बाढीले बगायो सैनीबजारका २२ घर 

मेनुका ढुंगाना

सैनीबजार, अछाम — राति मुसलधारे वर्षा भइरहेको थियो । रामारोशन गाउँपालिका–५ को लघु जलविद्युत् पावर हाउसमा अपरेटर ५० वर्षीय दीर्घराज शाह मंगलबार पनि सधैंझै आफ्नो काम सकेर राति १० बजे घर पुगे ।

बाढीले बगायो सैनीबजारका २२ घर 

सैनीबजारस्थित घरमा उनका भाइ, बुहारी, बहिनी, भान्जा, भतिजा गरी ६ जना सँगै बस्थे । उनी भने बजारभन्दा माथिको घरमा बस्थे । कार्यालयबाट फर्केपछि बजारको घरमा बस्ने परिवारसँग भेट गरेर माथिल्लो घर गए ।

‘मध्यराति १२ बजे एक्कासि गड्याङगुडुङ भयो । जमिन पूरै हल्लियो । कहाँ के भयो थाहा भएन । मेरा ६ जनाको परिवारलाई घरैसहित खोलाले बगायो,’ शाह भन्छन्, ‘चिच्यायौं । करायौं र वरिपरिका आफन्तलाई खबर गर्न गयौं । त्यहाँ कोही बाँकी थिएनन् । सबैलाई घरसँगै कैलाश खोलाले बगाइसकेको रहेछ ।’ बुधबार दिउँसो घटनास्थल पुग्दा उनी कैलाश खोलालाई हेरेर टोलाइरहेका भेटिए । ‘पूरै घर बगायो । अहिले हेर्दा यहाँ पहिले घर कहाँ थियो पनि खुट्याउन नसकिने भएको छ,’ उनले भने, ‘अहिलेसम्म केही अत्तोपत्तो लागेको छैन, हाम्रो बिचल्ली भयो ।’ सैनीबजार पसेको कैलाश खोलाको बाढीले शाहको परिवारसँगै २२ घर बगायो । घटनामा परेका ११ जनाको अत्तोपत्तो छैन ।

रामारोशन गाउँपालिकाको अल्लेडी, खालबजार, मुजाबगर, गज्जडलगायतका बस्ती यसअघि नै बाढीको जोखिममा भए पनि सैनीबजारमा त्यस्तो जोखिम नठानिएको स्थानीय पूर्णबहादुर साउदले बताए । ‘कैलाश खोलाभन्दा सैनीबजार उचाइमा छ । यसरी बाढी आउला भनेर कल्पना पनि थिएन । अझै पनि बाढीले क्षतविक्षत बनायो भन्ने विश्वास गर्न सकिएको छैन,’ उनले भने ।

बाढीले दर्नाको पक्की पुलसमेत बगेको स्थानीय पुष्प विष्टले बताए । कैलाश खोलाको बाढीले छेउछाउका घर, पसल र खेत बगाएको उनले बताए । विष्टका अनुसार दर्नाको सबैभन्दा बढी धान उत्पादन हुने नगरर्नाको कोसेडा खेत बगर बनेको छ । ठाउँ ठाउँमा बाढीले सडक पनि बगाउँदा उद्धारकर्मी तत्काल पुग्न सकेनन् । सदरमुकाम मंगलसेनदेखि करिब ४० किमि पूर्वको घटनास्थलमा बुधबार दिउँसोमात्रै उद्धार टोली पुगेको थियो ।

नेपाली सेनाको हेलिकप्टरमा प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय नेतृत्वको टोली सैनीबजार पुगेको हो । घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि सेना, सशस्त्र र प्रहरी गरी दुई सय सुरक्षाकर्मीसहितको टोली परिचालन भएको प्रजिअ उपाध्यायले बताए । ‘सडक ठाउँ ठाउँमा कतै बगेको छ, कतै पहिरोले बन्द गरेको छ,’ उनले भने, ‘खोजी र उद्धारमा सडकमार्गबाट आउनै सम्भव थिएन ।’

रामारोशनमा बाढीले घरसँगै बगाएकामध्ये ६ जनाको शव बुधबार दिउँसो फेला परेको छ । ‘६ मध्ये ३ जनाको सनाखत हुन बाँकी छ । ११ जना अझै बेपत्ता छन् । खोजी जारी छ,’ डीएसपी योगेन्द्रसिंह थापाले भने । उनका अनुसार ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका–३ रलेको लमतणा र सेरीमा भेटिएको हो । मृत्यु हुनेमा सैनीबजारका १२ वर्षीया नवीन साउद, ३२ वर्षीया गौरी शाह र ४८ वर्षीया चन्द्र साउद छन् । अन्य तीन जनाको सनाखत हुन बाँकी छ ।

बाढीले सैनीबजारका २२ घर, रामारोशन क्षेत्रका ९ झोलुंगे पुल, एउटा पक्की पुल, गाउँपालिकाको एउटा एम्बुलेन्स, ५ वटा लघु जलविद्युत्का पावर हाउस र ४ वटा मोटरसाइकल बगाएको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदले बताए । ‘कैलाश खोला आसपासका खेतीयोग्य जमिन सबै बाढीले बगाएको छ । गाउँपालिका पूरै चिराचिरा भएको छ । ‘अझै क्षतिको सबै विवरण सबै आइसकेको छैन,’ उनले भने, ‘दर्ना पुलदेखि रामारोशनसम्म २५ ठाउँभन्दा बढी सडक बाढीले बगाएको छ ।’ विपद्मा परेका स्थानीयलाई अछाम रेडक्रसले राहत वितरण गरेको उनले बताए । कम्बल, त्रिपाल, भाँडावर्तन डोरीलगायतका सामग्री वितरण गरिएको छ ।

प्रकाशित : भाद्र ४, २०७७ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?