कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मर्स्याङ्दी नफर्की अस्ताए राष्ट्रकवि

आश गुरुङ

लमजुङ — ‘आजै र राति, के देखें सपना’ बोलको गीतमा एउटा लाइन छ, ‘मर्स्याङ्दी नदी नरमाइलो, सुसाई रहेको ......।’ राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको यो गीतमा स्वरसम्राट नारायण गोपालले स्वर भरे । त्यही मर्स्याङ्दी नदीको पानी खाएर हुर्किएका थिए राष्ट्रकवि घिमिरे ।

मर्स्याङ्दी नफर्की अस्ताए राष्ट्रकवि

आफ्नो थातथलो छोडेका उनी गाउँ फर्किंदा मर्स्याङ्दी सम्म भने पुग्न सकेनन् । मर्स्याङ्दी को पानी खाने एउटा ध्येय भने उनले करिब आधा दशकअघि पूरा गरे । तर, मर्स्याङ्दी फर्किने वाचा पूरा नहुँदै उनले मंगलबार अस्ताउँदो सूर्यसँगै धर्ती छाडे ।

०६३ माघमा करिब २१ वर्षपछि राष्ट्रकवि घिमिरे जन्मथलो मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडा (पुस्तुन) आएका थिए । राष्ट्रकविले त्यतिबेला बाल्यकालमा आफूले ऐंसेलु खाएका र गोठाला गएका ठाउँहरू घुमेका थिए । स्थानीय चन्द्रोदय माविको स्वर्ण महोत्सवमा आएपछि उनी आफ्नो जन्मथलो पुस्तुन बाहुनडाँडा आएका छैनन् । उनले फेरि एक पटक गाउँ आउने वाचा गरेको गाउँले अझै सम्झन्छन् । ‘एकफेर जसरी पनि गाउँ आउँछु भन्नुभएको थियो । पछि बिरामी पर्नुभयो । आउन सक्नुभएन,’ बाहुनडाँडा बस्ने उनका भाइ (सानोबुबाको छोरा) ७४ वर्षीय श्रीभद्र घिमिरेले भने, ‘अहिले दाइको खबर सुन्दा साह्रै नमज्जा लाग्यो ।’

राष्ट्रकवि घिमिरेका भतिज विष्णुराज घिमिरेका अनुसार विद्यालयको जन्मोत्सवका बेला बाहुनडाँडाबाट करिब १ घण्टा दूरी तल बेंसीसहर–चामे सडकमा पर्ने थाकन गाउँनजिकैबाट उनलाई बोकेर ल्याइएको थियो । ‘गत वर्ष मेदान्तमा उपचार गरेर फर्किएपछि हामी उहाँलाई भेट्न गयौं । म गाउँ आउँछु, मर्स्याङ्दी को पानी खान आउँछु भन्नुभयो । तर, उहाँको इच्छा पूरा हुन सकेन,’ उनले भने । घिमिरे ०६० मा पनि जिल्लामा आएका थिए । ०५९ असोज १० गते राष्ट्रकविको उपाधि पाएपछि देशभर रथारोहण गर्ने क्रममा उनी बेंसीसहर आएका थिए ।

१९७६ असोज ७ गते बुबा गौरीशंकर घिमिरे र आमा द्रौपतीबाट जन्मिएका राष्ट्रकवि घिमिरे कुसुमाखरका वंश हुन् । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक श्रीराम खड्काका अनुसार राष्ट्रकवि घिमिरे गाउँसहरस्थित लमजुङ माविका प्रथम प्रधानाध्यापक हुन् । ‘०३३ देखि ०४० सम्म मैले गाउँसहरमा पढें । उहाँ पहिलो प्रधानाध्यापक हुनुहुन्थ्यो । पाठहरू कविता शैलीमा पढाउनुहुन्थ्यो,’ उनले भने ।

मर्स्याङ्दी गाउँपालिका–३ तरापुका मेघेन्द्र पोखरेलका अनुसार राष्ट्रकवि घिमिरेलाई खीर निकै मन पथ्र्यो । बाहुनडाँडाको स्वर्णजयन्तीमा आउँदा पनि राष्ट्रकवि घिमिरेले घरमा आएर खीर खाएको सम्झना उनलाई ताजै छ । घिमिरेको गौरी शोक खण्डकाव्य सर्वाधिक चर्चामा छ । राष्ट्रकविकी जेठी पत्नी गौरी र पोखरेलका बुबा एकै आमाले जन्माएका हुन् । ‘२२ वर्षको उमेरमा फुपू बित्नुभएपछि उहाँले गौरी लेख्नुभयो,’ पोखरेलले भने, ‘हामी गत वर्ष मात्रै शतवार्षिकी मनाउन काठमाडौं गएका थियौं । उहाँले म फर्केर आउँछु एक पटक भन्नुहुन्थ्यो । तर, फर्कन पाउनुभएन ।’

बाहुनडाँडा (पुस्तुन) मा उनको नाममा स्थानीयले माधव घिमिरे वाचनालय बनाएका थिए । उनकै नाममा रहेको १४ आना १ पैसा ३ दामको जग्गामा करिब १० मिटर लम्बाइ र ६ मिटर चौडाइमा बनेको वाचनालय अहिले बेकामे बनेको छ । भवनलाई ०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्‍याएको छ ।

प्रकाशित : भाद्र ३, २०७७ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?