सभापतिमा शेरबहादुर देउवालाई हराउने मबाहेक कोही छैन : महामन्त्री कोइराला

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको बताएका छन् । १४औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने उनले बताए ।

सभापतिमा शेरबहादुर देउवालाई हराउने मबाहेक कोही छैन : महामन्त्री कोइराला

पार्टी सभापतिका लागि अरु नेताहरुको दाबी रहे पनि सभापति देउवालाई पराजित गर्ने ग्यारेन्टीका साथ आफ्नो दाबी सभापतिमा रहने उनको भनाइ छ । सोमबार न्यूज एजेन्सी नेपाल(नान)सँग कुरा गर्दै महामन्त्री कोइरालाले बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने दाबी गरेका छन् । उनले भने, ‘मैले धेरैसँग परामर्श गर्दै छु । उहाँहरु तपाईं नै उठ्नुपर्‍यो भन्नुहुन्छ । तर मैले धेरै साथीहरुका दाबी छ भन्छु । रामचन्द्र दाइ, सिटौलाजी हुनुहुन्छ । प्रकाशमान छन् धेरै छन् सबै उठेर त भएन नि ।’

कोइरालाले सबै मिले देउवालाई सजिलै हराउन सक्ने उल्लेख गर्दै भने, ‘हामी सबै मिलेर एक जना उठ्नुपर्‍यो । त्यसका लागि आपसमा वार्ता हुनुपर्‍यो । वार्तापछि हामी एक ठाउँमा पुग्न सकियो भने हुन्छ । व्यक्तिगत हिसाबले शेरबहादुरजीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ । रामचन्द्र दाइले पनि सक्नुहुन्न । अरु कसैले पनि सक्दैन । मबाहेक शेरबहादुरजीलाई हराउने व्यक्ति छैन ।’

महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशील सदस्यता वितरण, विभाग गठनलगायतका काम विधानविपरीत गरिरहेको भन्दै उनले असन्तुष्टिसमेत जनाए । सभापति देउवाले पार्टीका विभागहरु गठन गरिरहेकोप्रति इतरपक्षले विरोध जनाउँदा पनि नसुन्ने गरेको उनको भनाइ छ । पार्टीभित्र जतिसुकै विरोध गर्दा पनि सभापतिले कुरा नसुन्ने गरेको उल्लेख गर्दै उनले यसको जवाफ महाधिवेशनबाट दिनुपर्ने बताए ।

महाधिवेशनका लागि पार्टीमा गुट उपगुट हुनु स्वाभाविक भए पनि त्यसपछि पनि गुटकै आधारमा पार्टी सञ्चालन गर्न खोज्नु सभापति देउवाको कमजोरी भएको कोइरालाको आरोप छ । आफू सभापतिमा निर्वाचित भएपछि सबैभन्दा पहिले पार्टीलाई एकजुट बनाएर अगाडि बढाउनेसमेत कोइरालाले दाबी गरे । ‘पार्टीलाई एक बनाउने अहिले धेरै गुट उपगुट छन् महाधिवेशनका लागि हुनु स्वभाविक हो । तर महाधिवेशन सकिनेबित्तिकै पार्टीलाई एक बनाउनुपर्‍यो । जुन शेरबहादुरजीले सक्नु भएन । आजको मितिमा मेरो मान्छे र तेरो मान्छे भन्नुहुन्छ ।’

प्रकाशित : भाद्र ८, २०७७ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?