कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

डायलसिस नपाउँदा छटपटिएर ज्यान गयो

‘चिनेजानेका नेता, ठूलाबडा आफन्तलाई फोनमा गुहारें । डाक्टरको खुट्टा ढोगेर उपचार गरिदिन आग्रह गरेँ । तर कसैको मन पग्लेन ।’
अजित तिवारी

जनकपुर — जीउ सुन्निएर उभिन सक्ने अवस्था थिएन । थलिएको शरीरलाई आमाबुबाले काँधको सहारा त दिन्थे तर बोझिलो शरीर थाम्नै हम्मे पर्थ्यो । जीउ तलतिर तन्क्याउँदै उनी चिच्याउँथे, ‘आह...!’ त्यो चिच्याहटले आमाबुबाको आँखा रसाउँथ्यो ।

डायलसिस नपाउँदा छटपटिएर ज्यान गयो

छटपटी बढेपछि धनुषाको सबैला नगरपालिका–२ का ३२ वर्षीय प्रमोद महतोलाई गत मंगलबार दिउँसो एम्बुलेन्समा जनकपुरस्थित प्रादेशिक अस्पतालमा डायलसिस गराउन ल्याइयो । दायाँतिर बुबा जोगेन्द्र र बायाँतिर आमा रामकुमारीको सहारामा उभिएका प्रमोदले निकैबेर डाक्टरको प्रतीक्षा गरिरहे । तर न कुनै स्वास्थ्यकर्मी आए, न त डाक्टर नै देखिए । ‘डायलसिस गर्न आग्रह गर्दा स्वास्थ्यकर्मीहरू आफ्नो ड्युटी सकिन लागेको भन्दै तर्किए,’ बिरामीको उपचारमा सहयोग गर्न पुगेका बीपी साहले भने, ‘त्यसपछि अस्पतालका चिकित्सक जामुन सिंहलाई आग्रह गर्‍यौं । उनले पनि डायलसिस विभाग प्याक रहेको र थपको उपचार हुन नसक्ने बताए ।’

डायलसिसका लागि करिब ४ घण्टा अस्पतालको चक्कर काटिरहँदा प्रमोद भने आमाबुबाको काँधमै छटपटाउन थालिसकेका थिए । जनकपुरस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नागेन्द्र यादवसँग बुझ्दा उनले पनि डायलसिस विभागका स्टाफ र चिकित्सकले भनेझैं उपचारका लागि अन्तै लैजान सुझाए । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलसिसका लागि लैजाँदै गर्दा बुधबार दिउँसो सिरहाको गोलबजार पुग्दा छटपटीकै क्रममा प्रमोदले अन्तिम श्वास फेरे । उनका बुबाका अनुसार मंगलबार ३ बजे प्रादेशिक अस्पताल पुगेर साँझसम्म डायलसिसका लागि आग्रह गर्दा पनि कसैले वास्ता गरेनन् ।

‘चिनेजानेका नेता, मेयर, ठूलाबडा आफन्त सबैलाई फोनमा गुहारें । सबैतिरबाट फोन आउँदा पनि अस्पतालले डायलसिस गर्न मानेन,’ उनले भने, ‘छोराको पीडा देखेर मन भक्कानिन्थ्यो । म रोएँ भने उसले हिम्मत हार्ला भनेर धैर्य गर सब ठीक हुन्छ भन्थें । डाक्टरको खुट्टा ढोगेर उपचार गरिदिन आग्रह गर्‍यौं । तर कसैको मन पग्लेन ।’

ललितपुरस्थित मेडिसिटी अस्पतालमा एक वर्षअघि उपचार गराउँदा प्रमोदको मिर्गौलामा समस्या देखिएको थियो । काठमाडौंमै एक निजी बैंकमा काम गर्ने उनले त्यसपछिको उपचार र डायलसिस काठमाडौंमै गराइरहेका थिए । त्रिवि शिक्षण अस्पतालमा साताअघि उपचार गराएर जनकपुरमा पनि डायलसिस हुन्छ भन्ने बुझेर उनी गाउँ फर्किए । ‘काठमाडौंमा डाक्टरले अझै केही दिन डायलसिस गर्नुपर्छ भनेका थिए,’ प्रमोदकी फुपू ललितादेवी महतोले भनिन्, ‘तर उसले घर जाने जिद्दी गरेपछि सबैला ल्याइयो ।’ बिरामकै तनावले प्रमोदले बैंकको जागिर पनि छाडिसकेका थिए । ‘तिघ्रासम्म सुन्नियो । पेट डम्म फुलेर खाना रुच्न छाड्यो,’ ललिताले भनिन्, ‘पछि हात पनि सुन्निएर स्थिति जटिल बन्यो । निषेधाज्ञाले बाहिर लैजान सम्भव थिएन । प्रादेशिक अस्पतालले पनि फर्काइदिएपछि उपचारै नपाएरै बिचराले प्राण त्याग्यो ।’

घर फर्काउन उस्तै सास्ती

मंगलबार करिब ४ घण्टा प्रादेशिक अस्पतालमा डायलसिसका लागि चक्कर काटेका प्रमोदका परिवारले उपचारैबिना घर फर्काउन पनि धेरै ठाउँमा हात जोड्नुपर्‍यो । प्रमोदलाई आमाको जिम्मा लगाएर बुबा जोगेन्द्र एम्बुलेन्स खोज्न हिँडे । अस्पताल वरिपरि एम्बुलेन्सको लाइन भए पनि कुनै चालक बोक्न तयार भएनन् । एम्बुलेन्सले नमानेपछि उनी भाडाका गाडी खोज्न थाले । भाडाका गाडीले पनि प्रमोदलाई जनकपुरभन्दा २१ किलोमिटर पूर्वको सबैलासम्म लैजान तयार भएनन् । बल्ल, एउटा सिटी रिक्सावाला तयार भए । गम्भीर अवस्थामा प्रमोदलाई त्यही रिक्सामा राखेर सबैला लगियो ।

घर लगेपछि उनको अवस्था झन् बिग्रियो । छिमेकीको सहयोगमा बुधबार दिउँसो २ बजेतिर एम्बुलेन्समा धरान लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भयो । प्रमोदका दुई भाइ वैदेशिक रोजगारीमा दुबई छन् । एक बहिनी घरमै बस्छिन् ।

अस्पताल भन्छ– ‘बलपूर्वक उपचार लिन खोजे’

प्रादेशिक अस्पताल जनकपुरको प्रशासन विभागले प्रमोदलाई डाइलसिस वार्डमा बलपूर्वक उपचार गराउन खोजेको आरोप लगाएको छ । बिरामीले उपचारसम्बन्धी कुनै कागजात नल्याएको र अस्पतालमा उनको डायलसिससमेत नभएको अस्पतालको भनाइ छ । उपचारका लागि जाँचको रिपोर्ट लिएर आउनु भन्दा जानकारी नदिई अन्यत्र लगेको अस्पतालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘मिर्गौलामा समस्या भएर प्रमोदलाई मंगलबार अस्पतालको इमर्जेन्सी वार्डमा ल्याइएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछि बलपूवर्क डायलसिस वार्डमा बिरामीलाई राखियो । डाक्टरले जाँच गरेर डायलसिस तथा उपचारका लागि आवश्यक जाँच ब्लड टेस्ट, सीबीसी, आरएफटी, चेस्ट एक्सरे, युरिन रे ल्याउन भन्दा जानकारी नदिई अन्यत्र लगियो ।’

डायलसिस वार्ड अत्यन्तै व्यस्त रहेको र बेडको सीमितताका कारण ४० जना बिरामी प्रतीक्षा सूचीमा रहेकोसमेत विज्ञप्तिमा उल्लेख छ । अस्पतालमा हाल ४ वटा मात्र डायलसिस शय्या चालु अवस्थामा छन् । यसअघि १० वटा डायलसिस शय्या रहेकामा ६ वटा बिग्रेका छन् ।

प्रकाशित : भाद्र ५, २०७७ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?