१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कर्णालीमा डा. केसी : सरकार रोक्छ, जनता सेवा लिन लालायित

सुर्खेत — हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी गाउँको स्वास्थ्य चौकीमा पुगेको थाहा पाएपछि साउन १४ गते डोल्पा, जगदुल्ला गाउँपालिका–६ रिमीकी भगवतीकुमारी मल्ल आफ्नो समस्या लिएर उनीसँग भेट्न गइन् । 

कर्णालीमा डा. केसी : सरकार रोक्छ, जनता सेवा लिन लालायित

बैशाख २५ गते बाटोमा चिप्लिएर उनको खुट्टाको हड्डी भाँचिएको थियो । डा. केसीले मल्ललाई सामान्य परामर्श गरेर रिपोर्ट हेरेपछि थप उपचार गर्ने आश्वासन दिएर घर पठाए ।

त्यसको केही बेरमै मल्लका श्रीमान् वडाध्यक्ष भक्तबहादुर बुढाथोकीले ‘माथिको आदेश’ भन्दै केसीलाई गाउँ छोडेर जान उर्दी जारी गरे । ‘गाउँपालिकाबाट अनुमति नलिएको थाहा पाएपछि हामीले शिविर सञ्चालन गर्न दिएनौं,’ उनले कान्तिपुरसँग भने, ‘अध्यक्षज्यू (नरासिंह रोकाया) ले भनेपछि हामीले मान्नै पर्‍यो ।’

सरकारको रुपमा चिनिने स्थानीय तहका जनप्रतिनिधि र स्थानीय प्रशासनले डा. केसीलाई विभिन्न बहानामा स्वयंसेवामा अवरोध गरे पनि भगवती कुमारीजस्ता सर्वसाधारण भने उनको सेवा लिन लालायित छन् ।

२ महिनादेखि कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटमा स्वयंसेवा गरिरहेका डा. केसीसँग जनप्रतिनिधिका परिवारका सदस्यदेखि आफन्त र सर्वसाधारणहरु छन् । उनीहरुले सेवा लिन एक–दुई दिनको यात्रासमेत तय गरेका छन् । स्वयं वडाध्यक्ष बुढाथोकी भन्छन्, ‘उहाँले पहिले जाँच गरेका कागजपत्र हेर्नुभयो, सरसल्लाह पनि राम्रै दिनुभयो, तर उपचार गर्न अनुमति लिनु भएको रहेनछ ।’

जुम्लालाई ‘मुकाम’ बनाएर कर्णालीमा स्वयंसेवा गरिरहेका केसीले त्यहाँ भने अनौठो अनुभव संगालिरहेका छन् । शुक्रबार बिहान जुम्लाको गुठीचौर गाउँपालिकाको स्वास्थ्यचौकीमा पुग्दा त्यहाँका प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिको आदेशमा काम गर्न दिइएन । स्थानीय प्रशासनले समेत उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जान दिएको छैन ।

४ दिनअघि पातारासी गाउँपालिकाको उर्थु स्वास्थ्य चौकीमा भने उनले गाउँपालिकाकी उपाध्यक्ष पुन्नकली महताराको उपचार गरे । त्यहाँ तीन दिनसम्म शिविर चलाएका उनले २ सय ५० व्यक्तिको स्वास्थ्य जाँच गरेका थिए । हात र कम्मर दुख्ने समस्या बोकेर डा. केसीलाई भेटेपछि उनले भनिन्, ‘उहाँले राम्रो सल्लाह दिनुभयो, थप उपचारको लागि खलंगा (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा पठाउनुभयो ।’

कालीकोटको महाबै गाउँपालिका–५ औलगेलाकी कल्पना सेजुवालको साउन ३ गते मोटरसाइकलबाट खसेर हात भाँचियो । उनले जिल्ला अस्पतालमा प्लास्टर गरिन् । तर, एक हप्तापछि डा. केसी आएको थाहा पाएपछि उनी पुन: अस्पतालमा गइन् ।

‘उहाँलाई नदेखाएको भए त मेरो हात बाङ्गो हुनेरहेछ, प्लास्टरै गलत तरिकाले गरिएको रहेछ,’ उनले भनिन्, ‘डाक्टरसापले पुरानो प्लास्टर खोलेर फेरि लगाइदिनुभयो, अहिले ढुक्क भएर बसिरहेकी छु ।’ ४५ दिनपछि प्लास्टर खोल्न सुझाव दिएको उनले बताइन् ।

कालीकोटकै पचालझरना गाउँपालिका–९, तिखातीमा मामाघरमा बस्दै आएका दैलेखका ३ वर्षीय रिजन शाहीको जीवनमा त डा. केसी भगवानकै रुपमा प्रकट भए । ३ महिनाअघि खुट्टा भाँचिएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार भयो ।

तर, प्लास्टर राम्ररी नलगाउँदा हड्डी बाङ्गो लाग्नुका साथै पीडा हुने गरेको थियो । डा. केसी मान्मस्थित जिल्ला अस्पतालमा आएको थाहा पाएपछि आमा निर्मलाले एक दिनको पैदल यात्रा तय गर्दै छोरालाई देखाइन् । ‘उहाँले प्लास्टर खोलेर हेर्नुभयो, खुट्टा पनि सोझ्याउनु भयो,’ उनले भनिन्, ‘धन्न मेरो छोरो जीवनभर अपाङ्ग हुने रहेछ ।’

डा. केसी कालीकोटमा ५ दिन बसे । उनलाई भेट्न दुई दिन पैदल हिँडेरसमेत स्थानीयबासी मान्म आएका थिए । स्थानीय तहका जनप्रतिनिधिको भर नभएपछि उनले मान्मस्थित जिल्ला अस्पतालमै शिविर चलाएका थिए । ‘स्थानीय तहका जनप्रतिनिधिहरु त श्री ५ को हैसियतमा छन्,’ डा. केसीले विभिन्न ठाउँमा सरकारीस्तरबाट अवरोध भएपछि कान्तिपुरसँग भने, ‘संघीय सरकारका मान्छेहरु श्री ७ र प्रदेश सरकारका मान्छेहरु श्री ६ को दर्जामा भएको मैले महसुस गरें ।’

फागुन पहिलो साता काठमाडौंबाट हिँडेका डा. केसी असार दोस्रो सातादेखि कर्णालीमा छन् । त्यसअघि उनले सुदूरपश्चिम प्रदेशका ७ वटा पहाडी जिल्लामा स्वयंसेवा गरेका थिए । उनले यो अवधिमा कतिजना बिरामीको उपचार गरे, उनी आफैंलाई हेक्का छैन । उनी भन्छन्, ‘मैले संख्या गन्ने काम कहिल्यै पनि गरिनँ, तर मैले गाउँमा पुग्दा मकहाँ आउनेजति सबैको सेवा गरेको छु ।’

डा. केसीले असार दोस्रो साता हुम्लाको ताजाकोट र साउन तेस्रो साता मुगुको गममढीमा शिविर सञ्चालन गरे । मुगुमा १ सय ७७ जनाको उपचार गर्नुका साथै स्वास्थ्यकर्मीलाई हाडजोर्नी उपचारसम्बन्धी तालिम दिएका थिए । त्यहाँ दुईजना बिरामीको त शल्यक्रिया गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

डा. केसीले बिरामीको स्वास्थ्य परीक्षण र उपचारका साथै स्थानीय स्वास्थ्यकर्मीलाई आवश्यक ज्ञान र सीपसमेत सिकाउने गरेका छन् । हाडजोर्नीसम्बन्धी ३२ वर्षको विज्ञता अनुभव सँगालेका डा. केसीले सरकारका प्रतिनिधिले आफूलाई काम गर्न रोके पनि जनताले अस्पताल जान नपाएर समस्या भोगिरहेका दृष्टान्त देख्दा मन दुख्ने गरेको बताए ।

‘मैले आफ्नो जीवनको लामो समय यही क्षेत्रमा बिताएँ, थुप्रै अनुभव बोकेर हिँडिरहेको छु,’ उनले भने, ‘मलाई कसैको सहयोग चाहिएको छैन, निर्वाध रुपमा जनताको सेवा गर्न दिए भइहाल्थ्यो ।’ उनले जनतालाई स्वयंसेवा दिनको लागि कोही कसैको अनुमति पनि नलिने स्पष्ट पारे ।

तुलाराम पाण्डे (कालीकोट), एलपी देवकोटा (जुम्ला), राजबहादुर शाही (मुगु) र हरि गौतम (रुकुमपश्चिम)

प्रकाशित : भाद्र १३, २०७७ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?