कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

सैनीबजारका ११ जना अझै बेपत्ता

मेनुका ढुंगाना

अछाम — रामारोशन गाउँपालिका–५ सैनीबजारमा व्यापार गरिरहेका ४५ वर्षीय नन्दसिंह साउदसमेत उनको परिवारलाई मंगलबार मध्यरातमा कैलाश खोलामा आएको बाढीले बगायो ।

सैनीबजारका ११ जना अझै बेपत्ता

उनकी श्रीमती गंगा, जेठो छोरा रूपेश, बुहारी कविता, कान्छो छोरा नवीन, सासू बिमादेवी, दिदी जोगादेवी र नातिनी प्राप्तिलाई बाढीले घरसहित बगाएको थियो ।

उनीहरूमध्ये हालसम्म नवीन र कविताको मात्रै शव भेटिएको छ । ‘बिहे भएकी जेठी छोरी कौशिला पनि माइतीमै बस्थिन् । त्यो दिन मात्रै आफ्नो घर गएकाले बाँचिन्,’ नन्दसिंहका आफन्त कम्मानसिंह साउदले भने, ‘कान्छी छोरी सनानी गाउँमा बाजेबज्यैलाई भेट्न गएकीले जोगिइन् ।’ नन्दसिंहले हालै मात्र धेरै लगानी गरेर घर बनाएका थिए ।

कम्मानसिंहका अनुसार सैनीबजारका अर्का व्यापारी अम्बर शाहसहित श्रीमती पवित्रा र छोरा समीरलाई पनि बगाएकामा अम्बरको मात्रै शव भेटिएको छ । माइती गाउँमै आएर व्यवसाय गरिरहेकी अम्बरकी दिदी लालसरा शाही र भान्जा वसन्त शाही पनि कैलाश खोलामै बगेका थिए । लालसराको भने शव भेटिएको अछाम प्रहरीले जनाएको छ । खोलाले बगाएका स्थानीय चन्द्र साउद र उनकी श्रीमती वसुदेवीमध्ये चन्द्रको शव दर्नामा भेटिएको छ । अर्का स्थानीय व्यापारी हिक्मत शाहका दुई श्रीमतीमध्ये कान्छी श्रीमती गौरीको शव फेला पारिएको छ । ‘म सामान्य घाइते भएको छु । गौरी गर्भवती थिइन् । जेठी श्रीमती सम्झना अहिलेसम्म बेपत्ता छिन्,’ हिक्मतले भने, ‘अब बेपत्ता भेटिने, शव पाइने आशा मर्न लागिसक्यो । दैवले मलाई एक्लो बनायो ।’

मंगलबार रातिको बाढीले सैनीबजारका २२ घर बगाउँदा ४ परिवारका १७ जना बेपत्ता भएका थिए । बुधबार ६ जनाको शव भेटिए पनि अझै ११ जना बेपत्ता रहेका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । उनका अनुसार सैनीबजारका १८ परिवारसहित कैलाश खोलाकै बाढीले मुजाबगर, गजड, खालबजार, पुलबजारलगायतका ठाउँका धेरै परिवार विस्थापित भएकाले व्यवस्थापन गर्न समस्या भइरहेको छ । पहिरोले खोलाको मुहान थुनिएको र एक्कासि खुल्दा ठूलो बाढी आएको हुन सक्ने उनको आकलन छ । ‘पहिरोले मुहान थुनिँदा सैनीबजारका घर/पसल बाढीले बगाएर बिचल्ली भयो । अहिले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली घटनास्थलमा खटिरहेको छ । विस्थापित र क्षतिको यकिन विवरण आउन सकेको छैन,’ उनले भने ।

विस्थापित परिवारका लागि तत्कालै गाउँपालिकाले राहतको व्यवस्था गरेको प्रजिअ उपाध्यायले बताए । उनका अनुसार भेटिएकामध्ये ५ वटा शव जिल्ला अस्पताल मंगलसेनमा राखिएको छ । एक जनाको शवलाई भेटिएकै ठाउँबाट आफन्तको जिम्मा लगाइएको छ । ‘रामारोसन क्षेत्रमा भएको क्षतिको यकिन विवरण संकलन गरिरहेका छौं । घाइतेको उपचार, पीडितलाई राहत र विस्थापितलाई पुनःस्थापना गर्नतर्फ लागेका छौं,’ उनले भने ।

प्रकाशित : भाद्र ५, २०७७ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?