१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

प्रहरीमा हरेक दिन २३ जना हाराहारीलाई कोरोना

काठमाडौँ — देशभर ४० भन्दा बढी जिल्लामा निषेधाज्ञा कार्यान्वयन गराउन खटिएका नेपाल प्रहरीमा पछिल्लो १८ दिनमा कोरोना संक्रमणको ग्राफ ह्वात्तै बढेको छ । संक्रमण हुने प्रहरीको संख्या १ सय ५९ बाट ५ सय ८३ पुगेको छ । यो आँकडाअनुसार औसतमा प्रत्येक दिन २३ प्रहरी कोरोना संक्रमित भइरहेका छन् । तीव्र संक्रमणबीच प्रहरीको ड्युटी समय पनि बढेको छ ।

प्रहरीमा हरेक दिन २३ जना हाराहारीलाई कोरोना

प्रहरीमा कोरोना संक्रमण कसरी बढ्दै छ भनेर बुझ्न झन्डै एक महिनाको पछिल्लो तथ्यांक काफी छ । साउन ११ मा कोरोना संक्रमण भएर उपचार गराइरहेका प्रहरीको संख्या २४ मात्रै थियो । आठ दिनपछि अर्थात् साउन १९ मा यो संख्या बढेर १ सय ५९ पुग्यो भने त्यसयताको १८ दिनमा अर्थात् शुक्रबारसम्म उपचाररत संक्रमित प्रहरीको संख्या ५ सय ८३ पुगेको छ । प्रहरीभन्दा नागरिकसँग कम सम्पर्कमा रहने भएकाले होला सशस्त्र प्रहरीमा भने कोरोना संक्रमणको दर कम देखिन्छ । साउन ११ मा देशैभरि २६ सशस्त्र प्रहरी कोरोना संक्रमण भएर उपचाररत थिए । भदौ ५ मा सक्रिय संक्रमितको संख्या २ सय २४ पुगेको छ । अर्थात् २६ दिनको अवधिमा औसतमा दिनहुँ ७ जनाभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ ।

देशव्यापी रूपमा कोरोना संक्रमण तीव्र बन्दै जाँदा प्रदेश २ र ५ का प्रहरीमा संक्रमणको दर सबैभन्दा उच्च देखिएको छ । साउन १९ मा प्रदेश २ मा १२ जना मात्रै संक्रमित प्रहरी उपचाररत थिए भने प्रदेश ५ मा ४ जना । १८ दिनपछि अर्थात् शुक्रबार उपचाररत संक्रमित प्रहरीको संख्या ह्वात्तै बढेर प्रदेश २ मा १२८ जना र प्रदेश ५ मा ७९ पुगेको छ । संकलित तथ्यांक विश्लेषण गर्दा प्रदेश २ मा पछिल्लो १८ दिनमा प्रत्येक दिन औसत ६ जनाभन्दा धेरै प्रहरी संक्रमित भइरहेका छन् ।

प्रदेश २ का डीआईजी धीरजप्रताप सिंहले प्रहरीमा संक्रमण दर तीव्र देखिएकाले दैनिक ड्युटी समय पनि १२ देखि १४ घण्टाबाट बढाएर १६ देखि १८ घण्टा पुर्‍याइएको बताए । प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला दिनमा संक्रमित प्रहरीको संख्या मात्रै बढेको छैन, लक्षणसहितका संक्रमित प्रहरीको संख्या पनि देखिन थालेको छ । शनिबारसम्म प्रदेश २ मा संक्रमित दुई प्रहरीको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रहरीमा संक्रमणको दर अन्यमा भन्दा प्रदेश २ मा बढी किन देखियो त ? डीआईजी सिंहले खुला सिमाना भएका कारण भारतबाट लुकीछिपी आउने लागूऔषध तस्करहरू र यसका सेवनकर्तालाई पक्राउ गर्दा उनीहरूबाट धेरै प्रहरी संक्रमित हुनुपरेको बताए ।

प्रदेश २ को थुनुवा कक्षामा रहेका थुनुवा कोरोना संक्रमित भएका छन् । संक्रमित थुनुवाहरूसँग बयान लिँदा, अदालतमा पुर्‍याउँदा र तिनको व्यवस्थापनमा खटिँदा पनि प्रहरी संक्रमित भइरहेका छन् । डीआईजी सिंहले संक्रमित थुनुवामध्ये अधिकांश लागूऔषध सेवनकर्ता वा कारोबारीहरू भएको बताए । प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार लकडाउन खुला गरिएपछि र नागरिकता विधेयक जारी भएपछि प्रदेश २ का विभिन्न ठाउँमा राजनीतिक दलहरूकै अगुवाइमा विरोध जुलुस, धर्ना र प्रदर्शनहरू भएका थिए । यस्तो विरोध र धर्नामा प्रहरी खटिनुपर्ने भएकाले त्यहाँबाट पनि प्रहरीमा संक्रमण सरेको हुन सक्ने आकलन गरिएको छ । डीआईजी सिंहले संक्रमणको दर बढेसँगै जगेडा प्रहरी राख्न थालिएको बताए । उनले भने, ‘थोरै संख्याले धेरै समय र धेरै क्षेत्रफल हेर्नुपर्ने गरी ड्युटीमा खटिँदा कामको प्रेसर बढ्दै गएको छ ।’


कोरोना संक्रमित भएका प्रहरीको पछिल्लो १८ दिनको तथ्यांक केलाउँदा प्रदेश ५ मा औसत ४ जना प्रहरी प्रत्येक दिन संक्रमित भइरहेको देखिन्छ । गत साउन १९ गते यस प्रदेशमा जम्मा ४ जना प्रहरीमा संक्रमण देखिएको थियो । त्यो संख्या ह्वात्तै बढेर शनिबारसम्म ७९ पुगेको छ । जसमध्ये ९ जनाले प्रदेशकै विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने अन्य प्रहरी सेल्फ आइसोलेसनमा छन् । प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजकुमार बैदवारले प्रहरीमा कहाँबाट कसरी संक्रमण बढ्यो भनेर चिकित्सकले भन्ने कुरा भएको बताए । उनले प्रहरी नागरिक तहसम्मै जोडिएर काम गर्ने, गस्ती र पेट्रोलिङमा नियमित खटिने भएकाले संक्रमण बढेको हुन सक्ने बताए । उनले भने, ‘प्रहरीमा संक्रमण बढेसँगै ड्युटीमा खटिने प्रहरीको समूह र सिफ्ट विभाजन गर्न थालिएको छ ।’ संक्रमणको जोखिम कम गर्न सरुवा भएर जाने वा संक्रमितको सम्पर्कमा आएका प्रहरीलाई भने क्वारेन्टाइनमा राखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारसम्म ८ सय ५७ प्रहरी क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये सबैभन्दा बढी उपत्यकामा ४ सय ६ र प्रदेश १ मा २ सय ३१ छन् ।

प्रहरी प्रधान कार्यालयबाट प्राप्त तथ्यांकअनुसार गण्डकीबाहेक सबै प्रदेशका प्रहरीमा संक्रमणको दर बढ्दो छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले आमनागरिकसँगै रहेर कार्यक्षेत्रमा खटिनुपर्ने कारण जोखिमबाट प्रहरी बाहिर हुनै नसक्ने बताए । उनले संक्रमण विस्तारकै कारण केही युनिट सिल गरिएको बताउँदै प्रहरीमा मास परीक्षणको खाँचो रहेको बताए । भने, ‘आइसोलेसनमा र क्वारेन्टाइनमा बस्ने प्रहरीको संख्या बढ्दै जाँदा कामको लोड अन्य प्रहरी जनशक्तिमा बढ्न थालेको छ । तर हामी त्यसको व्यवस्थापन गर्दै सेवा दिइरहेका छौं ।’

सशस्त्रमा पनि बढ्दै

कोरोना संक्रमण सुरु भएपछि सीमा क्षेत्रमा बढी सक्रिय रहेको सशस्त्र प्रहरीमा संक्रमणको संख्या बढ्दै गएको छ । सशस्त्र प्रहरीका यूएन मिसनमा रहेका १८ सहित १ सय ५४ जना संक्रमणमुक्त भइसकेका छन् भने २ सय २४ जना उपचार गराइरहेका छन् । त्यस्तै क्वारेन्टाइनमा रहेका सशस्त्र प्रहरीको संख्या पनि करिब ६ सय हाराहारीमा देखिन्छ । सशस्त्र प्रहरीमा सबैभन्दा धेरै वाग्मती प्रदेश (उपत्यकाबाहेक) मा ५३ जना सक्रिय संक्रमित छन् । त्यस्तै उपत्यकामा रहेको पशुपतिनाथ बाहिनीअन्तर्गतका ४७ जना सशस्त्र प्रहरी पनि सक्रिय संक्रमित छन् । प्रदेश १ मा ३१, प्रदेश २ मा ४९, प्रदेश ५ मा ४१ र कर्णाली प्रदेशका ३ सशस्त्र प्रहरी संक्रमणका कारण उपचार गराइरहेका छन् ।

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले संक्रमितको संख्या बढ्दै जाँदा सक्दो सावधानी अपनाएर फौजलाई कार्यक्षेत्रमा परिचालन गरिएको बताए । उनले विद्यमान संक्रमणलाई ख्याल गरेर थोरै जनशक्तिबाट धेरै जिम्मेवारीको नीतिअनुसार जनशक्ति परिचालन गरिएको बताए । सशस्त्र प्रहरीले ब्यारेक नै सिल गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै देशका विभिन्न गण, गुल्म र तालिम केन्द्रमा ४ हजार २ सयभन्दा बढी जनशक्तिलाई रिजर्भमा राखेको छ । प्रवक्ता अर्यालले भने, ‘आइसोलेसन बनाइएका स्थानलाई रेड जोन, क्वारेन्टाइन रहेका स्थानलाई यल्लो जोन र क्वारेन्टाइन र आइसोलेसनमा कोही नभएको क्षेत्रलाई ग्रिन जोनमा वर्गीकरण गरेर सावधानी अपनाइएको छ । संक्रमित जनशक्ति उपचारका क्रममा रहँदा उनीहरूबाट भइरहेका कामकारबाही नजिकैका युनिटको पनि सहयोग लिएर अघि बढेका छौं ।’

प्रकाशित : भाद्र ७, २०७७ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?