२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

कोरोनाले इन्द्रजात्रा स्थगित

गणेश राई

काठमाडौँ — प्रसिद्ध इन्द्रजात्रा यो वर्ष स्थगित भएको छ । इन्द्रजात्रा व्यवस्थापन समितिसहित २७ वटा स्थानीय गुठी खलहरूले संयुक्त रूपमा स्थगित गर्ने निर्णय गरेका हुन् ।

कोरोनाले इन्द्रजात्रा स्थगित

निर्णयअनुसार भक्तपुरको नालास्थित लिंगो गुठी सामुदायिक वनबाट लिंगो नकाट्ने र लिंगो नउठाउने निर्णय भएको जनाइएको छ । परम्पराअनुसार सामान्य पूजाआजामात्र गरिनेछ ।

‘कोरोना भाइरस फैलिन नदिन यो वर्ष इन्द्रजात्रा स्थगित गर्ने निर्णय भएको छ,’ इन्द्रजात्रा व्यवस्थापन समितिको अध्यक्ष गौतमरत्न शाक्यले भने, ‘रथयात्रा, लिंगो उठाउनु पर्ने काम स्थगित भएको हो । परम्परागत पूजा विधि निरन्तर रहन्छ ।’ सरकारले कुनै सामूहिक चाडपर्व नमनाउन निर्देशन जारी गरेको छ । त्यसैले गर्दा जात्रा परम्पराअनुसार राष्ट्र प्रमुखहरूको उपस्थिति नरहनेसमेत अध्यक्ष शाक्यले जनाए ।

इन्द्रको ध्वजा फहराउन नयाँ रुख काटेर लिंगोको व्यवस्थापन मानन्धर संघले गर्दै आएको छ । संघका सचिव गजेन्द्र मानन्धरले भदौ ४ गते भक्तपुरको लिंगो गुठी सामुदायिक वनबाट रुख काट्ने साइत रहेको बताए । ‘तर परिस्थितिले यो पटक भक्तपुरमा रुख ढालेर हनुमानढोकासम्म लिंगो काटेर ल्याइने छैन,’ सचिव मानन्धरले भने, ‘हामी रह्यौं भने पछि पनि जात्रा रहन्छ । त्यसैले यो पालि लिंगो उठ्दैन । हामीले लिंगो नउठाएपछि कुनै पनि जात्रा चल्दैन । पूजाआजा व्यक्तिगत रूपमा गर्छौं ।’

यस पटक सार्वजनिक स्थलमा प्रदर्शन हुने लाखेनाच, पुलुकिसि लगायत प्याँख (नाच)हरू स्थगित हुनेछन् । श्वेत भैरब सार्वजनिक प्रदर्शन गरिने छैन । ‘क्षमा पूजा, दैनिक पूजा सीमित मान्छे रहेर पूजा गर्ने निर्णय भएको छ,’ मानन्धरले भने, ‘सानो घरको देवता घरबाहिर देखाउनु पर्ने हुन्छ । व्यक्तिगत भएकोले त्यो गर्न सक्लान् ।’

इन्द्रजात्रा काठमाडौंको प्रसिद्ध जात्रा हो । यो वर्ष साइतअनुसार भदौ १४ गते लिंगो उठाउने, १६ गते राष्ट्रप्रमुखबाट मूल जात्राको अवलोकन गर्ने रहेको व्यवस्थापन समितिका अध्यक्ष शाक्यले बताए । त्यसैगरी २१ गते अन्तिम जात्रा समेत राष्ट्रप्रमुखबाट अवलोकन गरी साक्षत देवी कुमारी, गणेश र भैरबको हातबाट टीका ग्रहण गर्ने रहेको छ । कुमारी देवीलाई कुमारीघरभित्र रहने छिन् ।

संस्कृतिविद् डा. चुन्दा बज्राचार्यका अनुसार लिच्छविकालदेखि इन्द्रजात्रा परम्पराको विकास भएको हो । मल्लकालमा राजा प्रताप मल्लले जिवित कुमारी राख्ने परम्परा स्थापित गरेका थिए । अन्तिम मल्ल राजा जयप्रकाश मल्लले कुमारी, भैरब र गणेशको रथयात्रा गराउने तथा बसन्तपुरमा कुमारी घरको व्यवस्था गरेका थिए । कुमारीलाई नारी शक्ति, भैरबलाई पुरुष शक्ति र गणेशलाई मंगल शक्तिको प्रतिकका रूपमा लिइन्छ ।

‘राजा जयप्रकाश मल्लले इन्द्रजात्राको अवलोकन गर्ने परम्पराको थालनी गरे,’ संस्कृतिविद् बज्राचार्यले भनिन्, ‘पछि राजा पृथ्वीनारायण शाहले सांस्कृतिक रूपमा कुमारीबाट टीका ग्रहण गर्ने परम्परालाई निरन्तता दिएको पाइन्छ ।’

इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ । नेवार समुदायमा मनाइने यो जात्राको उद्गम थलो हनुमानढोका दरबार क्षेत्र मानिन्छ । आठ दिनसम्म विभिन्न बाजा बजाएर नाच, गान, रथयात्रा गरी मनाइन्छ । लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजु पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँदछन् । हिन्दू र बौद्ध धर्मावलम्बी नेवार समुदायको यो साझा चाडका रूपमा लिइन्छ ।

प्रकाशित : भाद्र १, २०७७ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?