कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एम्बुलेन्स भाडा दुई हजार तिर्न नसक्दा महिलाको मृत्यु

रक्तस्राव नरोकिएपछि जिल्ला अस्पतालबाट नेपालगन्ज रेफर गरिएकी उनी घर फर्किएकी थिइन् ।
कमल पन्थी

बर्दिया — अत्यधिक रक्तस्रावले गुलरिया नगरपालिका–५ की ३२ वर्षीया महिला गुड्डी पालको घरमै मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकले नेपालगन्ज रेफर गरेका थिए । परिवारले एम्बुलेन्स खर्च बेहोरेर नेपालगन्ज लैजान नसक्दा बुधबार ज्यान गएको हो ।

एम्बुलेन्स भाडा दुई हजार तिर्न नसक्दा महिलाको मृत्यु

गुलरियाबाट नेपालगन्जको दूरी ३६ किलोमिटर छ । निषेधाज्ञाले अहिले सार्वजनिक यातायात सञ्चालनमा छैनन् । यहाँबाट नेपालगन्ज बिरामी पुर्‍याएबापत एम्बुलेन्सले अक्सिजनसहित २ हजार २ सय र अक्सिजनबिना २ हजार रुपैयाँ लिने गर्छ । अस्पताल परिसरकै एम्बुलेन्स चालकलाई आग्रह गरे पनि रकम नभएको बुझेपछि पुर्‍याउन नमानेको परिवारका सदस्यले बताए । त्यसपछि उनी अटो रिक्सामा घर फर्किएकी थिइन् । एक साताअघि पालको ६ महिनाको गर्भ खेर गएको थियो । त्यसपछि रगत बग्न थामिएको थिएन ।

तीन दिनअघि उनलाई अस्पतालमा भर्ना गरिएको श्रीमान् मैंकुले बताए । उनले मजदुरी गरेर गुजारा गर्दै आएका थिए । लकडाउन भएपछि काम पाएका थिएनन् । आफ्नै घर नभएकाले भाडामा बस्दै आएका छन् । ‘उनीहरू हाम्रै टोलमा भाडामा बस्छन्,’ स्थानीय अजितकुमार श्रीवास्तवले भने, ‘महिलाको अवस्था देखेपछि उपचारका लागि गाउँलेले ५ हजार रुपैयाँ संकलन गरेका थियौं ।’ तर, स्थानीयले सहयोग जुटाएकै दिन पालको मृत्यु भएको उनले बताए ।

परिवारले अस्पतालमा रगत परीक्षण गरेको दुई सय र औषधि खरिदबापतको १ हजार ९ सय ७० रुपैयाँ पनि तिर्न सकेका थिएनन् । रेफर गर्ने बेलामा चिकित्सकले उक्त खर्च निःशुल्क लेखिदिएको मैंकुले बताए । ‘एम्बुलेन्स चालकले सित्तैमा लानुपर्ने

भएपछि कोरोना लागेकालाई बोक्दिनँ भने,’ बिहीबार मैंकुले कान्तिपुरसित भने, ‘त्यसपछि घर ल्याएँ ।’

अत्यधिक रक्तस्राव र गर्भ अवधि पूरा नहुँदै बच्चा खेर गएकाले पाल निकै कमजोर भएको आफन्तले बताए । उनले खान पनि छाडेकी थिइन् । उनी टोलका विभिन्न घरमा भाँडा माझ्ने काम गर्थिन् । कोरोना संक्रमण भएपछि काम छुटेको थियो । लामो समयदेखिको लकडाउनले मैंकुले पनि मजदुरी गुमाएकाले आम्दानी स्रोत थिएन । मृतकका श्रीमान् मैंकुले छाक टार्न समस्या भएकाले नेपालगन्जमा गएर उपचार गर्नुभन्दा घरमै बसेर निको हुने विश्वासले डेरामा आएको बताए । उनका एक छोरा र दुई छोरी छन् ।

‘गुड्डीसित १३ वर्षको उमेरमा विवाह गरेको थिएँ,’ मैंकुले भने, ‘त्यसको एक वर्षमा छोरी जन्मिई ।’ जेठी छोरीको १६ वर्षको उमेरमा विवाह भइसकेको उनले बताए । माइली छोरी र ७ वर्षका छोरा सँगै छन् । महिनाको १५ सय रुपैयाँ कोठा भाडा तिरेर बसिरहेको मैंकुले बताए । उनीहरूको रेखदेखको अभिभारा बाबुको काँधमा आएको छ । तर, मजदुरी नगरी छाक नटर्ने भएकाले उनी समस्यामा परेका छन् । ‘पहिले कोरोनाले काम खोस्यो,’ मैंकुले भने, ‘अहिले श्रीमती पनि लग्यो ।’

जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुभाष पाण्डेयले दुई दिनसम्म अस्पतालमा उपचार गरिए पनि रक्तस्राव नरोकिएपछि उनलाई नेपालगन्ज रेफर गरिएको बताए । ‘नेपालगन्ज जाने भन्दै हिँडेकी महिलाको मृत्यु कहाँ भयो थाहा भएन,’ उनले भने, ‘घरमा मृत्यु भएको जानकारी आएपछि स्वाब परीक्षण गर्न लगाएका हौं ।’ प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बुधबार साँझ पीसीआर रिपोर्ट नेगेटिभ आएको बताए । उनी केही समयअघि भारतमा रहेको आफन्तको घरमा गएकी थिइन् । भारतबाट फर्किएकी उनलाई गत जेठमा १५ दिन गुलरियास्थित बगलामुखी राधाकृष्ण माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो । त्यसपछि घरमा पतिसँगै थिइन् । उनको बिहीबार दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित : भाद्र ५, २०७७ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?