‘आइसोलेट नगर्दा संक्रमण फैलियो’

विराटनगर — विराटनगर महानगरपालिका सुरु हुने प्रवेशद्वारनजिकै रहेको बूढीगंगा गाउँपालिकास्थित आरती स्ट्रिप्स प्रालिका ५१ जना मजदुर–कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । महानगरमा मात्रै संक्रमणबाट ७ जनाले ज्यान गुमाइसकेका छन् । साउन १६ देखि भदौ ५ सम्म महानगरपालिकाले विराटनगरभर लकडाउन घोषणा गरेको छ ।

‘आइसोलेट नगर्दा संक्रमण फैलियो’

महानगर प्रमुख भीम पराजुलीले नगरमा संक्रमण बढ्दो अवस्थामा रहेकाले परीक्षणको दायरा बढाउने पहल भइरहेको बताए । होम आइसोलेसनमा बस्नेहरूको रेखदेख गर्न स्वास्थ्यकर्मी टोली बनाइएको उनको भनाइ छ ।

संक्रमित घरमै

प्रदेश १ सरकारको विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्र, आइसोलेसन सेन्टर र महानगरकै आइसोलेसन सेन्टरमा ठाउँ अभाव भएपछि थपिँदै गएका संक्रमित होम आइसोलेसनमा बसिरहेका छन् । तोकिएको स्वास्थ्य मापदण्डअनुरूप होम आइसोलसनमा रहेकाको स्थानीय तहका स्वास्थ्यकर्मीले अनुगमन गरेका छैनन् । अर्कोतिर नागरिकदेखि स्वाब संकलनमा खटिएका चिकित्सकसम्म संक्रमित भइरहेका छन् । यसले गर्दा आइतबारदेखि महानगरपालिकाका जनस्वास्थ्य महाशाखाका कर्मचारी क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आएको छ भने स्वाब संकलनको कामसमेत प्रभावित भएको छ । छोराबुहारी र नातिनी आइसोलेसनमा बसिरहेका बेला विराटनगर–३ की ८७ वर्षीया वृद्धाको शनिबार राति निधन भयो ।

अधिकांश संक्रमित भारतबाट आएका वा उनीहरूसँग सम्पर्क भएकाहरू छन् । पछिल्लो समय भने कतै आउजाउ नगरेकाहरूमा पनि संक्रमण देखिन थालेपछि चिन्ता बढेको छ । जोगबनी नाकाबाट जेठ दोस्रो सातायता ३ हजार ७ सय ७१ जना नेपाल प्रवेश गरेको मोरङ प्रहरीले जनाएको छ । यसैगरी उक्त नाका भएर ६ हजार १ सय ८३ जना भारततर्फ गएका छन् ।

रंगेलीमा दुई सातायता संक्रमण बढ्दो

मुख्य बजार क्षेत्रसँग जोडिएको मोरङको रंगेली नगरपालिका–७ मा दुई साताभित्र २१ महिलासहित ६१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । रंगेली–८ दर्वेसाका एक संक्रमितको मृत्यु भएको छ । अधिकांश संक्रमित बजार क्षेत्रका बासिन्दा भएको नगरपालिकाद्वारा सञ्चालित आइसोलेसन सेन्टरका सिनियर अहेब पुरनमल साहले बताए ।

शनिबारसम्म सशस्त्र प्रहरी बलका ३ सुरक्षाकर्मी, एक ६ महिने शिशु र ३१ महिलासहित १ सय ४ संक्रमित देखिएका हुन् । दुई सातामै नगरपालिकामा ९४ जना संक्रमित थपिएका छन् । भारतको नयाँदिल्लीबाट रंगेली बजारस्थित माइती घर आएकी एक महिलामार्फत् बजारमा संक्रमण फैलिएको स्वाथ्यकर्मीहरूको ठम्याइ छ । ‘कोरोनाको लक्षण देखा पर्दापर्दै पनि ती महिलाले आफूलाई आइसोलेट नगर्दा आगोको मुस्लोझैं नगरपालिकाभर कोभिड–१९ फैलियो,’ नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख भूपेन्द्र मण्डलले भने, ‘उनले ज्वरो रुघाखोकीको औषधि किनेको व्यवसायीसमेत संक्रमित छन्, संक्रमित हुनेमा अन्य पसलका साहु र कामदार पनि छन् ।’

ती महिलाबाट परिवारकै १४ सदस्यमा र वरिपरिका ४३ छरछिमेकका संक्रमण फैलिएको उनले बताए । कोभिड–१९ उपचार केन्द्र एवं आइसोलेसन सेन्टरमा संक्रमितलाई राख्ने ठाउँ नभएपछि रंगेली नगरपालिका कार्यालयले प्रदेश सरकारको स्वीकृतिमा स्थानीय जनता क्याम्पस रंगेलीमा आइसोलेसन सेन्टर निर्माण गरेको छ । एक गर्भवती महिलासहित ७५ संक्रमितलाई आइसोलेसन सेन्टरमा राखेर उपचार भइरहेको रंगेली अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रोहेन्द्र पाण्डेले बताए ।

प्रकाशित : भाद्र १, २०७७ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?