२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३८

जसरी पनि भाइरल भिडियो !

चरित्रहत्या गर्ने विषयलाई अनावश्यक उछालिएका भिडियोहरु युट्युबमा भाइरल बनिरहेका छन् । त्यसका पछाडि भ्युअर्सका आधारमा युट्युबले दिने पैसा मुख्य कारण हो । कैलालीका अर्जुन विकजस्तै थुप्रै व्यक्ति र विषयहरुलाई भाइरल बनाउने युट्युबरहरुले कति कमाउँछन् त ? 
जनकराज सापकोटा

काठमाडौँ — काठमाडौंका युट्युबरहरूले सानो बच्चा बोकेर रिक्सा चलाइरहेका अर्जुन विकलाई भाइरल बनाएपछि कैलालीको लम्कीचुहा बस्ने युट्युबर मिलन विष्टलाई पनि यो विषयले तान्यो । उनी अन्य केही युट्युबर साथीहरूसँग साउन १८ गते क्यामेरा बोकेर मोटरसाइकलमा घोडाघोडी नगरपालिका रचनापुरस्थित अर्जुनको घर पुगे ।

जसरी पनि भाइरल भिडियो !

मिलनका अनुसार उनी पुग्दा त्यहाँ अन्य ५/७ जना युट्युबरहरू जम्मा भइसकेका थिए । एउटाले प्रश्न सोध्ने र सबैले खिच्ने गरेर अर्जुनकी आमा, फुपू र छिमेकी सबैको भिडियो युट्युबमा हाले । ती सबै भिडियोमा १३ वर्षमा बिहे, १५ वर्षमा छोरा जन्माएकी १७ वर्षीया लक्ष्मी (अर्जुनकी पत्नी) को चरित्रमाथि लाञ्छना मात्रै लगाइएको छैन, उनी घर गरेर खान नसक्ने, ‘पतिधर्म’ निभाउन नसक्ने जस्ता अनेकन भद्दा गाली गरिएको छ ।

यी र यस्तै अनेकन गाली, लाञ्छना र शंका उपशंकाहरूमा आधारित भएर बनाइएका २ सय ६३ भिडियोले एक महिनाभन्दा कम अवधिमा ३ करोड ११ लाखभन्दा धेरै भ्युअर्स पाएको थियो । जसमध्ये झन्डै २३ लाख भ्युअर्स त मिलनको युट्युब आहा नेपालबाट मात्रै भएको देखिन्छ ।

डेढ वर्षयता युट्युब चलाउन थालेका मिलनको युट्युबमा सबैभन्दा धेरै हेरिएको भिडियोको सूचीमा अर्जुन र लक्ष्मीको विषय पनि पर्छ । माइक्रोबायोलोजीमा एमएससी गरेपछि ६ वर्ष काठमाडौंका निजी कलेजहरूमा पढाएको, त्यहीबेला गीत लेख्ने र गाउने काममा सक्रिय हुँदाहुँदै आफू युट्युबको संसारमा छिरेको उनले बताए । भने, ‘सुरु सुरुमा गीत लेख्थें, अरू युट्युबरले मेरो अन्तर्वार्ता लिन्थे ।’ सयभन्दा धेरै युट्युबमा आफूले अन्तर्वार्ता दिएको बताउने उनले त्यही मेसोमा आफूले पनि युट्युब च्यानल खोल्नुपर्छ भन्ने ज्ञान पाएको बताए ।

मिलनका अनुसार दैनिक एकाध घण्टा समय दिएपछि च्यानल खोलेको एक वर्षसम्म उनले खासै आम्दानी गर्न सकेनन् । अरू साथीहरूले युट्युबबाटै महिनाको ५/६ लाख कमाउँछन् अरे भनेको सुन्दा उनलाई अचम्म लाग्थ्यो । युट्युबमा धेरै समय दिनुपर्‍यो भनेरै उनले चारमध्ये तीनवटा कलेजमा पढाउन छोडे । दिनभर विषय खोज्ने, खिच्ने र रातभर भिडियो सम्पादन गरेर पोस्ट गर्न थाले । अहिले कैलालीमा रहेका उनले भने, ‘त्यसपछि त कहिलेकाहीं साताको चारवटा मेरै भिडियो पनि ट्रेन्डिङमा आउन थाल्यो ।’ कान्तिपुरसँगको कुराकानीमा उनले आफूले न्यूनतम मासिक २० हजार र अधिकतम १ लाख २० हजारसम्म युट्युबबाट कमाएको बताए । अर्जुनको भिडियो राखेको यो महिनामा १ लाख ३० हजारभन्दा धेरै कमाइ हुन्छ कि भनेर उनले अनुमान सुनाए ।

‘रत्नपार्क र ठमेलमा राति यस्तोसम्म देखियो’ देखि रुकुम घटनामा केन्द्रित भएर बनाएको ‘सुष्मा मल्ल र नवराज विकको सँगै हुँदा यस्तोसम्म हुन्थ्यो’ भन्नेसम्मको थम्बनेल राख्न भ्याएका छन् । उनले पछिल्लो दिनमा आफ्नो युट्युब चर्चित हुँदै गएको र विदेशी कम्पनीको विज्ञापन पनि आउन थालेको बताए । एक लाखभन्दा धेरै सब्स्क्राइबर भएको युट्युब च्यानल चलाउने उनले दाबी गरे, ‘त्यस्तो विज्ञापनको छुट्टै सय डलर पाइन्छ ।’

कुनै प्रमाणबिना लक्ष्मीमाथि चरित्रहत्याका लाञ्छना लगाइएका भिडियोहरू मिलनले किन हाले ? उनले आफू अर्जुनको घर पुग्दा अरू ६/७ युट्युबर पुगिसकेको र एउटाले प्रश्न सोध्दा उनीहरूले जे भन्छन् त्यही कुरा सबैले खिचेर हालेको बताए । उनले भने, ‘प्रमाण त के हुनु नि ? उनीहरूले जे भने, त्यही खिचेर हालेको हो । फेरि मैले मात्र गर्‍या हैन ।’

लक्ष्मीमाथि लाञ्छना लगाउनेमा कैलालीकै २९ वर्षीय दीपेन्द्र शाहीले चलाउने मेरो टीभी अनलाइन नामक युट्युब पनि अगाडि नै छ । यो युट्युबले २१ दिनमा भाइरल अर्जुनकेन्द्रित २० वटा भिडियो पोस्ट गरेको छ । जसको कुल भ्युअर्स ११ लाख ६५ हजारभन्दा धेरै छ । जसमा ७५ सयभन्दा धेरैले कमेन्ट गरेका छन् । १२ कक्षा पास गरेर मलेसिया पुगेका दीपेन्द्रले दुई वर्ष सुपरमार्केटमा काम गरे । सन् २०१६ मा स्वदेश फर्केपछि एक वर्ष बेरोजगार भए, एक वर्ष बोर्डिङमा पढाए अनि डेढ वर्षअघि नजिकैको बर्दगोरिया गाउँपालिकामा कम्प्युटर इन्स्टिच्युट खोले । प्रविधिमा रुचि भएका दीपेन्द्रले सुरुमा अनलाइन टेक नामक युट्युब चलाएका थिए । अरूकै कपिराइट भएको म्युजिक भिडियो चोरेर आफ्नो युट्युबमा हालेपछि उनको च्यानल बन्द भयो । युट्युबको भोक मेट्न उनले मेरो टीभी अनलाइन सुरु गरे ।

युट्युब खोलेको सुरुवाती महिनामै मासिक १५ हजार बुझेका उनले अर्जुनको विषय भाइरल भएकाले धेरै पैसा आउँछ कि भन्ने आशा गरेका रहेछन् । भने, ‘यो महिना बढी आउँछ कि !’ नेपालमा काण्डहरू भइराख्ने र त्यस्तो कुरा युट्युबमा बिक्ने बताउने दीपेन्द्रले अर्जुनको विषय भाइरल बनाउने काम काठमाडौंकै युट्युबरले गरेको, आफूले त पछ्याएको मात्र बताए ।

अर्जुनको भिडियोको भाइरल हुनुमा सबैभन्दा ठूलो हात २० लाखभन्दा धेरै सब्स्क्राइबर रहेको तात्तातो खबर नामक युट्युब च्यानल चलाउने भाग्य न्यौपानेको पनि थियो । मलेसियाबाट दुईवर्षे कुलिनरी कोर्स पढाइ सकेर आएपछि तीन वर्षअघि युट्युबको संसारमा छिरेका भाग्य सबैभन्दा सक्रिय युट्युबर मानिन्छन् । युट्युबकै कन्टेन्ट उत्पादन गर्न कम्तीमा ५० जिल्ला पुगेको बताउने उनले अर्जुनको विषयमा बनाइएको भिडियो सामग्रीमा आफूबाट केही तथ्य बुझ्ने काममा गल्ती भएको स्विकार्छन् । भाग्यले अर्जुनकी श्रीमतीले बच्चा चार महिनाको हुँदादेखि छोडेर गएको भन्दै गलत तथ्य बताएको उक्त भिडियो ५ लाख ८० हजारभन्दा धेरैले हेरिसकेका छन् ।

दुःखी, पीडित र लुकेका प्रतिभा खोज्ने काममा आफू सक्रिय रहेको बताउने भाग्यले केही महिनाअघि एक टेलिभिजन अन्तर्वार्तामा आफूले युट्युबबाटै ७ देखि ८ करोड रुपैयाँ उठाएर विभिन्न मानिसलाई बाँडेको बताएका थिए । आफूसहितको १० जनाको टिम यो युट्युब च्यानलको भिडियो उत्पादनमा सक्रिय रहेको बताउने भाग्यले क्यामेरा र मिडिया भन्ने पनि थाहा नभएका मान्छेकहाँ पुग्ने भएकाले आफूहरूको विषयले धेरैको ध्यान तानेको हुन सक्ने बताए ।

युट्युबबाटै चर्चा बुटुलेका भाग्य आफूलाई दैनिक १ हजारदेखि १२ सय कल आउने बताउँछन् । फोन उठाउन नभ्याएपछि एक जना फोन उठाउने कर्मचारी नै राखेका उनले अर्जुनको भिडियो युट्युबमा राखेको केही दिनपछि आफूलाई झुक्किइयो कि भन्ने लागेको बताए । उनले भने, ‘गल्ती भयो भन्ने फिल भयो तर त्यतिबेलासम्म दर्जनौं अरूले त्यो विषयमाथि भिडियो बनाइसकेका थिए ।’ भाग्यले यो प्रकरणपछि अबदेखि आफूले क्यामेरा खोल्नुअघि दस होइन बीसपटक सोच्नुपर्दो रहेछ र दसतिर क्यामेरा घुमाएझैं बीसतिर दिमाग घुमाउनुपर्दो रहेछ भनेर ज्ञान मिलेको बताए ।

माइक्रोलिंक मुभी मिडिया नामक युट्युब च्यानल चलाउने भोजराज थापाले पनि अर्जुनको भाइरल विषयलाई पछ्याए । काठमाडौंमा मात्रै नभएर उनले कैलालीस्थित अर्जुनकै घर पुगेर पनि भिडियो बनाए । भोजराजले बनाएका अर्जुनबारेका तीन भिडियोको कुल भ्युअर्ससिप करिब ६ लाख हाराहारीमा छ । २ वर्षअघि युट्युब खोलेको बताउने भोजराजले आफूले नयाँ–नयाँ विषयको खोजीमा करिब ६५ जिल्ला घुमिसकेको बताए । ८ लाखभन्दा धेरै सब्स्क्राइबर भएको युट्युबका विषय निर्माता भोजराज व्यवस्थापनमा स्नातकोत्तर तह पढ्दापढ्दै युट्युबको दुनियाँमा आएका हुन् ।

युट्युबमा लाग्नुअघि दाङको एक रेडियोमा करिब एक वर्ष काम गरेको अनुभव बटुलेका उनले भने, ‘केही आम्दानी हुने र सेवा पनि हुने भएपछि यो काममा लागें ।’ अहिले युट्युबकै आम्दानीमा ४ जना कर्मचारीलाई तलब खुवाइरहेको बताउने उनले अर्जुनको विषयमा भने लक्ष्मीमाथि युट्युबमा धेरै नै गालीगलौजयुक्त कमेन्टहरू आएको बताए । उनले भने, ‘धेरै गाली आएको देखेपछि मैले अर्जुनबारे बनाएको र चार लाख भ्युअर्स आएको भिडियो पनि पब्लिकले हेर्ने नमिल्ने गरी प्राइभेट गरिदिएँ ।’

उनले अर्जुनको विषयमा आफूसहितका युट्युबरहरू झुक्किएको बताए । क्रस प्रश्न नगर्नु आफ्नो गल्ती भएको बताउँदै उनले भने, ‘लक्ष्मीले बच्चा चार महिना छँदा केही समय छाडेकी रैछिन् तर अर्जुनले चार महिनामा बच्चा छोडेपछि पूरै आफैंले बच्चा हुर्काएको बताए । हामीले त्यही कुरा पत्यायौं ।’

कोही कसरी भाइरल बन्छ ?

घटना हुनेबित्तिकै देशको जुनसुकै ठाउँमा भए पनि कुद्नुपर्ने भएकाले आम्दानीजस्तै आफ्नो खर्च पनि धेरै हुने उनले बताए । भने, ‘च्यानल चल्यो भने मासिक एक/डेढ लाख कमाइ हुन्छ । कुनै कुनै महिना त २०/३० हजार पनि हुन्छ तर यात्रा गर्दा खर्च धेरै हुन्छ ।’ उनले मज्जाले खटिएर युट्युबमा लाग्नेले महिनाको डेढदेखि २ लाख पनि कमाउने कुरा बताए । रुकुममा भएको दलित नरसंहारको घटनादेखि पाँचथरमा भएको सामूहिक हत्याकाण्डसम्मको विषय समेट्न फिल्डमा पुगेको बताउने भोजराजले युट्युबमा मान्छेले सोचेजस्तो कमाइ नहुने बताए ।

हिमेश न्यौपाने र मेघा केसी दम्पतीले चलाउने टाइम्स खबर नेपाल नामक युट्युब च्यानलले भाइरल अर्जुनको विषयमाथि १० वटा भिडियो बनाएको थियो । एक महिनाभन्दा छोटो अवधिमा त्यसको कुल भ्युअर्ससिप करिब २२ लाख पुगिसकेको छ । सुर्खेतको रेडियो भेरी एफएम र पोखराको एक सामुदायिक रेडियोमा काम गरेको अनुभव बटुलेका हिमेश र भिडियो सम्पादनसम्बन्धी ज्ञान भएकी मेघाले एक वर्षअघि यो युट्युब खोलेका थिए । दम्पत्तीकै मुख्य आयस्रोत भनेकै युट्युबको कमाइ भएको बताउने उनीहरूले आफूहरू हत्तपत्त भाएरल विषयको पछि नकुद्ने बताए । आफ्नै क्यामेरा, आफैंले खिच्ने र आफैंले सम्पादन गरेर पोस्ट गर्ने भएकाले पनि उनीहरूले विषय खोज्दा हुने यात्रा खर्च पनि युट्युबकै कमाइले धानेको बताउँछन् । यात्रामा मासिक २५ देखि ३० हजार खर्च हुने बताउने उनीहरूले एकपटक सबैभन्दा धेरै मासिक २ लाखसम्म युट्युबबाट कमाइ गरेको बताए ।

हिमेशले भने, ‘सधैं यति हुन्छ भन्ने पनि होइन । कहिलेकाहीं त निकै थोरै पनि हुन्छ ।’ हिमेश र मेघाले कैलाली नै पुगेर भाइरल अर्जुनको विषयमा फलोअप भिडियो बनाएका थिए । आफूहरू अरू नै कामको सन्दर्भमा काठमाडौंदेखि मोटरसाइकलमा एक रात दाङमा बसेर कैलाली पुगेका बेला अर्जुनलाई पनि पछ्याएको उनीहरूले बताए । अर्जुनको विषय भाइरल भएपछि लक्ष्मीमाथि बढी अन्याय भएको बताउने मेघाले युट्युबमा महिलाको उपस्थिति कम भएकाले पनि महिलामाथि बढी अन्याय भएको हो कि भन्ने बताइन् । धेरै झैझगडा भएको, हिंस्रक दृश्य र हिंसा प्रवर्द्धन गर्ने दृश्यहरू भएको भिडियोलाई युट्युबले यल्लो स्ट्राइक अर्थात् विज्ञापन पाउनका लागि अयोग्य बनाइदिन्छ । मेघाका अनुसार उनीहरूले अर्जुनकै विषयमा बनाएको र ५ लाखभन्दा धेरै भ्युअर्स भएको एउटा भिडियोलाई युट्युबले यल्लो स्ट्राइक लगाइदिएको थियो । मेघाले कतिपय युट्युबरहरूले जस्तो विषय पनि पछ्याउने बताउँदै युट्युबमा भाँडभैलो अवस्था रहेको पनि बताइन् । भनिन्, ‘एकतर्फी कुरा मात्रै ल्याउने, अर्कोलाई असर पर्छ भनेर नसोच्ने प्रवृत्ति व्याप्त छ ।’

दाङकै एक रेडियोमा दुई वर्ष र नेपाल समाचारपत्रको अनलाइन पोर्टलमा १४ महिना काम गरेको अनुभव भएको बताउने प्रदीप भण्डारी दैनिक खबर नामक युट्युब चलाउँछन् । भाइरल अर्जुनबारे उनको युट्युबले १२ वटा भिडियो बनाएको छ । जसलाई एक महिनाभन्दा कम अवधिमा ५ लाख १६ हजारभन्दा धेरैले हेरेका छन् ।

‘अर्जुन र लक्ष्मीको विछोडको कारण बाहिरियो, बल्ल खुल्यो सत्यतथ्य, अरू केटीसँग लागेकै हुन् ?’ भन्नेजस्ता थम्बनेल राखेर भिडियो सामग्री सार्वजनिक गरेका प्रदीपले कैयौं भिडियोमा लक्ष्मीलाई पापी भन्दै अनेकन लाञ्छना लगाएका छन् । एक वर्षदेखि युट्युब चलाएका प्रदीपले अर्जुनको विषयमा युट्युबरहरू मिस लिड भएको आफूलाई पनि लागेको बताए । उनले आफूले पनि केही त्रुटि गरेको स्विकार्दै भने, ‘घरझगडालाई ठूलो इस्यु बनाइयो ।’

युट्युबबाट औसतमा मासिक ६० हजार कमाएको बताउने प्रदीपले कतिपय युट्युबरलाई क्यामेरा मात्रै चलाउन आउने र लेख्नै नआउने पनि बताए । उनले भने, ‘कतिपयले थम्बनेलमा अपाच्य शब्द पनि राखेका छन् । कतिपयले पैसाको लोभमा पनि यस्तो गरेका हुन्छन् ।’

भाइरल अर्जुनको विषयमा कान्तिपुरले पछ्याएका २ सय ६२ भिडियो कहाँ खिचिएको हो, बोल्ने मान्छेको नाम के हो ? उक्त घटनाबारे के सम्बन्ध र योग्यताले ती व्यक्ति बोलेका हुन् ? आरोप वा दाबीका प्रमाणहरू के हुन् जस्ता यावत् प्रश्नको उत्तर भेटिँदैनन् । तथ्यको पुष्टि हुने आधार नभए पनि र घटना सम्बद्ध सबै पक्षका आवाजहरू नसमेटिए पनि अजुर्नमाथि केन्द्रित भएर बनाइएका भिडियोहरू करोडौंमाझ पुगेको छ । जसमार्फत लक्ष्मीमाथि लाञ्छना र चरित्रहत्याको प्रयास गरिएको छ ।

चरित्रहत्या गर्ने विषयलाई अनावश्यक उछाल्ने यस्तै भिडियोहरू युट्युबमा बारम्बार भाइरल बनेको देखिन्छ । त्यसका पछाडि भ्युअर्सका आधारमा युट्युबले दिने पैसा नै मुख्य कारण बनेको देखिन्छ । अहिलेका चल्तीका युट्युबरहरूले कति कमाउँछन् भन्नेबारे कुनै आधिकारिक आँकडा भेटिँदैन । कान्तिपुरसँग सम्पर्कमा आएका धेरैजसो युट्युबरहरूले पनि आफूले मासिक रूपमा बुझ्ने आम्दानी खुलाउन चाहेनन् । युट्युबर मेघाले महिनाको १४ लाख कमाएको युट्युबरहरू पनि छन् रे भन्ने सुनेको बताइन् । कान्तिपुरसँग कुराकानीमा आएका ६ जना युट्युबरले भने आफूहरूले युट्युबबाटै मासिक ६/७ लाखसम्म कमाउने मान्छे चिनेको बताए । त्यसो त केही साताअघि एपी–वान टीभीको कार्यक्रम रजतपटमा युट्युबर भाग्य न्यौपानेले आफूले मासिक ६ लाख रुपैयाँसम्म कमाएको बताएका थिए ।

युट्युब चलाउने क्रममै डेढ वर्षमा ५० हजार किमिभन्दा धेरै यात्रा गरेको बताउने न्यौपाने धमिलो पानी पनि बग्दै जाँदा सङ्लो भएजस्तै युट्युबको धमिलो पानी पनि संलिँदै जाने बताए । युट्युब चलाउनेहरूमा दक्ष मान्छेको कमी रहेको बताउने उनले भने, ‘हरेक ठाउँमा राम्रो नराम्रो हुन्छ नै तर नराम्रो पक्ष सुध्रेर जान्छ ।’ नेपालबाट ट्रेन्डिङ हुने कैयौं युट्युबका विषय आफूलाई पनि चित्त नबुझ्ने उनले बताए ।

बीबीसी मिडिया एक्सनको उत्पादन ‘साझा सवाल’ कार्यक्रम चलाएर चर्चामा आएकी विद्या चापागाईं पछिल्ला साढे दुई वर्षयता ‘हेर्ने कथा’ नामक युट्युब च्यानल चलाइरहेकी छन् । उनलाई युट्युबमा महिलामाथि आक्षेप लगाइएका र द्विअर्थी शीर्षक भएका विषय बढी भाइरल भइरहेको हो कि भन्ने लाग्छ । गतिलो युट्युब कन्टेन्टलाई सहयोग गर्ने संस्थागत पद्धति निर्माण नहुँदा नराम्रो कन्टेन्ट भाइरल भइरहेको उनको बुझाइ छ । उनले भ्युअर्सभन्दा पनि कन्टेन्ट निर्माण गर्नेहरू बढी सचेत हुनुपर्ने बताउँदै भनिन्, ‘युट्युबमा हामीले सूचना किन दिने हो ? त्यसको कस्तो प्रभाव पर्छ ? कस्तो पर्दैन भन्नेबारे विचार पुर्‍याउनुपर्छ ।’

कहाँबाट धेरै हेरिन्छ युट्युब ?

प्रमाण नभएका, आक्षेप र चरित्रहत्या गरिएका र चर्को बोलिएका कैयौं विषयहरूले भरिएका युट्युब च्यानलहरू बारम्बार ट्रेन्डिङमा परिरहन्छन् । यस्ता भिडियोहरू कसले कहाँबाट हेर्छन् भन्ने प्रश्नको यकिन उत्तर छैन । सात युट्युबरहरूसँग कुरा गर्दा उनीहरूमध्ये धेरैले भिडियोको आधा हाराहारीमा भ्युअर्ससिप नेपालभित्रै भएको बताए ।

तात्तातो खबर युट्युब च्यानल चलाउने भाग्य न्यौपानेले आफूले बनाएका भिडियोमध्ये औसतमा ४० प्रतिशत नेपालभित्र र अन्य खाडी र युरोप, अमेरिकाबाट हेर्ने गरेको बताए । आहा नेपाल युट्युबका मिलन विष्टले आफ्नो युट्युब अमेरिका, अस्ट्रेलिया, खाडीका देश र इजरायलबाट धेरैले हेर्ने बताए । सात युट्युबरमध्ये धेरैले नेपालपछि भारत, खाडी, अस्ट्रेलिया, युरोप, अमेरिकाजस्ता देशबाट बढी भ्युअर्स रहेको बताए ।

प्रकाशित : भाद्र १२, २०७७ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?