ।’ उनले भने, ‘त्यसपछि बल्ल भित्र लगे । केही बेरपछि नै दाइलाई बचाउन सकिएन भन्ने खबर ल्याए ।’

चितवन मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा.दयाराम लम्सालले अस्पतालमा ल्याएपछि तुरुन्तै हेरेको र बचाउन कोसिस गर्दा असफल भएको बताए । ‘भरतपुर अस्पतालबाट रिफर भएर यहाँ आउनुभएको हो । त्यसअघि दुई–चारवटा अस्पताल घुम्नुपरेको रहेछ । यहाँ आएपछि त हामीले सेवा दिएकै हो,’ डा.लम्सालले भने । चितवनमा पछिल्लो समय कोरोना संक्रमण तीव्र बढेपछि आईसीयू र भेन्टिलेटर अभाव हुन थालेको चिकित्सकहरू बताउँछन् ।

८ वटा अस्पताल चहारेपछि वृद्धाले प्राण त्यागिन्

खाना खाने क्रममा भात सर्किएर सिकिस्त भएकी उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सिर्वानीकी एक वृद्धाको विराटनगरका ८ वटा अस्पताल चहार्दा पनि उपचार नपाएर मृत्यु भएको छ । कोरोना संक्रमणको आशंकामा अस्पतालहरूले भर्ना गर्न नमानेपछि ६५ वर्षीया डम्बरकुमारी बस्नेतलाई परिवारले घर ल्याएका थिए । उनको आइतबार घरमै मृत्यु भएको हो । शनिबार साँझ खाना सर्किएपछि बेहोस भएकी उनलाई प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार लगिएको थियो । थप उपचारका लागि विराटनगर पठाइएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

एम्बुलेन्समा विराटनगरका मोरङ सहकारी अस्पताल, म्याक्स, न्युरो, ग्रिनक्रस, लाइफ गार्ड, विराट नर्सिङ (विराटनगर हस्पिटल), विराट मेडिकल कलेज लगे पनि बिरामीलाई कोरोना संक्रमण भएको भन्दै भित्रै पस्न नदिएको मृतकका ज्वाइँ पशुपति भण्डारीले गुनासो गरे । ‘८ वटा अस्पताल लग्यौं, उहाँको अवस्था बताउँदा पनि कुनै अस्पतालले गेटभित्र छिर्न दिएनन्,’ उनले भने, ‘अन्तिममा गोल्डेन अस्पतालले छातीको एक्स–रे, रगतलगायत जाँच गरे पनि बिरामीलाई आईसीयूमा राख्नुपर्ने भएपछि कोसी अस्पतालमा पुर्‍याइएको थियो ।’ एम्बुलेन्सबाट नझारी सबै अस्पतालले गेटबाटै फर्काइदिएको एम्बुलेन्स चालक दीपक खत्रीले बताए । ‘बिरामीको अवस्था बुझ्दै नबुझी अस्पतालहरूले गेट बाहिरबाटै फर्काइदिए,’ उनले भने । अस्पतालहरूले गेटअगाडि ५ मिनेटसम्म पनि बस्न नदिएको एम्बुलेन्स चालक खत्री बताउँछन् ।

सरकारी अस्पताल कोसी अञ्चल अस्पतालले समेत १५ दिन क्वारेन्टाइनमा बसेको प्रमाण भए मात्रै बिरामी भर्ना गरेर उपचार गर्न सकिने भन्दै गेटबाट भित्र पस्न नदिएको भण्डारीले बताए । उनका अनुसार रातभर ८ वटा अस्पताल चहार्दा पनि उपचार गर्न नमानेपछि बिरामीलाई फर्काएर बिहान ८ बजेतिर घर ल्याइएको थियो । घर ल्याएको ३ घण्टापछि वृद्धा बस्नेतको मृत्यु भएको हो । कोसी अस्पतालले शंकास्पद बिरामीका लागि भनेर छुट्टै आइसोलेसन वार्ड बनाएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.चुमनलाल दासले बताए । ‘त्यस्ता बिरामीलाई छुट्टै राखेर त्यहीँ उपचार हुन्छ,’ उनले भने ।

प्रकाशित : भाद्र १५, २०७७ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?