कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ओली–दाहालमाथि चार नेताको दबाब, कार्यदलको प्रतिवेदन सचिवालयमा अनुमोदन हुने 

कार्यदल गठन प्रक्रियामा वामदेवको पनि असन्तुष्टि !
बबिता शर्मा

काठमाडौँ — पार्टीको आन्तरिक विवाद समाधानको मस्यौदा बनाउन दुई अध्यक्षको पहलमा गठित कार्यदलको प्रतिवेदन सचिवालय बैठकमा छलफल गरेर अगाडि बढाउन तयार भएपछि नेकपा सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको छ ।

ओली–दाहालमाथि चार नेताको दबाब, कार्यदलको प्रतिवेदन सचिवालयमा अनुमोदन हुने 

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा चार नेताले कार्यदल गठन प्रक्रियामा प्रश्न उठाएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल कार्यदल प्रतिवेदन सचिवालयमा छलफल गराउन तयार भएका हुन् ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा शुक्रबार ओली र दाहालले ६ सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलको कार्यादेश र समय सीमाबारे बरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार अध्यक्ष दाहाललाई भेटेर असन्तुष्टि जनाएका थिए । उनीहरुकै मागअनुसार सोमबार सचिवालय बैठक बसेको हो ।

सोमबारको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमले समेत पार्टी कमिटीबाट कार्यदल नबनाएकोमा असन्तुष्टि राखेको सचिवालयका एक सदस्यले बताए । ती नेताका अनुसार आफूले अघि सारेको ६ बुँदे प्रस्तावअनुसार पार्टी विवाद हल हुने ठाउँमा पुगेको भन्दै गौतमले सचिवालय बैठकबाट कार्यदल नबनाएकोमा असन्तुष्टि राखेका थिए । शनिबार खनाल, नेपाल र श्रेष्ठसँग उपाध्यक्ष गौतम दाहाल निवास गएका थिएनन् । नेकपाको पछिल्लो शक्तिसंघर्षमा गौतमले आफू कुनै पनि समूहमा नरहेको बताउँदै आएका छन् ।

बैठकमा नेता माधव नेपालले विधि मिचेर कार्यदल गठन गर्ने परम्पराले सही ठाउँमा नपुर्‍याउने बताएका थिए । उनले कोरोना महामारी तथा विपतमा राहत, उद्धार र नियन्त्रणबारे छलफल गर्न छुट्टै कार्यदल बनाउन पनि माग गरेका थिए । नेता खनाल र प्रवक्ता श्रेष्ठले पनि प्रक्रिया नमिच्न अध्यक्षद्वयको ध्यानाकर्षण गराएका थिए । ‘व्यक्तिगत रुपमा सुझाव लिने भए एउटा कुरा हो, सम्रग्र पार्टीको प्रस्ताव बनाउन कमिटीबाटै कार्यदल गठन गर्दा राम्रो हुन्थ्यो,’एक नेताका अनुसार बैठकमा खनालको भनाई थियो । प्रवक्ता श्रेष्ठले आइतबार सामाजिक संजालमार्फत् कार्यदलले पार्टी विवादको समाधान खोज्ने बताएका थिए ।

सोमबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले धेरै कुरा नराखी अर्का अध्यक्ष दाहाललाई कार्यदल गठन, यसले गर्ने कामलगायतका विषयमा बोल्न दिएका थिए । सचिवालयका एक नेताका अनुसार अध्यक्ष दाहालले अहिलेको आवश्यकताअनुसार पार्टीभित्रको समस्या हल गर्न कार्यदल बनेको, कार्यदलले अन्तिम निर्णय लिने नभइ प्रस्तावको मस्यौदामात्र बनाउने र त्यसपछि पार्टी कमिटीमै छलफल गरेर निर्णयमा पुग्ने बताएका थिए ।

दाहालको यस्तो आश्वसनपछि सचिवालयले कार्यदललाई अनुमोदन गरेको थियो । पार्टी प्रवक्ता श्रेष्ठले सुरुमा कार्यदलको प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गर्ने र त्यसपछि बैठकमा आउने तालिकासहित कार्यदल अनुमोदन गरेको जानकारी दिए ।

असार १० गते सुरु भएको नेकपा स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयको विषयबारे विवाद छ । सहमति खोज्ने शीर्ष नेतृत्वको डेढ महिना लामो कोसिस असफल भएपछि शुक्रबार दुई अध्यक्षले महासचिव पौडेलेको संयोजकत्वमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेको कार्यदल बनाएका थिए । कार्यदलमा दुई अध्यक्ष र बरिष्ठ नेता नेपालनिकट दुई-दुईजना छन् । कार्यदलमा रहेका पौडेल र पोखरेल ओलीनिकट, शर्मा र भुसाल दाहाल निकट तथा पाण्डे र रावल नेपाल निकट मानिन्छन् । कार्यदलका लागि दाहालले नाम मागेपछि वरिष्ठ नेता नेपालले पाण्डे र रावलको नाम सिफारिस गरेका थिए । नौ दिनको संवादहीनता तोड्दै बिहीबार ओली र दाहालबीच भएको संवादमा कार्यदल गठनको सहमति भएको थियो ।

कार्यदललाई औपचारिक रुपमा ठोस कार्यदेश दिइएको छैन र समय सीमा पनि तोकिएको छैन । तर, पार्टीको समग्र विवाद हल गर्ने र दुई–तीन दिनमै प्रस्ताव बनाउने कार्यदल सदस्यहरुको दावी छ । शनिबार पहिलो बैठक बसेको कार्यदलले कहिलेसम्म काम सक्छ भन्ने यकिन भइनसकेको कार्यदलका एक सदस्यले बताए ।

कार्यदलले दुई अध्यक्षबीचको अधिकार बाँडफाँट, संघीय सरकार र प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार मन्त्रिपरिषद् पुनर्गठन, केही प्रदेशमा मुख्यमन्त्री नै परिवर्तन, सरकारका काम प्रभावकारी बनाउन संयन्त्र गठन, महाधिवेशनको कार्ययोजनलगायतका विषयमा मस्यौदा बनाउने छ । पार्टी सञ्चालनसम्बन्धी बाँकी काम र अहिलेसम्म भएका कमी–कमजोरीको आत्मालोचनासम्मको मस्यौदा बनाउने कार्यदल सदस्यहरुको दावी छ । सरकार र पार्टी संचालनमा आफ्नो तर्फबाट भएका कमजोरीको आत्मालोचना गर्न ओली तयार भएको नेताहरुले बताएका छन् ।

प्रकाशित : भाद्र १, २०७७ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?