सीमामा निर्बाध आउजाउ

नेपालीहरु तरकारी तथा खाद्यान्न किन्न भारत जान्छन् भने भारतीयहरु रासायनिक मल तस्करी गर्न र मदिरा सेवनका लागि लुकीछिपी नेपाल आउने गर्छन् ।
प्रदेश ब्युरो

बुटवल — बर्दियाको गुलरिया–१० का ६५ वर्षीय सत्यनारायण लोध भारतको चित्तलहवा पुगेर औषधि उपचार गर्छन् । त्यसका लागि उनी छोरासित आउजाउ गर्छन् । सीमामै बसोबास छ । उनका अनुसार भारतमा उपचार सस्तो भएकाले टोलका अधिकांश सीमापारि जाने गरेका छन् । उपचारका लागि भनेपछि सीमामा तैनाथ सशस्त्र प्रहरीले जान दिने गरेको स्थानीय दीपु चौधरीले बताए ।

सीमामा निर्बाध आउजाउ

पश्चिम नवलपरासीस्थित पाल्हीनन्दन–१ का मनोज हरिजन प्रत्येक मंगलबार सीमावर्ती भारतीय महाराजगन्जको ठुटीबारीमा लाग्ने हाटमा जाने गरेका छन् । यहाँभन्दा सस्तो तरकारी पाइने भन्दै उनले स्थानीयसँगै जाने गरेको बताए । ‘सब्जी, चामल नेपालमा महँगो छ,’ उनले भने, ‘गरिब आदमी महँगो सामान खरिद गर्न सक्दैन ।’ उनका अनुसार यहाँ ५० रुपैयाँ प्रतिकिलो पर्ने तरकारी भारतीय बजारमा २० रुपैयाँमा पाइने गरेको छ । सुरक्षाकर्मीले रोक्ने कोसिस गर्दा विभिन्न बहाना बनाएर खेत, कुलो तथा नहरको बाटो हुँदै जाने गर्छन् । नेपालीहरू तरकारी तथा खाद्यान्न सामान किन्नका लागि भारत जान्छन् भने भारतीयहरू रासायनिक मल नेपालतर्फ तस्करी गर्न र मदिरा सेवनका लागि लुकीछिपी नेपाल आउने गर्छन् ।

बर्दियामा भारतबाट सुर्तीजन्य पदार्थ, चिनी र कपडा दिनहुँ भित्रिने गरेको छ । भारतीयहरू यस्ता सामान सहजै नेपालमा आएर बेचेर फर्किन्छन् । यस्ता गतिविधि जमुनी, गणेशपुर, मथुराहरिद्वार, ताराताल, धनौरा, कोठियाघाट र राजापुर नाकामा दिनहुँ बढ्दै गएको स्थानीय स्रोतले बतायो । नागरिक समाज बर्दियाका अध्यक्ष बालकृष्ण वलीले भारतबाट दैनिक लुकीछिपी दर्जनौं मानिस आउजाउ गर्ने गरेको बताए । भारतीयले ल्याउने मल लिन सीमामा सयौं किसानले हानथाप गर्दा कोरोना संक्रमणको जोखिम बढेको उनको भनाइ छ ।

कोरोना भाइरसका कारण नेपाल–भारत सीमा नाका बन्द गरिए पनि सुरक्षा निकायले कडाइ नगरेका कारण खुलेआम आउजाउ गर्नेको संख्या बढ्दै गएको स्थानीयको आरोप छ । तर, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी भारतमा तरकारी किन्न गएकालाई पनि क्वारेन्टाइनमा राखिएको दाबी गर्छन् । ‘सीमामा निकै कडाइ गरेकाले घुसपैठ हुन सकेको छैन,’ उनले भने, ‘गत जेठ महिनायता भारतबाट आएका ७ हजार ४ सय ३३ जनालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको थियो ।’

पश्चिम नवलपरासीमा मुख्य नाका र छोटी भन्सारमा सुरक्षा व्यवस्था कडा छ । तर, करिब २८ किलोमिटर लामो सीमा क्षेत्रमा रहेका जंगल, कुलेसो र खेतको बाटो हुँदै नेपाली र भारतीय आवातजावत गरिरहेका छन् । बिनास्वास्थ्य सतर्कता सीमा वारपार गर्दा कोरोना भाइरसको संक्रमण सीमावर्ती क्षेत्रमा फैलिने उच्च जोखिम छ । शनिबार मात्रै सीमावर्ती पाल्हीनन्दनमा एउटै गाउँका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जो भारत र नेपाल आवतजावत गरिरहेका मानिसहरू भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको भए पनि स्थानीय विभिन्न बहाना बनाउँदै सुरक्षाकर्मीको आँखा छलेर भारततर्फ जानेआउने गरेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।

किनमेल गर्न पारि

रूपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बानियाँले अहिले कतैकतै खेतमा घाँस काट्ने बहाना बनाएर सिमानामा पुग्ने र लुकेर आवतजावत गर्ने घटना अलिअलि भए पनि पहिलाजस्तो नरहेको बताए । यसरी लुकेर आउजाउ गर्ने स्थानीय सीमावर्ती गाउँका बासिन्दा रहेको उनले बताए । ‘पहिले स्थानीय बासिन्दाबाहेक टाढाटाढाका व्यक्ति पनि भारतबाट नेपाल आउन खुला सिमानाबाट लुकेर आउने गर्थे,’ उनले भने, ‘अहिले हामीले पनि यसरी लुकेर आउजाउ गर्न रोकेका छौं । पहिलाजस्तो लुकेर आउजाउ हुँदैन ।’ रूपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले नेपालीलाई भारतबाट आउन मूल नाकाबाटै अनुमति दिन थालिएपछि चोरी नाका र खुला सिमानाबाट लुकेर नेपाल छिर्ने क्रम नियन्त्रण भएको दाबी गरे ।

कपिलवस्तुको तौलिहवाका एक व्यवसायी सीमाको मर्यापुर नाका हुँदै भारतीय बजार नौगढ गएर किनमेल गरेर फर्के । उनीजस्तै मायादेवी गाउँपालिका, भैंसकुण्डाका अर्का व्यक्ति भारतीय बजार बर्डपुर पुगेर मोबाइल किनेर आए । कोरोना हटस्पट नौगढ र सोहरतगढ पुगेर आएका उनीहरू अहिले गाउँघरमा निर्बाध घुमफिर गरिरहेका छन् । संक्रमण बढिरहेका सीमावर्ती भारतीय सहरबजारमा नेपालीको आवतजावत सहज भइरहेको छ । मुख्य नाका बन्द भए पनि स–साना नाकाबाट साइकल र मोटरसाइकल लिएर स्थानीय सहजै यताउता गर्छन् ।

सीमामा खटिएका सुरक्षाकर्मी पनि चुपचाप बसेका छन् । उनीहरू चर्को वर्षा र घामका कारण प्रभावित भएका छन् । उनीहरू उँचो ठाउँ र छहारी खोजेर साँघुरिएका छन् । ‘खुला सीमा छ,’ एक सुरक्षा अधिकारीले भने, ‘जति गरे पनि रोक्न सकेका छैनौं ।’ सीमाको भारतीय सोहरतगत र बढनी बजारका केही क्षेत्रमा कोरोना भाइरस संक्रमित पाइएपछि भारतीय प्रशासनले बस्ती नै सिल गरेको छ । तर, त्यही आसपास नेपाली पुग्ने गरेका छन् ।

तर, प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले सीमा क्षेत्रमा निकै कडाइ गरेको बताए । उनले भने, ‘भारतबाट आउनेलाई होल्डिङ सेन्टरमा पठाइरहेका छौं ।’ होल्डिङ सेन्टरमा आएकालाई नियमअनुसार जुन जिल्लाका हुन्, सम्बन्धित स्थानीय तहलाई बुझाउने गरिएको छ । अहिलेसम्म होल्डिड सेन्टर हुँदै १० हजारभन्दा बढी नेपाली भारतबाट भित्रिएका छन् । जिल्लामा १ हजार ४५ जना कोभिड–१९ संक्रमित छन् । सक्रिय केस २ सय ४ छ । दुई जनाको मृत्यु भएको छ । प्रदेश ५ मा सबैभन्दा बढी संक्रमित हुने जिल्लामा कपिलवस्तु पर्छ ।

मूल नाकामा घुइँचो

रूपन्देहीको सुनौली मूल नाकाबाट भन्सारमा जाँचपासको काम भन्दै कार्ड भिरेर बिहानदेखि साँझसम्म ओहोरदोहर हुने गरेको छ । भारतीय भन्सार एजेन्ट संघ र भारतीय ट्रान्सपोर्ट कम्पनीका तर्फबाट जारी गरिएका कार्ड भिरेर भारतीय नागरिक सहजै नेपाल प्र्रवेश गर्ने गरेका हुन् । घाँटीमा कार्ड भिरेको देखेपछि सीमामा तैनाथ सुरक्षाकर्मीले पनि खासै सोधखोज गर्दैनन् ।

भैरहवा भन्सार क्लियरिङ एजेन्ट संघका अध्यक्ष असिम न्यौपानेले विभिन्न कम्पनीका प्रतिनिधि र मजदुरसमेत गरेर दैनिक ३/४ सय भारतीय नागरिक नेपालतर्फ छिर्ने गरेको दाबी गरे । ‘भैरहवा भन्सारमा नेपालीभन्दा भारतीय नागरिककै भीड बढी देखिन्छ,’ उनले भने, ‘यस खालको आवागमनलाई नियन्त्रण गरिनुपर्छ ।’

सीमावर्ती इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार भारतबाट घर फर्किने नेपालीको संख्या पछिल्ला दिनमा दैनिक १ सयभन्दा कम छ । नेपालबाट भारततर्फ जानेको संख्या पनि दैनिक ५०/६० छ । भन्सारमा जाँचपास र अन्य कामले नेपाल आउने भारतीयको संख्या पहिलाकै तुलनामा सरदर दैनिक एक सयको हाराहारीमा रहेको प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए ।

-माधव ढुंगाना (भैरहवा), नवीन पौडेल (नवलपरासी पश्चिम), मनोज पौडेल (कपिलवस्तु) र कमल पन्थी (बर्दिया)

प्रकाशित : भाद्र ८, २०७७ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?