कोइराला दाजुभाइबीचै टकराव

सात दशक लामो इतिहास बोकेको कांग्रेसमा ५ दशकभन्दा बढी कोइराला परिवारले नेतृत्व गरेको छ । ०४६ सालको परिवर्तनपछि नै गिरिजाप्रसाद कोइरालाले १५ र त्यसपछि सुशील कोइरालाले साढे ५ वर्ष नेतृत्व गरे ।
कोइराला परिवारबाट नेतृत्व लिन शेरबहादुर देउवाले पोखरामा ०५७ सालमै दसौं महाधिवेशनदेखि नै संघर्ष गरेका हुन् । ०७२ सालमा मात्रै उनी नेतृत्वमा पुगे । अहिले कोइराला परिवारबाट शशांक र शेखर नेतृत्वका लागि जुर्मुराएका छन् ।
कुलचन्द्र न्यौपाने

काठमाडौँ — शशांक कोइराला र शेखर कोइराला दाजुभाइबीच पार्टीगत सम्बन्धमा हार्दिकताभन्दा बढी प्रतिस्पर्धा छ । आसन्न पार्टी महाधिवेशनमा दुवैको दाबी सभापतिमा छ र दुवैका लागि एक/अर्का मुख्य चुनौती बनिरहेका छन् । शशांक पार्टीमा सभापतिपछि शक्तिशाली मानिने महामन्त्री पदमा छन् । उनी १३ औं महाधिवेशनबाट निर्वाचित महामन्त्री हुन् ।

कोइराला दाजुभाइबीचै टकराव

पार्टीको पदीय मर्यादामा उनी पाँचौं स्थानमा छन् । शेखर केन्द्रीय सदस्य मात्रै हुन् । लोकप्रिय मतका साथ एक नम्बरमा उनी सदस्य निर्वाचित भएका थिए । पार्टी वरीयतामा उनी ३५ औं नम्बरमा पर्छन् ।

बीपीका कान्छा छोरा शशांक र बीपीका भाइ केशवका छोरा शेखर एकै समय केन्द्रीय तहको राजनीतिमा आइपुगेका हुन् । दुवै चिकित्सा पेसामा थिए । शशांक आँखाका वरिष्ठ विशेषज्ञ हुन् । शेखर वरिष्ठ फिजिसियन । पार्टीको केन्द्रीय कार्यसमितिमा आउनुअघि शशांक महाराजगन्जस्थित शिक्षण अस्पतालको आँखा विभागमा कार्यरत थिए । शेखर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति थिए ।

शशांकले विद्यार्थीकालदेखि खासै संघर्ष गर्नुपरेन । बीपीका कान्छा छोरा भएकाले पनि उनले कहिल्यै केहीको अभाव झेल्नुपरेन । रोजेको स्कुल पढ्न पाए । परिवारमा उनलाई पुलपुलाएर हुर्काइएको कोइराला परिवारकै सदस्यहरू बताउँछन् । बाल्यावस्थामा उनको रुचि राजनीतितिर खासै थिएन । बीपीको समेत उनलाई अब्बल चिकित्सक बनाउने सपना थियो । त्यसैले उनमा राजनीतिक आरोहअवरोहको साक्षी र अनुभव छैन । देश घुम्नसमेत उनले पछिल्लो कालखण्डबाट थालेका हुन् । उनी कम बोल्छन् । ०७४ को निर्वाचनपछि संसद्मा उनी तीनपटक मात्रै बोलेका छन् । पार्टी केन्द्रीय कार्यसमिति बैठकमै उनी बोल्दैनन् । अघिल्लो कार्यकाल त उनले ‘ब्याकबेन्चर’ सांसद भएरै बिताए । बेलाबखत केन्द्रीय सदस्यहरूले नबोलेको भनेरै पार्टी बैठकमा उनको आलोचना गर्ने गर्छन् । विधि, विधान र परम्पराविपरीत सभापति शेरबहादुर देउवाले लिएका कदममा उनी मौन रहँदै आएको भन्दै संस्थापनइतर खेमाबाटै उनी बारम्बार आलोचित हुँदै आएका छन् ।

शेखर पहिलेदेखि क्रियाशील थिए । उनको त्यही गुणका कारण गिरिजाप्रसाद कोइरालाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन शशांकलाई छाडेर उनलाई सहयोगी बनाएका थिए । शेखर नेता–कार्यकर्तामाझ सजिलै भिज्न सक्छन् । जिल्ला दौडधुप बढी गर्छन् । ०७४ को चुनाव हारेपछि उनले मुलुकका सबै जिल्ला घुमिसकेका छन् । आफूलाई लागेको एजेन्डा र मुद्दामा खरो उत्रिन्छन् । कार्यकर्तासँंग अन्तरक्रिया गर्ने, विचार र एजेन्डालाई सञ्चार गर्न सक्ने क्षमता उनमा छ । ‘बीपीको छोरो त्यसमा पनि पार्टीमा निर्वाचित महामन्त्री भइसकेको नेताले अलिकति सचेत, चलायमान र संगठन निर्माणमा क्रियाशील भइदिएको भए शेखर मात्रै होइन, पार्टीका कुनै पनि नेता शशांकका अघि चिहाउनै नसक्ने हुन्थे,’ कोइरालानिकट रहेका एक केन्द्रीय सदस्यले भने, ‘तर अहिले उहाँको इमेज सभापति देउवाले जति पनि पार्टी हाँक्न सक्दैनन् कि भन्ने बनेको छ ।’

गिरिजाप्रसादपछि कोइराला परिवारको विरासत धान्ने उपयुक्त पात्र बीपीपुत्र प्रकाश मानिएका थिए । तर तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मन्त्री बनेपछि उनको सम्बन्ध कांग्रेससँग टुट्यो । त्यसपछि कारबाहीमा पनि परे । अहिले उनी कांग्रेस राजनीतिमा छैनन् । तर कोइराला परिवारका अभिभावक उनै हुन् ।

गिरिजाप्रसादले छोरी सुजातासहित शशांक र शेखर तीनै जनालाई पार्टीको एघारौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनाएका हुन् । शशांक र सुजाता निर्वाचित सदस्य हुन् । शेखरलाई पछि मनोनयन गरेका थिए । त्यतिबेला पनि शशांक र शेखरबीच केन्द्रीय सदस्यमा को लड्ने भन्ने सवाल उठेको थियो । शेखर सम्झिए, ‘मैले नै कोइराला परिवारबाट तीनै जना उठ्दा राम्रो सन्देश जाँदैन भनेर शशांकलाई सहयोग गरेको हुँ ।’ त्यसपछि १३ औं महाधिवेशनमा पनि महामन्त्री बन्न शेखर र शशांकबीच प्रतिस्पर्धा चल्यो । पार्टीको नेतृत्वमा परीक्षण भई नसकेका शशांकप्रति आकर्षण पनि बढ्दो थियो । शेखरले नै त्याग्नुपर्ने भयो ।

१४औं महाधिवेशनमा के होला ?

पछिल्ला टेलिभिजन अन्तर्वार्ता र सार्वजनिक अभिव्यक्तिलाई विश्लेषण गर्ने हो भने कांग्रेसमा नेतृत्वको विषयलाई लिएर सबैभन्दा चर्को प्रतिस्पर्धा यी दाजुभाइबीच नै देखिएको छ । पछिल्लो कालखण्डमा उनीहरू दुईबीच संवादसमेत टुटेको छ । पार्टीको वर्तमान समीकरणमा यी दुवै एउटै कित्तामा छन् । उनीहरू जहाँ छन्, त्यहाँ दुई जना मात्रै छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहसमेत प्रतिर्स्धामा छन् । सबै आकांक्षीलाई मिलाउने संयोजनकारी भूमिकामा देखिएका दोस्रो पुस्ताकै नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्यलगायतको साथ र उनीहरूले लिने निर्णयले पनि ठूलो अर्थ राख्छ ।

संस्थापनइतर पक्षमा जति आकांक्षी देखिएका छन्, सबैको मिसन सभापतिबाट देउवालाई हटाउनेमा केन्द्रित छ । उनीहरूले देउवाले पार्टी संगठनलाई ध्वस्त बनाएको, विधि, प्रक्रिया र पद्धति मिच्दै कांग्रेसलाई कमजोर बनाएको आरोप लगाउँदै आ–आफ्नो तयारी अघि बढाइरहेका छन् । पछिल्लो समय त सभापति देउवाको जति चर्को आलोचना गर्‍यो, उति नै सभापतिको प्रत्याशीका लागि सम्भावना बढ्ने मनोवैज्ञानिक प्रभाव नेताहरूमा देखिन्छ । शेखर सुरुदेखि नै सभापति देउवाको कटु आलोचकका रूपमा उभिएका थिए । महाधिवेशनको चर्चा सुरु भएपछि शशांक पनि उनको विरोधमा खरो उत्रन थालेका छन् ।

‘पोजिसन’ बढाउँदै लगेका कारण सजिलै पछि हट्ने सम्भावना शशांक र शेखर दुवैमा देखिन्न । तर, उनीहरूलाई मिलाउन बीपी पुत्र प्रकाश र गिरिजापुत्री सुजाताको मुख्य भूमिका रहने देखिन्छ । सुजातामा पनि नेतृत्व सम्हाल्ने महत्त्वाकांक्षा थियो । तर स्वास्थ्यले साथ नदिएपछि शशांक र शेखरलाई मिलाउनै उनी जुटेकी छन् । कान्तिपुरसँगको कुराकानीमा भने उनले पनि आफ्नो दाबी अघि सारिन् । ‘कोइराला परिवारमा हामी तीनै जना सभापतिको उम्मेदवार हौं,’ उनले भनिन्, ‘को हुने भन्नेबारेमा हामी छलफल गर्छौं । जो भए पनि हामीबीच एउटा मात्रै उम्मेदवार हुन्छौं ।’ उनले यसो भने पनि अनौपचारिक तहमा उनी शशांक र शेखरलाई मिलाउनुपर्ने पक्षमा छिन् । दुवैलाई जुटाउन भने पर्दाभित्रबाट प्रकाशले भूमिका खेलिरहेका छन् । दुवैको भरोसा पनि प्रकाशप्रति नै छ ।

प्रकाश कसको पक्षमा उभिन्छन्, उनले खुलाउन चाहेनन् । तर, कोइराला परिवारमा दुईमध्ये एक जना उम्मेदवार हुने उनले बताए । प्रकाशका अनुसार कांग्रेसको संगठनमा अहिले पनि सभापति देउवाकै पकड छ । देउवाबाट नेतृत्व लिन उम्मेदवारको प्रतिस्पर्धा गरेर मात्रै नहुने भन्दै उनले दुवै भाइलाई सम्झाउने गरेका छन् ।

‘पहिला केका लागि उम्मेदवार हुने भन्नेमा प्रस्ट हुनुपर्छ । शेरबहादुरजीले सक्नुभएन । संगठन बिग्रेको छ भन्ने आधार देखाएर मात्रै उम्मेदवार हुनुले कुनै अर्थ राख्दैन । कि कोइराला भएकाले उम्मेदवार हुने ? यो पनि अहिलेको अवस्थामा काम लाग्दैन,’ प्रकाशले कान्तिपुरसँग भने, ‘नीति र एजेन्डाले आमकार्यकर्ता पंक्तिलाई आकर्षण गर्न नसक्ने हो भने उम्मेदवारीको कुनै अर्थ छैन ।’

उनले अहिलेसम्म शेखर र शशांकमा पनि नीति र एजेन्डाको ‘अपिलिङ’ को अभाव खड्किएको बताए । वैचारिक मुद्दामा शशांक र प्रकाशबीच समानता छन् । प्रकाश हिन्दु राज्यको पक्षमा छन् भने राजतन्त्रको विषयमा पनि नरम छन् । शशांकले पनि खुलेरै हिन्दु धर्मको पक्षमा वकालत गर्दै आएका छन् । एक साताअघि कान्तिपुरको टक–सो फायरसाइडमा समेत शशांकले जनमतसंग्रह गरिए हिन्दु धर्मको पक्षमा जनमत आउने दाबी गरेका थिए । राजतन्त्रको विषयलाई उनले इन्कार गरे पनि धर्मको विषयलाई भने उनले आउँदो महाधिवेशनमा उठाउने बताएका छन् । केही दिनअघि कान्तिपुरसँगकै कुराकानीमा शशांकले भनेका थिए, ‘धर्म सापेक्ष र निरपेक्ष हुँदैन । संविधान संशोधनमार्फत अहिले भएको व्यवस्था सच्चाएर धार्मिक स्वतन्त्रता राख्नुपर्छ ।’ त्यसका लागि संविधान संशोधनको बाटो विकल्प भए पनि जनमत संग्रहमार्फत नै टुंग्याउनुपर्ने दृष्टिकोण उनले राख्दै आएका छन् ।

धर्म निरपेपक्षताको प्रावधानप्रति शेखरको पनि असन्तुष्टि बेलाबखत प्रकट हुँदै आएको छ । तर पछिल्लोपटक उनी यस विषयमा मौन छन् । धर्मलाई वैचारिक एजेन्डा बनाएर अघि जाने पक्षमा उनी देखिन्नन् । जरा उखेलिसकिएको राजतन्त्र पुनर्स्थापना गर्ने विषयप्रति त उनी सोच्नसमेत नसकिने बताउँछन् ।

शेखर कांग्रेसलाई कम्युनिस्टहरूको बढ्दो प्रभावसँग जुध्न सक्ने पार्टी बनाउनुपर्ने बताउँछन् । ‘त्यसका लागि पार्टीभित्रका विसंगति अन्त्य गर्दै विधि र पद्धति बसाल्नु पहिलो काम हुनेछ । दोस्रो, नेपालमा बढ्दो भूराजनीतिको प्र्रभावबाट मुलुकलाई जोगाउनुपर्ने चुनौती छ,’ उनले भने । अमेरिकालगायत दुई छिमेकी चीन र भारतबीचको असन्तुलित सम्बन्ध देशको हितमा नरहेको उनको भनाइ छ । ‘पार्टीभित्र र देशकै लागि पनि सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्न सकिएन भने हामी अप्ठ्यारोमा पर्छौं,’ उनले भने, ‘यसका लागि म फिट हुन्छु भन्ने मलाई लाग्छ ।’

आफ्नो उम्मेदवारीलाई बलियो बनाउन शेखरले १५ औं महाधिवेशनदेखि सक्रिय राजनीतिबाट विश्राम लिने, एकपटक मात्रै सभापति हुने, सभापति भएपछि प्रधानमन्त्री हुने आकांक्षा नराख्नेसमेत भनेका छन् । शशांकले त्यस्तो भनेका छैनन् । तर बीपीको छोरा भएकाले पनि आफूले देउवालाई सहजै पराजित गर्न सक्ने दाबी उनमा छ । ‘शेरबहादुर देउवालाई पराजित गर्नका लागि हामी एक ठाउँमा आउनुपर्छ । एक ठाउँमा आउन सकियो भने मात्रै हामी जित्न सक्छौं,’ उनले केही दिनअघि कान्तिपुरसँग भनेका थिए, ‘त्यतिबेला सबैभन्दा उपयुक्त उम्मेदवार म हुनेछु, मबाहेक रामचन्द्रजी, शेखरदा कसैले पनि जित्न सक्दैनन् ।’

गान्धी परिवारको प्रभाव भारतीय कांग्रेसमा परेजस्तै नेपाली कांग्रेसमा पनि कोइरालाको प्रभाव छ । कोइराला परिवारको विरासतको वजन शेखरको तुलनामा शशांकैमा बढी छ । महामन्त्रीमा परीक्षण भइसकेकाले विरासतले मात्रै अब उनले जित्ने सम्भावना कम भएको बुझाइ शेखरमा देखिन्छ । ‘अभी नहीँ तो कभी नहीँ’ भन्ने हिन्दी उखान उनले यतिबेला आफ्नै लागि मन्त्र बनाएका छन् । त्यसका पछि उमेरको दबाब मुख्य रहेको उनी बताउँछन् । शेखर अहिल्यै ७० वर्ष पुगेका छन् । पन्ध्रौं महाधिवेशनबाट सक्रिय राजनीतिबाट विश्राम लिने घोषणासमेत उनले गरिसकेका छन् । शशांक शेखरभन्दा ५ वर्ष कान्छा छन् । यसअघि केन्द्रीय सदस्य र महामन्त्रीमा चुनाव लड्दा साथ दिएकाले यसपटक पनि साथ दिने आशा शशांकमा छ । शेखरलाई भने अब छाड्ने पालो शशांकको भन्ने छ । ‘उसलाई यसअघि पनि छाड्दै गयो, अहिले पनि छोड्छ भन्ने लागेको हुन सक्छ, तर अब त्यस्तो हुन्न,’ शेखरले भने ।

दुवै उठ्ने सम्भावना कति ?

प्रकाशका अनुसार कोइराला परिवारबाट उम्मेदवार भएमा एउटै हुनेछन् । ‘दुइटा उम्मेदवार भए त सक्किगयो नि ∕ शेरबहादुरजीको पकडलाई भत्काउन सबै एकै ठाउँमा उभिनुपर्छ,’ प्रकाशले भने, ‘मेचीदेखि महाकालीका कार्यकर्तालाई कोइरालाहरू एक छन् भन्ने सन्देश दिनुपर्छ । कार्यकर्ताको मनोबल र जोस बढाउन सक्नुपर्छ । बेलाबखत दुवैले बोल्दै आएका छन् तर त्यो अझै पुगेको छैन ।’

संस्थापन पक्षबाट विमलेन्द्र निधिले पनि उम्मेदवारी दिए भने देउवा आफैं अघि नबढेर शशांकलाई साथ दिन सक्ने अड्कलबाजी पनि यतिबेला चर्चामा छ । यस्तो अवस्था खडा भए शशांक र शेखर दुवै उम्मेदवार बन्न सक्छन् । शेखर पनि त्यसलाई स्वाभाविक ठान्छन् । ‘ठीक छ शेरबहादुरजीले सघाउनुभयो भने शशांक उताबाट उठ्छ, म यताबाट उठ्छु,’ शेखरले भने । निधि साँच्चै उम्मेदवार बन्ने भए र देउवा पछि हटे भने अहिले कायम रहेका गुटको समीकरण भत्किन सक्छ र नयाँ खालका समीकरण बन्न सक्छ । त्यस्तो बेला देउवाको रोजाइमा शशांक नै पर्न सक्ने देउवानिकट सदस्यहरू बताउँछन् । शशांकलाई अघि बढाउँदा कांग्रेसको मूल धार जोडिने र जित्न पनि सहज हुने बुझाइ देउवामा छ ।

‘निधिलाई अघि बढाउने सम्भावना म देख्दिनँ । उहाँलाई साथ दिए पनि जितिन्छ भन्ने ग्यारेन्टी छैन तर शशांकलाई साथ दिए जितिन्छ भन्ने विश्लेषण भित्रभित्रै छ,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘आफूले छाड्नु नै पर्ने भए शशांक वा समकालीन नेताको हिसाबले रामचन्द्र पौडेललाई साथ दिने गरी अघि बढ्ने सम्भावना पनि नकार्न सकिन्न ।’ तर देउवा आफूले छाड्नुपर्दा पत्नी आरजुलाई महामन्त्रीमा ल्याउन चाहन्छन् । त्यतिबेला पौडेलको तुलनामा शशांक नै बढी सहज हुने बुझाइ उनमा छ । शशांकलाई एक साताअघि कान्तिपुरको टक–सो फायरसाइडमा यस्तो खालको प्रश्न सोधिएको थियो । त्यतिबेला उनले देउवाको सहयोग आफूलाई भए पनि आरजुलाई आफ्नो टिममा राख्ने विषय नमान्न पनि सकिने टिप्पणी गरेका थिए ।

प्रकाशित : भाद्र १०, २०७७ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?