भट्टविरुद्धको अन्तरिम आदेशले निरन्तरता पाएन, सोमबारदेखि काम गर्न पाउने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भट्टविरुद्धको अन्तरिम आदेशले निरन्तरता पाएन, सोमबारदेखि काम गर्न पाउने

कृष्ण ज्ञवाली

काठमाडौँ — लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नियुक्त सुशिल भट्टले सोमबारदेखि काम गर्न पाउने भएका छन् ।

उच्च अदालत पाटनले उनलाई तत्काल काम गर्न नदिनु र सरकारको निर्णय यथास्थितीमा राख्‍ने भन्‍ने आदेशलाई निरन्तरता दिन नपर्ने भन्ने अर्को आदेश गरेको हो । पछिल्लो आदेशसँगै उनले सोमबारदेखि कार्यालय गएर काम गर्न पाउने भएका छन् ।

न्यायाधीशहरु ईश्वरराज आचार्य र ठाकुरप्रसाद पौडेलको इजलासले सीईओमा नियुक्त भट्टले नियुक्तीपत्र लिई पदबहाल गरिसकेको भन्‍ने आधार देखाएर अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्ने आदेश गरेको हो । आदेशका अनुसार, मुद्दाको बहसका क्रममा भट्टको नियुक्ती र हाजिरीको फारमको फोटोकपी नै पेश गरेकाले अन्तरिम आदेशको निरन्तरताको आवश्यकता परेन ।

उच्च अदालतले उनको योग्यतामाथिको विवाद भने मुद्दाको अन्तिम किनारा लाग्दा टुंगिने भनि आदेश गरेको छ । रिट निवेदनमा उनको योग्यतालाई मुख्य आधार बनाइएको थियो । अधिवक्ता जयबहादुर भुजेलले प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा भट्टको योग्यता नपुग्‍ने दाबी गरेका थिए ।

भट्टले काठमाडौं विश्वविद्यालयबाट इञ्जिनियरिङमा स्नातक र एमबीए गरेका छन् । योजना आयोगमा सदस्य भएको करिब दुई वर्षको मात्रै अनुभव थियो । योजना आयोगको सदस्य व्यवस्थापकीय पद होइन । ऐनले तोके अनुसार १० वर्षको व्यवस्थापकीय अनुभव नपुग्‍ने रिट निवेदनमा दावी थियो ।

भट्टले आफ्नो भाईको कम्पनी, विभिन्न बैंक र डेनमार्कको सहयोग नियोग(डानिडा)मा केही वर्ष काम गरेको अनुभव पेश गरेका थिए । तर उच्च अदालतले यी विषय निवेदनको अन्तिम सुनुवाईका बेलामा निरुपण हुने भनी आदेश गरेको छ ।

प्रकाशित : श्रावण ३२, २०७७ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्

कर्मचारीमा कोरोना देखिएपछि निगमको भैरहवा डिपो बन्द, अमलेखगन्जबाट वितरण गरिने

राजु चौधरी

काठमाडौँ — नेपाल आयल निगमले भैरहवा डिपो ५ दिन, पेट्रोल पम्प र हवाई इन्धन डिपो ७ दिनसम्म बन्द गर्ने निर्णय गरेको छ । ५ नम्बर प्रादेशिक कार्यालय भैरहवाअन्तर्गतका ११ कर्मचारीलाई कोरोना भेटिएपछि डिपो बन्द गर्ने निर्णय गरेको हो  ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार भैरहवाअन्तर्गत ३ वटा कार्यालय छन् । ती कार्यालयमा करिब ६० जना कर्मचारी छन् । जसमध्ये ११ कर्मचारी सक्रमित भएका हुन् । ‘दुई दिनअगाडि पीसीआर परीक्षण गरेका थियौं । आज रिपोर्ट आउँदा ११ कर्मचारी संक्रमित भेटियो,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘चालकहरुको कन्ट्याक्क ट्रेसिङ र पीसीआर परीक्षण गर्न डिपो ५ दिन, पम्प र हवाई इन्धन डिपो ७ दिनसम्म बन्द गर्ने निर्णय गरेका छौं ।’

निगमका अनुसार प्रादेशिक कार्यालयमा ३ कर्मचारी, मातहतका पेट्रोल पम्पका ३ कर्मचारी र हवाई इन्धन डिपोका ५ जनालाई कोरोना पोजिटिभ देखिएको हो । प्रादेशिक कार्यालय भैरहवाबाट नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँचीलगायत ९ जिल्लाका लागि इन्धन वितरण हुन्छ ।

भैरहवा डिपो बन्द भएपछि ती क्षेत्रमा आवश्यक इन्धन अमलेखगन्जबाट वितरण गरिने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

निगम स्रोतका कर्मचारीहरुलाई संक्रमण देखिए पनि प्रादेशिक गृह प्रशासनले खासै चासो दिएको छैन । पम्प, चालक, सहचालकको ट्रेसिङ गरिएको छैन । ‘भैरहवामा रहेको निगमको पम्पबाट धेरेले इन्धन वितरण गरेका छौं । लकडाउन गरेर ट्रेसिङ गर्नुपर्नेमा चासो दिएको देखिएन,’ निगमका एक अधिकारीले भने ।



प्रकाशित : श्रावण ३२, २०७७ १९:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×