१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सीमा वारपार गराउन लेनदेन !

ठाकुरसिंह थारु

नेपालगन्ज — कोरोना भाइरसको महामारी फैलिएपश्चात् पाँच महिनादेखि नेपाल–भारत सीमा पूर्ण रूपमा बन्द छन् । लकडाउनका कारण दुई मुलुकका सयौं नागरिक घर फर्किन पाएका छैनन् । दुई मुलुकमा सुरक्षा अधिकारीहरूको समन्वयमा १४ दिन क्वारेन्टाइनमा बस्ने सर्तमा आउजाउ गर्न दिइएको छ ।

सीमा वारपार गराउन लेनदेन !

तर, भारतबाट नेपालगन्जको जमुनाहा नाकाबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा नराखी चोरबाटो धान खेत भएर सिधै घर पठाउने भन्दै सीमाका केही सुरक्षाकर्मीले पैसा असुली गर्दै आएको खुलेको छ । स्रोतका अनुसार उनीहरूले एक जना व्यक्तिबाट ५ देखि १० हजार रुपैयाँसम्म लिने गरेका छन् ।

नेपालगन्जका एउटै उद्योगले ४०/५० जना मजदुर भारतबाट ल्याइरहेका छन् । १४ दिन क्वारेन्टाइनमा बस्दा सास्ती हुने भन्दै भारतबाट आउने व्यक्तिले सहजै पैसा दिने गरेका हुन् । त्यस्ता व्यक्तिलाई क्वारेन्टाइनमा राख्न नेपालगन्जको भन्सारमा होल्डिङ सेन्टर राखिएको छ । त्यहाँबाट बाँके घर भएका व्यक्तिहरूलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिन्छ । बाहिरी जिल्लाका व्यक्तिलाई सम्बन्धित पालिकाहरूले लगेर क्वारेन्टाइनमा राख्ने गरेका छन् । तर, पैसा बुझाइएका व्यक्तिहरूलाई भने चोरबाटो भएर पैदल आउन दिने र गाडीमा राखेर सिधै घर तथा उद्योगमा पुर्‍याउने गरिएको हो ।

कुनै स्वास्थ्य जाँच नै नगरी नेपालगन्ज ल्याइएका व्यक्तिहरूबाट कोरोनाको संक्रमण सर्ने खतरा बढेको छ । ‘सर्वसाधारण भारतबाट फर्कंदा उनीहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिन्छ । तर, सेटिङ गरेर आउनेहरू चोरबाटो भएर मज्जाले नेपालगन्ज छिर्छन्,’ सीमाका एक स्थानीयले भने । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले केही सुरक्षाकर्मीले चोरबाटो भएर भारतबाट आउने व्यक्तिलाई ल्याउने गरेको खबर आएपछि अनुसन्धान गरिरहेको बताए । ‘दुई/तीन महिनादेखि यो गुनासो आउन थालेको हो । दुई जना सुरक्षाकर्मीलाई सोधपुछ गरिसकेको छु । तर, प्रमाण नपुगेकाले कारबाही गर्न सकिएको छैन,’ उनले भने, ‘चोरबाटो भएर मान्छे भित्र्याउने कुरा निकै गम्भीर हो । सबै लागेर खोज्नुपर्छ ।’

सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी इन्चार्ज सई विष्णु गिरीले भने मूल नाका भएर फर्किने जोकोहीलाई क्वारेन्टाइनमा पठाउने गरेको दाबी गरे । उनले नेपाल फर्किनेहरूलाई सुरुमा होल्डिङ सेन्टरमा पठाउने र त्यहाँबाट क्वारेन्टाइन पठाउने गरेको जनाए । ‘अतिआवश्यक काम जस्तै आइसोलेसन बनाउने भारतीय प्राविधिकहरूलाई जिल्ला प्रशासनको अनुमति

लिएर तीन/चार जनालाई छाडेका छौं । त्योबाहेक एक जना पनि छाड्ने कुरै भएन,’ उनले भने, ‘चोरबाटो भएर गएका हुन् भने थाहा भएन तर मूल नाकाबाट कसैलाई पनि छाडेका छैनौं ।’

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उद्योगमा आवश्यक पर्ने अपरेटरहरूलाई प्रशासनको अनुमति लिएर क्वारेन्टाइनमा राख्ने सर्तमा ल्याएको बताए ।

प्रकाशित : भाद्र १०, २०७७ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?