कारागारमा कोभिड–१९ को संक्रमण फैलिएकोमा मानव अधिकार आयोगको चासो - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कारागारमा कोभिड–१९ को संक्रमण फैलिएकोमा मानव अधिकार आयोगको चासो 

'काठमाडौं, पर्सा, बाँके, सुनसरी र सिरहाका कारागारमा कोभिड फैलिएको पाइएको छ'
कान्तिपुर संवाददाता

काठमाडौँ — मुलुकभरका कारागारमा कोभिड–१९ को संक्रमण फैलिँदै गएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै काठमाडौंको केन्द्रीय कारागार तथा बाँके, सुनसरी, सिराहा, पर्सालगायतका कारागारहरुमा रहेका कैदी–बन्दी तथा कारागारको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी एवम् कर्मचारीहरुमा समेत कोभिड–१९ को संक्रमण बढ्दै जाँदा उत्पन्न त्रासको अवस्थाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

आयोगले त्यस सम्बन्धमा बुधबार कारागार व्यवस्थापन विभागसँग पनि जानकारी लिएको छ । देशका ७१ वटा कारागारहरुमा हाल २१ हजारभन्दा बढी कैदी–बन्दी रहेका छन् ।

देशका अधिकांश कारागारहरुमा क्षमताभन्दा अधिक संख्यामा विगत लामो समयदेखि कैदी–बन्दीहरु रहेको आयोगको यसअघिको अनुगमनहरुबाट पाइएको आयोगले जनाएको छ । ‘कोभिड–१९ को संक्रमण बढेसँगै कारागारहरुमा अत्यधिक संख्यामा रहेका कैदी–बन्दीहरुले असुरक्षित महसुस गरी स्वास्थ्य सुरक्षा र जीवन रक्षाको लागि आयोगसमक्ष अनुरोध गरेका छन् । कारागारको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र कर्मचारीहरुमा समेत त्रास सिर्जना भएको पाइएको छ । बिरामी भएका कैदी–बन्दीलाई उपचार गर्न लैजाादा तथा कारागारभित्र नयाँ कैदी–बन्दी भित्रिँदासमेत कोरोनाको जोखिम उच्च रहने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

आयोगले क्षमताभन्दा अधिक संख्यामा कैदी–बन्दी रहेका कारागारहरुमा कोभिड–१९ को संक्रमणप्रति संवेदनशील भई कैदी–बन्दी, सुरक्षाकर्मी तथा कर्मचारीहरुको स्वास्थ्य सुरक्षामा उच्च सतर्कता अपनाउन पनि सरकारलाई आग्रह गरेको छ । ‘नयाँ कैदी–बन्दीको पीसीआर परीक्षण गरिए पनि पछि पनि संक्रमण हुन सक्ने संभावना रहेकोले कारागारमा पठाइने नयाँ कैदी–बन्दीलाई निश्चित अवधिका लागि अन्य कैदी–बन्दीहरुबाट छुट्टै राख्ने व्यवस्था गरी कारागारभित्र रहेका कैदी–बन्दीहरुको स्वास्थ्यसम्बन्धी हक र बाँच्न पाउने अधिकार संरक्षण गर्न, गराउन पनि आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : भाद्र १०, २०७७ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा थप ८८५ जना कोरोना संक्रमण, संक्रमितको संख्या ३४ हजार ४१८ पुग्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा थप ८८५ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

२४ घन्टामा ३८५ जना निको भएर घर फर्किएका छन् । हालसम्म १९ हजार ५०४ निको भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

त्यसैगरी २४ घन्टामा जम्मा १३ हजार २ सय ५३ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार बुधबारसम्म पीसीआर विधिबाट ६ लाख ३५ हजार २५२ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ८ सय ३२ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १४ हजार ७३९ जना रहेको छ ।



स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


प्रकाशित : भाद्र १०, २०७७ १६:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×