१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

काठमाडौं महानगरमा टोलैपिच्छे संक्रमित

सम्बन्धित निकायहरूबीच समन्वय नहुँदा जोखिम बढ्दो

काठमाडौँ — काठमाडौं महानगरपालिकामा हरेक दिन डेढ सयभन्दा बढी कोभिड–१९ संक्रमित थपिइरहेका छन् । देशभर बिहीबार ७ सय ७ जनामा संक्रमण पुष्टि हुँदा काठमाडौं जिल्लाका मात्र १ सय ७४ जना थिए ।

काठमाडौं महानगरमा टोलैपिच्छे संक्रमित

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, काठमाडौं महानगरपालिकास्थित जनस्वास्थ्य महाशाखा, वडाका स्वास्थ्य शाखाबीच प्रभावकारी समन्वय हुन नसक्दा कोरोना संक्रमितहरूको पहिचान र व्यवस्थापन राम्ररी हुन सकेको छैन ।

वडा कार्यालयहरूको पछिल्लो तथ्यांकअनुसार काडमाडौं महानगरमा मात्र ८ सय ८ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये होम आइसोलेसनमा ३ सय ५३ जना, अस्पताल ३ सय ४० जना र होटलमा ५ जना छन् ।

९४ जना भने निको भएर घर फर्किसकेका छन् भने ८ जनाको मृत्यु भएको छ । वडा नम्बर–१२ का ४ र वडा नम्बर १, ७, १५, २३ का एक/एक गरी ८ जना सम्पर्कविहीन छन् । तर महानगरमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र ठूला अस्पताल तथा निजी अस्पतालको विवरण आउँदैन ।

‘सर्वोच्च अदालत, नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत कार्यालयहरूमा परीक्षण गरिएका छन्, यसरी गरिएका परीक्षणमध्ये केहीको संख्या महानगरलाई उपलब्ध गराइएको छ भने केहीको संख्या प्राप्त हुन सकेको छैन,’ महानगरका जनस्वास्थ्य महाशाखाका वरिष्ठ निरीक्षक ज्ञानबहादुर ओलीले भने, ‘त्यसैले कोरोना संक्रमितको तथ्यांकमा फरक आउने गरेको छ ।’

महानगरकी स्वास्थ्यकर्मी यशोदा केसीका अनुसार नरदेवी क्षेत्र ओगटेको वडा नम्बर १८ मा भने हालसम्म कोरोना संक्रमित भेटिएका छैनन् । वडा नम्बर ३२ मा सबैभन्दा बढी ९१ जना संक्रमित देखिएका छन् । वडा नम्बर ३२ स्थित असर्फी टोलमा मात्रै ३५ जनाभन्दा बढी संक्रमित रहेको वडाकी स्वास्थ्यकर्मी मैया सैंजुले बताइन् ।

वडा नम्बर ३२ का तीनकुने, कोटेश्वर, नरेफाँट, महादेवस्थान, जडिबुटीका हरेक टोलमा संक्रमित छन् । भीमसेनस्थान क्षेत्रको वडा नम्बर २० मा २ जना मात्र संक्रमित भेटिएका छन् । स्वास्थ्यकर्मी शारदा थापाका अनुसार ती दुई जनामध्ये एक जना होम आइसोलेसनमा छन् भने एक जना निको भइसकेका छन् ।

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि लकडाउनमा केही नगरपालिकाले क्वारेन्टाइन र आइसोलेसन बनाएका थिए । काठमाडौं महानगरपालिकाले भने क्वारेन्टाइन बनाएको थिएन । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएसँगै काठमाडौं महानगरपालिका तथा उपत्यकाका मेयरहरूको सञ्जाल नगरपालिका फोरमले एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन बनाउने निर्णय गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले तेस्रो मुलुकबाट आउन सक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी उपत्यकास्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्न जुटिरहेको उल्लेख गरेका छन् । उपत्यका नगरपालिका फोरमका अध्यक्षसमेत रहेका मेयर शाक्यले संघ, प्रदेश र उपत्यका नगरपालिकाहरूको समन्वयमा आगामी एक साताभित्र करिब ५ हजार क्षमताको एकीकृत आइसोलेसन निर्माण गर्ने दाबी गरेका छन् ।

महानगरपालिकाले अहिले १० वटा टोली बनाएर कन्ट्याक्ट ट्रेसिङ गरिरहेको छ र हालसम्म ३२ वटै वडामा एक हजार ७ सय ९५ जनाको पीसीआर परीक्षण भइसकेको महानगरपालिकाले जनाएको छ ।

प्रकाशित : भाद्र ४, २०७७ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?