१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बेल्जियम र यूरोपेली युनियनको लागि राजभण्डारी, जर्मनीका लागि खड्का र पाकिस्तानका लागि अधिकारी राजदूत सिफारिस 

जगदीश्वर पाण्डे

काठमाडौँ — सरकारले बेल्जियम र युरोपेली युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीको लागि रामकाजी खड्कालाई राजदूत सिफारिस गरेको छ । 

बेल्जियम र यूरोपेली युनियनको लागि राजभण्डारी, जर्मनीका लागि खड्का र पाकिस्तानका लागि अधिकारी राजदूत सिफारिस 

उनीहरुलाई राजदूतमा सिफारिस गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैंठकले परराष्ट्र मन्त्रालयका यी तीनै सहसचिवहरुलाई राजदूत सिफारिस गरेको हो ।

सिफारिसमा पर्नेमध्ये सहसचिव राजभण्डारी हाल प्रमुख शिष्टाचार महापाल, अधिकारी दक्षिण पूर्वी एसिया प्रमुख र खड्का राहदानी महाशाखामा महानिर्देशक छन् । प्रावधानअनुसार राजदूत पद रिक्त हुनुभन्दा ३ महिनाअघि सिफारिस गर्न सकिने भएकाले मन्त्रालयले वरीयताका आधारमा नाम पठाएको हो ।

परराष्ट्र मन्त्रालयले अब यी तीनैजनाको नाम संसदको संसदीय सुनुवाई समितिमा पठाउने छ । समितिले नाम अनुमोदन गरेपछि राजदूतहरुको एग्रिमोका लागि सम्बन्धित मुलुकमा पठाइने व्यवस्था छ । सम्बन्धित मुलुकबाट एग्रिमो आएपछि राष्ट्रपतिले राजदूत नियुक्ती गर्ने छिन् ।

हाल पाकिस्तानको इस्लामावादमा परराष्ट्रकै सेवा लम्साल, जर्मनीमा रमेशप्रसाद खनाल र बेल्जियममा लोकबहादुर थापा राजदूतका रुपमा कार्यरत छन् । तीनमध्ये लम्साल र खनालको ४ वर्षे पदावधि भदौ मसान्तमा पूरा हुँदैछ भने थापा कात्तिक तेस्रो साता मन्त्रालय फर्कनेछन् ।

२ वर्षयता दक्षिण कोरिया, श्रीलंका, दक्षिण अफ्रिकालगायतका मुलुकमा राजदूत रिक्त रहेका छन् । अमेरिकाको वासिङ्टन डीसीमा कार्यरत राजदूत अर्जुन कार्कीको ४ वर्षे कार्यकाल झण्डै १ वर्षअघि पूरा भए पनि ‘अर्को व्यवस्था नभएसम्म’ भन्दै कार्कीलाई राजदूत पदमा निरन्तर राखिएको छ ।

अबको ३ महिनाभित्रमा बेलायत, इजिप्ट, ब्राजिल, रुस, अष्ट्रियासहितका मुलुकमा राजदूत पद रिक्त हुँदैछ ।

प्रकाशित : भाद्र २, २०७७ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?