फूलको थुँगा बहेर गयो..

कविवर घिमिरेको अन्त्येष्टि आज राष्ट्रिय सम्मानका साथ
देवेन्द्र भट्टराई

काठमाडौँ — ‘म त पहाडको एउटा गाउँबाट उडेर तल 
झरेको सिमल भुवा हुँ । सेतो भुवाजस्तै मेरो नाम थियो सेते...’

फूलको थुँगा बहेर गयो..

हरेकपटक लैनचौरभित्रको घरआँगनमा पुगेर बातचित थाल्नासाथै कवि माधवप्रसाद घिमिरे आफ्नो ‘अतीत’ सुनाउन थाल्थे– मर्स्याङ्दीको फेरदेखि मनास्लु हिमशृंखलासम्मका कुरा । उनी भन्थे– ‘म त पहाडमा जन्मे–हुर्केको मान्छे । पहाडमा बतास र झरना सँगै हुन्छ । मलाई जीवनको अन्तिम घडीमा के चाहन्छस् भनेर तपाईं सोध्नुहुन्छ भने म त्यो घडीको कुरा अहिल्यै भन्न चाहन्छु– मलाई मेरो पुस्तुन पखेराको अलिकति हावा र मर्स्याङ्दीको दुई थोपा पानी कसैले ल्याइदिए ‘अहो’ भन्ने थिएँ होला ।’

लमजुङको, बाहुनडाँडा पुस्तुन गाउँमा जन्मे–हुर्केका कविले एक शताब्दी लामो जीवन यात्रालाई मंगलबार साँझ विश्राम दिएपछि उनका बारेमा भाषा–साहित्यका अध्येताले एउटा संज्ञा थपिदिएका छन्– नेपाली साहित्यको एकमात्र ‘शास्त्रीय विद्वान्’ को अन्त्य भएको छ । ‘स्रष्टा र साहित्य’ मा लेखक उत्तम कुँवरले कोरेको चित्रमा ‘कानभरि रौं, भित्र गडेको आँखामा चस्मा लगाएको, लामो नाक र लाम्चो अनुहार भएको मानिस तपाईंले कतै देख्नुभयो भने त्यो माधवप्रसाद घिमिरे नै हो’ भनेर बुझाउन खोजिएको छ । तर, समीक्षक अभि सुवेदीका बुझाइमा ‘उत्तुंग हिमालदेखि फूलको कोपिला र भँगेरासम्मको सदृश्य’ व्याख्यान गर्न सक्ने एक मात्र शास्त्रीय विद्वान्समेत हुन् घिमिरे ।

बाहुनडाँडा, खरबारीमा क, ख पढाउन आएका एक साधुबाबाले बालक ‘सेते’ को नाम बदलेर ‘माधवप्रसाद’ राखिदिएका थिए– कुनै चिना वा टिपनबिना । गाउँबाट संस्कृतमा लघुकौमुदी पढाइ पूरा गरेर एकैचोटि दरबार हाईस्कुलमा आएर उनी निम्न माध्यमिक तहमा भर्ना भएका थिए । ‘गाउँमा छँदै लेखनाथ भन्ने मान्छेको कविता भन्दै ‘पिँजडाका सुगा’ सुन्ने–सुनाउने गरिएको थियो, अरे बाफ रे ! मान्छेले पनि

यस्तो लेख्छ र भन्ने लाग्थ्यो,’ कान्तिपुरसँग २०७५ र २०७६ सालमा भएका थुप्रै पटकका ‘अन–रेकर्ड’ कुराकानीमा कवि घिमिरेले भनेका थिए– ‘पछि त्यही मर्स्याङ्दीको सुसेली र उतैको ध्वनिले छोपिएर म पनि कवि भएँ । अचम्म, धेरैले चिन्ने र सहजै बुझ्ने खालको चलेकै कवि पो भएँ ।’

काठमाडौं डेरामा बसिरहेकै बेला २००४ सालमा आफ्नी श्रीमती गौरीको निधन भएपछि ‘आँसुको मूल्य’ मा ‘गौरी’ शोककाव्य लेखेका घिमिरे सधैं–सधैं बहिरहेको खोलाझैं सबैले बुझ्ने र सुन्ने शैलीका कवि भएर निस्किए । ‘मेरो विशेषता छ– रहस्यवाद । यसमा लेखनाथलाई गुरु थापेको हुँ, लक्ष्मीप्रसादको ‘मुनामदन’ ले मलाई निकै छुने गरेको छ । अहिले पनि काव्य आफ्नो मुड र मुद्रा हेर्दै पढिरहन्छु,’ कविले भनेका छन्– ‘तर उहिलेदेखि अहिलेसम्मै मलाई चित्त नखाने भनेको गद्य कविता हो, लेखन र सिर्जनालाई ध्वस्त पार्ने काम पनि यही गद्य कविताले गरेको छ ।’

एकपटक गद्य कविताका नेपाली शिल्पी मोहन कोइराला नेपाल प्रज्ञा प्रतिष्ठानमा उपकुलपति थिए । त्यही बेला कवि माधव घिमिरेसँग एउटा कार्यक्रममा कवि कोइरालाको भेट भयो । घिमिरेको प्रश्न थियो– ‘लेखन दुर्बोध्य हुनुहुँदैन भनेर तपाईं नै भन्नुहुन्छ । फेरि त्यो ‘फर्सीको जरा’ के लेखेको ? तपाईंले नबुझिने मात्रै किन लेख्नुभएको हो ?’

कवि कोइरालाको जवाफ रहेछ– ‘मैले अहिलेलाई लेखेको होइन, ५ सय वर्षपछिलाई लेखेको हुँ ।’

‘यो तपाईंले भनेको ५ सय वर्षपछि त नेपाली भाषा र विश्वका अरू भाषा पनि यही रूपमा रहन्छन् कि रहँदैनन्, केही ठेगान छैन । तपाईंको कुरामा तागत छैन,’ घिमिरेको जवाफ थियो । उनले गद्यमा पनि लय चाहिन्छ भन्दै महाकवि देवकोटाको ‘जरुर साथी म पागल’ कविताको उदाहरण कोइरालालाई दिएर बाटो लागेका रहेछन् ।

नभन्दै घिमिरेले ‘मालती मंगले’ देखि ‘शकुन्तला’, ‘किन्नर किन्नरी’, ‘घामपानी’, ‘राजेश्वरी’, ‘राष्ट्रनिर्माता’, ‘चारुचर्चा’, ‘आफ्नो बाँसुरी आफ्नै गीत’ जस्ता कृतिमार्फत सबैले बुझ्ने सजिलो साहित्यको रसस्वादन गराइदिएका छन् । उनका ‘आजै र राति के देखें सपना’, ‘फूलको थुँगा बहेर गयो’, ‘नेपाली हामी रहौंला कहाँ’, ‘गाउँछ गीत नेपाली’, ‘सारंगी त रेटे पनि’ जस्ता गीतहरू जनमनमा भिजेका छन् ।

‘मैले गेय शैलीमा लेखेको मात्रै हुँ– नारायण गोपाल, नातिकाजी, अम्बर गुरुङ, तारादेवीजस्ता प्रतिभालाई मैले नचिनेको भए मेरा गीतहरू किताबका पानामै हुन्थे होलान्,’ कतिपय बेला विनयशील पनि लाग्थे घिमिरे ।

तर, ‘आजै र राति के देखें सपना’ मा मर्स्याङ्दी सुसाइरहेको प्रसंग आएपछि त्यो ध्वनि र शिल्पीमा अझै निखार थप्न हो अथवा गीतकारको कुरा नपत्याएर हो, नारायण गोपाल सरासर लमजुङ, खुदी हुँदै मर्स्याङ्दी किनारमा गएर एक रात बास बसेको सन्दर्भ पनि घिमिरे सुनाइरहेका हुन्थे ।

‘काठमाडौंको लोकल बासिन्दा न हो नारायण । उसलाई लागेछ, म कविले गफ दिएछु... त्यही भएर मर्स्याङ्दी पुगेको रहेछ । पछि पो थाहा भयो,’ उनले भनेका छन् ।

अर्को एक प्रसंगमा, ‘मालती मंगले’ नाटकमा संगीत भर्ने अम्बर गुरुङ र त्यसमा स्वर भर्ने नारायण गोपालबीच बोलचालै नरहेका बेला घिमिरेले ‘सेतु’ को काम गरेका रहेछन् । ‘मालती मंगले पनि हिट भयो, अम्बर, नारायण र मेरो सम्बन्ध पनि राम्रो भएर गयो,’ उनले भनेका छन् । यही ‘मालती मंगले’ नाटकको एक सय दिनको प्रदर्शनी सफलतापछि कवि घिमिरेले आफ्नो घरमा नारायण गोपाल र अम्बर गुरुङलाई लिएर गएका रहेछन्– रात्रिभोज खान । ‘त्यो बाहुन कविले आज तिमेरुलाई लमजुङबाट आएको पोखरेली जेठो बूढो चामलको भात र दूध खुवाउन घर लैजान लागेको भनेपछि नारायण र म जमल नपुग्दै तर्किएर बाटो लागेका थियौं,’ अर्को ‘अन–रेकर्ड’ मा अम्बरले सम्झेका थिए ।

कतिपय सन्दर्भ र राजनीतिक रूपमा फाइदा हुने कुरामा कवि घिमिरेले गर्ने गरेको टिप्पणी पनि नेपाली लेखकमाझ आलोचित हुन्थ्यो । जस्तो, राजा ज्ञानेन्द्रको शाही शासनमा त्यसको स्वागतमा बोलेपछि धेरैले कवि घिमिरेको आलोचना गरेका थिए । ‘मैले पनि एउटा भेटमा तपाईंसँग मेरो मन टाढिएको छ, ज्ञानेन्द्रको समर्थनमा बोल्नुभएछ नि ? भनेर सोधेको थिएँ,’ लेखक अभि सुवेदी सम्झिरहेका छन्– ‘तर वृद्ध कविको जवाफले म मौन रहें, कविको भनाइ थियो– म कवि हुँ, एकाएक उद्गार आइहाल्यो, व्यक्त गरें । नरिसाऊ न अभि ।’ आउने असोज ७ मा १०२ वर्ष प्रवेश गर्ने कवि घिमिरे पछिल्ला केही वर्षयता ‘ऋतम्भरा’ नामको महाकाव्य लेखनमा लागेका थिए ।

कवि घिमिरेका कान्छा छोरा राजीवका अनुसार यो महाकाव्य टुंगिनै लागेको अवस्थामा रहेको र यसलाई साफी गर्ने क्रममा पुगेको छ । कवि घिमिरेलाई २०७४ सालमा नेपाली सेनाको मानार्थ सहायक रथी उपाधि दिइएको थियो । छातीमा ‘इन्फेक्सन’ देखिएपछिको कठिनाइमा पछिल्लो १५ दिनयता उनी ओछ्यान परेका थिए ।

‘मलाई सधैंभर चिन्ता लाग्ने आजको विश्वको कुरा भनेको एउटै छ– अणु आतंक । यही आतंकलाई लिएर मैले ‘अश्वत्थामा’ लेखेको थिएँ,’ मैले गरेकामा पछिल्लो चित्त बुझ्ने काम यही हो, धेरैले बुझ्न नचाहे पनि,’ अनि कवि घिमिरे लय हालेरै सुनाउँथे– ‘यो वाण कसले छाड्यो देख्न सक्तैन कोही पनि, यो वाण जसले छाड्यो रोक्न सक्तैन त्यही पनि ।’

‘कर्मले होइन, सिर्जनाले मोक्ष मिल्छ’ भन्ने कवि घिमिरे जहिल्यै पनि लेखनमा एउटा निःसर्त ‘ध्वनि आउनुपर्छ, दृश्य झल्कनुपर्छ’ भनिरहेका हुन्थे । ‘म धेरै बाँचें कि यो युग बाँच्यो ?,’ उनको सधैंको शाश्वत सरोकार हुन्थ्यो– ‘मैले धुलौटे पाटीदेखि कम्प्युटरको पर्दासम्म देख्न पाएँ, ज्ञानदेखि विज्ञानसम्म देख्न पाएँ । मेरो भाग्य !’

र, लेखनमा ध्वनि र दृश्यको उदाहरण कस्तो हुन्छ भनेर जिज्ञासा राख्दा उनी हरेक पटकको भेटमा आफ्नो फरक–फरक पद्यांश उद्धृत गरिरहेका हुन्थे, त्यसमध्ये एउटा ‘ध्वनि र दृश्यजस्तो’ लेखोट थियो–

‘आजभोलि देख्तिन म तिनी कता गइन्

राति त्यतै सिरानी होस् तिनी जता गइन्... ।’

प्रकाशित : भाद्र ३, २०७७ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?