कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अल्ताफ बनाइँदा उम्किएका थिए इल्ताफ

तत्कालीन न्यायाधीशद्वय ओमप्रकाश मिश्र र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले फैसलामा भनेको थियो– अल्ताफ अन्सारी र इल्ताफ अन्सारी एउटै व्यक्ति हुन् भन्ने तथ्य पुष्टि हुन आएन । यसबाट एउटा व्यक्तिलाई भएको कैद सजाय असुलउपरका लागि अर्कै व्यक्तिलाई कैदमा पठाउने गरी ललितपुर जिल्ला अदालतबाट कैद पुर्जी जारी गर्ने काममा गम्भीर त्रुटि रहेको देखियो ।

काठमाडौँ — प्रहरीले साउन १३ मा सुन्धाराबाट साढे १४ केजी चादी, ७ सय ५० ग्राम सुन र २ थान पेस्तोल बरामद गर्‍यो । त्यसका योजनाकारमध्येका एक इल्ताफ घटना भएको २ सातापछि साउन २९ मा बाराको जितपुरबाट पक्राउ परे । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौं ल्यायो ।

अल्ताफ बनाइँदा उम्किएका थिए इल्ताफ

अनुसन्धानका क्रममा उनले भने, ‘म कहाँ जाली नोटमा संलग्न छु र ? मैले त सर्वोच्चबाट सफाइ पाइसकेँ ।’ त्यसपछि प्रहरीले सोधखोज गर्दा जिल्ला र पुनरावेदन अदालतबाट दोषी ठहर भएका उनी ‘त्यो व्यक्ति म नै होइन’ भन्ने जिकिरका आधारमा मुद्दाबाट उन्मुक्ति पाएको भेटियो । हुन पनि महानगरीय प्रहरी परिसर ललितपुरका तत्कालीन निरीक्षक तोरण कार्कीले केही व्यहोरा नखुलाई ‘जितपुर भवानीपुर गाविस–३ बस्ने अल्ताफ अन्सारी’ भनी मुद्दा चलाएका थिए । त्यही आधारमा भारतीय जालीनोट कारोबारमा कुख्यात उनी दुई वर्षअघि सर्वोच्च अदालतको फैसलाबाट फुत्किएका थिए ।

अपराधी फुत्काउने खेल

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०६६ कात्तिक २० मा कुपण्डोलस्थित अमर श्रेष्ठको घरमा छापा मार्‍यो । उक्त घरमा डेरा गरी बस्ने अल्ताफ अन्सारी, शेख सफी अहमद, शेख जावेद र सहिद इकवाललगायतको साथबाट ५४ लाख ३९ हजार भारतीय जाली नोट बरामद गर्‍यो । ब्युरोले जाली नोटसहित अन्य दसीप्रमाण र पक्राउ परेका आरोपितलाई थप अनुसन्धान गरी मुद्दा चलाउन महानगरीय प्रहरी परिसर ललितपुरको जिम्मा लगायो । अनुसन्धानपछि परिसरले खोटाचलन कारोबारको कसुरमा मुद्दा चलायो । जिल्ला अदालत ललितपुरले २०६७ जेठ २६ मा शेख सफी र अल्ताफलाई ३ वर्ष कैद र २ करोड ६१ लाख रुपैयाँ जरिवाना हुने ठहर गर्‍यो । सहिद इकवाल र शेख जाबेद इकवाललाई सफाइ दियो । तत्कालीन पुनरावेदन अदालत पाटनले २०६९ मंसिर १९ मा जिल्लाको फैसला सदर गर्‍यो ।

२०७२ जेठ ३० मा ललितपुरको सातदोबाटोबाट ब्युरोले इल्ताफ हुसेन अन्सारीलाई पक्राउ गर्‍यो । ब्युरोबाट खटिएका सादा पोसाकका प्रहरीले उनलाई पक्राउ गरेर भोलिपल्ट फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा बुझाए । प्रहरीले अन्सारीलाई कैदमा पठाउने प्रक्रिया थाल्यो । अन्सारी जाली नोट अपराधको दुनियाँमा विभिन्न छद्म नाम राखेर सक्रिय थिए । यसबारे प्रहरीका उच्च अधिकारीहरू पनि जानकार थिए । कतिपय प्रहरी अधिकारी उनका सहयोगी पनि भएको आरोप लाग्ने गरेको थियो ।

अन्सारीले आफूलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राख्न खोजिएको भन्दै उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको मुद्दा हाले । आफ्नो नाम इल्ताफ हुसेन अन्सारी भएको दाबी गर्दै उनले ‘अल्ताफ अन्सारी कसुदार ठहरिएको मुद्दामा मैले किन सजाय भोग्ने ?’ भनी प्रश्न गरे । उनको दाबीअनुसार अल्ताफ र उनी फरक व्यक्ति हुन् । ठेगाना र बाबुबाजेको विवरणसमेत फरक छ ।

सर्वोच्चले भन्यो, ‘उही हो भनी कसरी चिन्ने ?’

प्रहरीले हुलिया बदलेर हिँड्ने इल्ताफ नै अल्ताफ लगायतका विभिन्न नामबाट चिनिने गरेको र फरक–फरक व्यक्तिका रूपमा झुक्याउने गरेको दाबी गर्‍यो । दाबीअनुसार नै पुनरावेदन अदालतले दुवै व्यक्ति एउटै भएको ठहर गर्दै उनलाई पक्रनु कानुनसम्मत भएको आदेश गर्‍यो ।

अन्सारीविरुद्ध सुरुकै अनुसन्धान र सरकारी वकिलमा बुझाएको प्रतिवेदनमा ललितपुर प्रहरीबाट गम्भीर त्रुटि भएको मिसिलबाट देखिन्छ । अनुसन्धान अधिकृत तोकिएका प्रहरी निरीक्षक तोरण कार्कीले अन्सारीको स्पष्ट पहिचान नै नखुलाई प्रहरी प्रतिवेदन पेस गरेको खुल्छ । अल्ताफ र इल्ताफ एकै भए पनि इल्ताफको नामबाट अनुसन्धान गर्नुपर्नेमा अप्रमाणित हुलिया र वतन रहेको अल्ताफमा प्रहरी प्रतिवेदन तयार भयो । आरोपपत्रमा केवल ‘बारा जिल्ला जितपुर भवानीपुर गाविस वडा न.३ बस्ने अल्ताफ अन्सारी’ भनी उल्लेख छ ।

उनका बाबु को हुन्, बाजेको नाम के हो, उमेर कति हो भन्ने विवरण आरोपपत्रमा खुल्दैन । सरकारी मुद्दासम्बन्धी ऐन २०४९ को दफा १८ मा कुनै अभियुक्तउपर लगाएको आरोप पुष्टि हुने आधार र कारणसहित अभियुक्तको पूरा ठेगाना उल्लेख गरी अभियोगपत्र दायर गर्नुपर्ने भनिएको छ । सर्वोच्चले फैसलामा भनेको छ, ‘मुद्दा दर्ता भएपछि र फैसला आएपछि व्यक्ति पहिचान गर्ने पद्धतिको विकास हुन गएमा यसले फौजदारी न्याय प्रणालीलाई अनिश्चित बनाउन पुग्छ ।’

ललितपुर प्रहरीले कागजात र प्रमाण नखोजी केवल नाम र उनको सम्पत्ति भएका विभिन्न ठेगानामध्ये अर्को ठेगाना राखी आरोपपत्र पेस गरेको थियो । घटनास्थलमा छापा मार्दा अन्य व्यक्तिको नागरिकतालगायत कागजात भेटिए पनि उनको केही फेला परेको थिएन । उनले मुद्दामामिलामा यही कमजोरीको फाइदा उठाउने प्रयास गरेको देखिन्छ । अन्सारीले पाटनको फैसला चित्त नबुझाएर सर्वोच्च अदालतमा पुनरावेदन दिए । सर्वोच्चले २०७५ असार २१ मा जिल्ला अदालत ललितपुरको अभियोगमा भएको त्रुटि औंल्याउँदै अल्ताफ र इल्ताफ एउटै व्यक्ति मान्न नसकिने भनी उनलाई छाड्न आदेश थियो । जरिवाना पनि तिर्नु नपर्ने भयो । यो अवधिमा उनको ३ वर्षको कैद भुक्तान भइसकेकाले यसै पनि थुनामुक्त हुने थियो ।

सर्वोच्चको आदेशले नक्कली मुद्राको अभियोगबाट छुटकारा मिल्यो भने २ करोड ६१ लाख ९ हजार ६ सय रुपैयाँ जरिवाना तिर्नुपरेन । जाली नोट कारोबारविरुद्धको अनुसन्धानमा पोख्त एक अधिकारी सुरुको अनुसन्धानमा भएको कमजोरीकै कारण उनी उम्किन सफल भएको बताउँछन् ।

मुद्दामाथि मुद्दा

अन्सारीले विभिन्न नाम बताई आफ्नो असली नाम लुकाउने गरेको खुलेको छ । उनीविरुद्ध विभिन्न अदालतमा चलेका आधा दर्जन मुद्दामा यो तथ्य खुल्छ । सबै मुद्दामा उनको फरकफरक नाम र हुलिया बदल्ने चरित्रबारे पोल खुलेको देखिन्छ । अदालतका विभिन्न मितिका आदेश र फैसलाले पनि यसै भन्छन् ।

अन्सारीविरुद्ध २०६८ सालमा काठमाडौं जिल्ला अदालतमा खोटा चलन मुद्दा दर्ता भएको थियो । २०६९ भदौ ११ मा भएको फैसलाले उनलाई निर्दोष ठहर गर्‍यो तर उनले विभिन्न नामले हुलिया बदल्ने गरेको खुल्छ । यो मुद्दामा मुछिएका लाल महमदले अन्सारीले आफ्नो नाम बदलेर मुन्ना खान, अल्ताफ अन्सारी, सदरुल अन्सारी भन्ने गरेको भन्दै सनाखत गरिदिएका थिए । उक्त फैसलामा अल्ताफ अन्सारी र इल्ताफ हुसेन अन्सारी एकै व्यक्ति हुन् भन्ने तथ्य अदालतबाटै स्थापित भएको भन्दै प्रहरीले सर्वोच्च अदालतमा जवाफ लेखेको थियो ।

काठमाडौं जिल्ला अदालतमा नै अन्सारीविरुद्ध सरकारी छाप दस्तखत किर्तेको मुद्दा चलेको थियो । २०६८ साउन १६ मा दायर भई २०६९ कात्तिक २० मा फैसला भएको मुद्दामा उनको नाम इल्ताफ हुसेन अन्सारी भएको खुल्छ । एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना भएको मुद्दामा पनि उनले सजाय भोगिसकेका छन् । वीरगन्ज कारागारमा थुनामा रहेका शेख सफी अहमदले उनी अल्ताफ नै भएको भनी सनाखत गरेका थिए । उनी अन्सारीका जाली नोट कारोबारमा साझेदारी हुन् । उनले सनाखती मुचुल्कामा भनेका छन्, ‘अपराधबाट जोगिन कहिले अल्ताफ, कहिले इल्ताफ, कहिले मुन्ना खानका नाममा हिँडेका छन् ।’

‘एउटै हुन् भन्न मिलेन’

प्रहरीको पटक–पटकको प्रयास र कानुनी प्रतिवादका बीच सर्वोच्चले इल्ताफ र अल्ताफलाई फरक व्यक्तिका रूपमा व्याख्या गरेको छ । प्रहरीले स्थलगत रूपमा पनि दुवै एउटै व्यक्ति हुन् भनी सर्जिमिन गरेको थियो । तर सर्वोच्चले मुद्दा परेपछि संकलन गरिएको प्रमाण भन्दै त्यसैमाथि प्रश्न उठायो । फैसलामा भनिएको छ, ‘निवेदकको अनुपस्थितिमा भएको सर्जिमिन आफैंमा विवादास्पद देखिन्छ ।’

धेरैतिर जग्गा जोडेकाले अन्सारीले नामका साथमा ठेगाना पनि फरक फरक बताउने गरेका थिए । उनले बारा प्रष्टोका गाविस–२ र भवानीपुर गाविस–३ मा आफ्नो ठेगाना देखाएका थिए । उनले वीरगन्ज–१३ पनि ठेगाना देखाउने गरेका छन्, जहाँ उनका बाबुआमा बस्छन् । ललितपुरको नखिपोटमा पनि उनको घरघडेरी रहेको स्रोत बताउँछ ।

प्रहरी अनुसन्धानबाट उनको बाबुको नाम महमुद आलम अन्सारी र बाजेको नाम सरिफ मियाँ अन्सारी भएको खुल्छ । तर ललितपुर प्रहरीले मुद्दा चलाउँदा उनको नामबाहेक कुनै पनि विवरण पेस नगरी उन्मुक्ति पाउने बाटो सजिलो बनाइदियो । अदालतले बाराको जितपुर भवानीपुर गाविस–३ बस्ने २७ वर्षको अल्ताफ अन्सारी घरमा नभेटिएको भनी ढोकामा म्याद टाँसेको थियो । तर म्यादवालाको बाबुबाजेको नाम खुलाइएको थिएन । पछि अन्सारीले बारा प्रष्टोका गाविस–२ आफ्नो ठेगानामा म्याद तामेल नभएको दाबी गरेका थिए ।

सर्वोच्चको फैसलाअनुसार नक्कली मुद्रा मुद्दामा अभियोग दायर हुनुभन्दा अगाडि नै अन्सारीले २०५३ पुस १२ मा जिल्ला प्रशासन बाराबाट नागरिकता लिएका थिए । लाइसेन्स र मतदाता परिचयपत्रमा पनि त्यही नाम छ । ललितपुरको नक्कली मुद्राको मुद्दाबाहेक सबैमा नाम र ठेगाना एउटै छ । तर सर्वोच्चले ‘एउटा व्यक्तिलाई भएको कैद सजायबापत अर्को व्यक्तिलाई पठाएर कैद असुल्न नहुने’ व्याख्या गर्‍यो । ‘अल्ताफ अन्सारी र इल्ताफ अन्सारी एउटै व्यक्ति हुन् भन्ने तथ्य पुष्टि हुन आएन । यसबाट एउटा व्यक्तिलाई भएको कैद सजाय असुलउपरका लागि अर्कै व्यक्तिलाई कैदमा पठाउने गरी ललितपुर जिल्ला अदालतबाट कैद पुर्जी जारी गर्ने काम गम्भीर त्रुटि रहेको देखियो,’ न्यायाधीशद्वय ओमप्रकाश मिश्र र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गरेको फैसलामा भनिएको छ । सर्वोच्चले आरोपितका बाबुको नाम र थर नै फरक परिरहेको र व्यक्ति एउटै हो भन्ने आधिकारिक प्रमाण नभएको भन्दै हचुवा ढंगबाट व्याख्या गरेको थियो ।

अन्सारी करिब १५ वर्ष अघिदेखि नै भारतीय जाली नोट कारोबारमा संलग्न रहेको प्रहरी दाबी छ । उनले त्यहींबाट सक्कली नाम लुकाउँदै अपराधको नेटवर्क चलाएका थिए । हाल नख्खु कारागारमा रहेका युनुस अन्सारीका उनी सहयोगी हुन् । जाली नोट कारोबारका अन्य आरोपित कतिको हत्या भयो, कति पक्राउ परे तर इल्ताफ अन्सारीले भने ‘शंकास्पद’ हैसियतमा कहिले नेपाल प्रहरी, कहिले भारतीय त कहिले अरू नै देशका सुरक्षाकर्मीसँग सुराकी बनेर पनि काम गरे । ब्युरो, विशेष ब्युरो (पहिले प्रतिआतंकवाद निर्देशनालय), बारा, पर्सा, रौतहटलगायत जिल्ला प्रहरीमा मात्र होइन, बाराकै बासिन्दाले पनि अल्ताफ अन्सारी, मुन्ना खान, सदरुल अन्सारीलगायत नामबाट समेत इल्ताफ चिनिने गरेको उल्लेख गरेका छन् ।

प्रहरीको विशेष ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरोमा भएको विवरणअनुसार इल्ताफ र अल्ताफ एकै व्यक्ति भएको विस्तृत विवरण सुरक्षित छ । दुवै ब्युरोसँग भएको विवरणमा अल्ताफ अन्सारी भनिने इल्ताफ हुसेन अन्सारी बारा जिल्ला प्रष्टोका गाविस–२ र त्यसपछि बारा भवानीपुर गाविस–३, जितपुर घर भई हाल पर्साको वीरगन्जको तेजारत टोलमा बस्ने उल्लेख छ । पछि उनी ललितपुरको नखिपोटमा पनि बसे । प्रहरीको आँखामा परेपछि भने कहिले भूमिगत र कहिले अर्धभूमिगत बने ।

अनामनगरमा जाली नोट तस्करीकै आरोपित बलराम पटुवारको हत्या, सरकारी छाप तथा दस्तखत किर्ते र जाली नोट धन्दासग जोडिएका अधिकांश कसुरमा इल्ताफ अल्ताफका नाममा पनि चिनिने गरेको देखिन्छ । १० वर्षअघि नक्कली मुद्राको मुद्दामा शेख सफी अहमदले अदालतमा अल्ताफ अन्सारीले तीन वर्ष अगाडि भारतीय नक्कली रुपैयाँ काठमाडौंबाट भारत पुर्‍याउन भनेकाले यो काम गरेको भनी पोल खोलेका थिए । उनका सहयोगीले पनि इल्ताफ र अल्ताफ एकै व्यक्ति भएको पुष्टि गरेका छन् । हाल अन्सारी प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र २, २०७७ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?