सहज छैन होम आइसोलेसन

संक्रमित निको भए पनि समाजको डरले पहिचान लुकाउँदा होम आइसोलेसन र अस्पतालमा बस्नेको यकिन तथ्यांक नै छैन ।

काठमाडौँ — मध्यपुर थिमि–६ भुलांखेलकी ३७ वर्षीया एक महिलालाई लगातार टाउको दुख्ने र ज्वरो आउने भइरह्यो । उनी स्वास्थ्य परीक्षणका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल पुगिन् । पीसीआर परीक्षणमा उनमा कोरोना पोजिटिभ देखियो ।

सहज छैन होम आइसोलेसन

साउन २९ गते रिपोर्ट आएपछि उनी होम आइसोलेसनमा छिन् । उनको घर कम्पाउन्डमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र प्रहरीले सिल गरेका छन् ।

‘म छुट्टै कोठामा बसेकी छु, मेरो भान्सा अलग छ,’ उनले भनिन्, ‘परिवारका सदस्यसँग प्रत्यक्ष सम्पर्क छैन तर छिमेकीले श्रीमान् र छोरालाई घरबाहिर निस्किनसमेत बन्देज गरेका छन् । हिँडडुल गरिराख्नुपर्ने मधुमेहका बिरामी सासू/ससुरालाई पनि बाहिर निस्कनै दिएका छैनन् ।’ परिवार सदस्यको पीसीआर परीक्षणमा ढिलाइ हुँदा थप मानसिक दबाब भोग्नुपरेको उनले सुनाइन् ।

मनमैजुकी ५० वर्षीया वृद्धा पनि १२ दिनदेखि होम आइसोलेसनमा छिन् । उनीसहित परिवारका ४ जनाले एउटै शौचालय प्रयोग गर्छन् । ‘प्रयोग गर्नासाथ सफा गर्ने गरेको उनले बताइन् । अहिलेसम्म उनमा कोरोनाको लक्षण देखिएको छैन । ‘महानगरका कर्मचारीले दैनिक फोन गरेर सोधिरहन्छन्,’ उनले भनिन्, ‘उनीहरूको नम्बर टिपेर राखेको छु । गाह्रो पर्‍यो भने फोन गर्छु ।’ शुक्रबार घरका अरू ३ जनाको पनि स्बाव संकलन गरेर लगिएको छ, तर रिपोर्ट आएको छैन ।

नगरपालिकाले संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङमा ढिलाइ गरेको होम आइसोलेसनमा बसेका संक्रमितहरू बताउँछन् । शनिबारसम्म भक्तपुरमा ७७ जना संक्रमित होम आइसोलेसनमा छन् । भक्तपुरमा संक्रमितको संख्या २ सय ७० पुगेको छ । भक्तपुरको चार स्थानीय तहमध्ये मध्यपुर थिमिमा ९७ जनामा संक्रमण देखिएको छ । जसमध्ये ५३ होम आइसोलेसनमा छन् ।

सूर्यविनायक नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं ८ नम्बर वडाका वडाध्यक्ष किरण थापाका अनुसार नगरका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३७ जना होम आइसोलेसनमा छन् । उनीहरूलाई निगरानीमा राखेर नगरपालिकाले १० देखि १५ दिनमा पुनः पीसीआर गराउँदै आएको छ । भक्तपुर र चाँगुनारायण नगरमा तुलनात्मक रूपमा संक्रमितको संख्या कम छ । भक्तपुर नगर प्रमुख सुनील प्रजापतिले नगरको बनावटको हिसाबले होम आइसोलेसनमा राख्न सम्भव नभएको र सामुदायिक आइसोलेसनको पहल भइरहेको जनाए । त्यसैगरी, चाँगुनारायण नगर प्रमुख सोमप्रसाद मिश्रका अनुसार नगर क्षेत्रभित्र ५ संक्रमित होम आइसोलेसनमा रहेका र नगरपालिकाका स्वास्थ्यकर्मीले उनीहरूको नियमित निगरानी गरिरहेका छन् ।

मध्यपुर थिमि नगर प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक सेवा मात्र सञ्चालित छ । एक सातायता संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाको स्वाब संकलन गरेर टेकु पठाइएको उनले बताए ।

जनचेतनाको कमी

संक्रमितलाई होम आइसोलेसनमा राख्न सहज भने नभएको नगर प्रमुखहरू बताउँछन् । ‘अझै पनि जनचेतनाको कमी छ, नगरपालिकाको स्वास्थ्य र सुरक्षा टोली घरघरमा पुगेर सम्झाउँदासमेत कतिपयले संक्रमितका परिवारलाई अपमान गरेको पाएका छौं,’ मध्यपुर थिमि नगर प्रमुख श्रेष्ठले भने । यसअघि संक्रमित बसोबास गरेको क्षेत्रमा प्रवेश निषेध/संक्रमित क्षेत्र उल्लेख गरी ब्यानर राख्ने गरेको भए पनि पछिल्लो समय घरको कम्पाउन्ड क्षेत्रमा डोरी टाँगेर मात्र सिल गर्ने गरेको उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकाका कोभिड–१९ फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार होम आइसोलेसनमा बसेर १४ दिन पार गरिसकेपछि पीसीआर परीक्षण गरिँदैन । ‘होम आइसोलेसनमा १४ दिन पार गरेपछि कुनै पनि लक्षण देखिएको छैन भने उनीहरू निको भइसकेको बुझिन्छ । केही लक्षण देखिएको खण्डमा थप एक साता आइसोलेसनमा बस्नुपर्ने हुन्छ,’ उनले भने । संक्रमण पुष्टि भएपछि लक्षण देखिएका संक्रमितलाई अस्पताल र लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसनमा बस्ने व्यवस्था छ । अस्पतालमा बस्नेलाई सरकारले सबै सुविधा दिए पनि होम आइसोलेसनमा त्यस्तो नभएको संक्रमितहरूको भनाइ छ ।

पछिल्लो समय होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढ्दै गएपछि टोखा नगरपालिकाले प्रतिव्यक्ति दैनिक ३ सय ५० रुपैयाँ दिने निर्णय गरेको छ । सन्तुलित भोजनका लागि उक्त रकम उपलब्ध गराउन लागेको नगर प्रमुख प्रकाश अधिकारीले बताए । ‘स्वास्थ्य शाखाले प्रमाणित गरिसकेपछि होम आइसोलेसनमा बसेकाहरूलाई एकमुष्ट रकम उपलब्ध गराउनेछौं,’ उनले भने । नगरपालिकामा हालसम्म ९३ जनामा संक्रमण देखिएकामा ३८ जना होम आइसोलेसनमा छन् ।

काठमाडौं महानगरपालिकामा शनिबारसम्म १ हजार ४ सय ११ जना संक्रमित छन् । जसमध्ये ३ सय ४२ जना होम आइसोलेसनमा छन, ८ जना संक्रमितको मृत्यु भएको छ । बाँकी अस्पतालमा छन् । कोभिड फोकल पर्सन ओलीका अनुसार पहिला इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले नै तथ्यांक राखेको र पछि महानगरले तथ्यांक राख्न सुरु गरेकाले हालसम्म निको भएर जानेको संख्या यकिन हुन सकेको छैन । होम आइसोलेसनका संक्रमितहरूको दैनिक स्वास्थ्य अवस्था मात्र जानकारी लिइरहेको र गम्भीर अवस्था भएको खण्डमा अस्पताल लैजाने व्यवस्था गरिरहेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । ‘परिवार नै संक्रमित भएको घरमा संक्रमितले नै पैसा तिर्ने सर्तमा खाद्यान्न पुर्‍याउने व्यवस्था छ,’ उनले भने, ‘छाक टार्नै समस्या भएका संक्रमितको हकमा महानगर छँदै छ ।’ आइतबार काठमाडौं महानगरमा १ सय २६ संक्रमित थपिएका छन् ।

चन्द्रागिरि नगरपालिकामा ५३ जना संक्रमित छन् । जसमध्ये होम आइसोलेसनमा २८ जना छन् । विपन्न परिवारलाई १५ दिनलाई पुग्ने राहत वितरण गरेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताए । कीर्तिपुर नगरपालिकाका २४ जना संक्रमितमध्ये १६ जना निको भइसकेका छन्, ७ जना होम आइसोलेसनमा छन् । एक जनाको मृत्यु भएको छ । नगरपालिकाले दैनिक फोनमार्फत नै होम आइसोलेसनमा बसेकाहरूको जानकारी लिने गरेको उपमेयर सरस्वती खड्काले बताइन् । कागेश्वरी मनोहरा नगरपालिकामा ७५ जना संक्रमित छन् ।

मूलपानी नगर अस्पतालको आइसोलेसनमा रहेका संक्रमितलाई खाना र स्वास्थ्य सेवा प्रदान गरे पनि घरमा रहेका संक्रमितलाई कुनै सेवा नदिएको मेयर हरिकृष्ण थापाले बताए । संक्रमित निको भए पनि समुदायको डरले पहिचान लुकाउँदा होम आइसोलेसन र अस्पतालमा कति छन् भन्ने यकिन तथ्यांक नै नरहेको नगर कर्मचारीहरू बताउँछन् । ‘समाजको अवहेलनाको डरले कतिपय निजी अस्पतालमा गएर परीक्षण गर्ने गरेका छन्,’ तारकेश्वर नगरपालिकाका स्वास्थ्य प्रमुख जनार्दन अधिकारीले भने, ‘आफूखुसी अस्पताल जाने र घरमा नै लुकेर बस्ने संक्रमितले गर्दा घर र अस्पतालमा रहेको संक्रमितहरूको संख्या तोक्न सकिएको छैन ।’

प्रकाशित : भाद्र ८, २०७७ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?