१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

तीन वर्ष अघिबाटै सुन तस्करीमा इल्ताफ

मातृका दाहाल

काठमाडौँ — ‘कुख्यात’ जाली नोट तस्कर बारा प्रस्टोखाका इल्ताफ हुसेन अन्सारीले ३ वर्षअघिदेखि नै भारतीय आपराधिक गिरोहसँग मिलेर सुन तस्करी गरेको खुलेको छ । भारतको गुजरात र मुम्बई क्षेत्रलाई आधार बनाएर अपराध सञ्जाल चलाउँदै आएका सञ्जय पटेलसँग मिलेर इल्ताफले सुन तस्करी गरेको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ ।

तीन वर्ष अघिबाटै सुन तस्करीमा इल्ताफ

सञ्जयको मुम्बई र गुजरातको राजधानी अहमदाबादमा घर छ । अपराधबाटै आर्थिक रूपमा सम्पन्न सञ्जयले काठमाडौंको कमलपोखरी अपार्टमेन्टमा पनि कोठा भाडामा लिई सहयोगी राखेका थिए । करिब तीन वर्षअघि भारतीय नागरिक साबिर साबीमार्फत इल्ताफको सम्बन्ध सञ्जयसँग जोडिएको थियो । साबिर र सञ्जयको भने पुरानै चिनजान थियो । सन् २०१६ नोभेम्बर ८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जब नोटबन्दीको घोषणा गरे, त्यसपछि पाकिस्तान र दुबईबाट नेपाल हुँदै भारत लगिने जाली नोटको कारोबारमा सक्रिय अन्तर्राष्ट्रिय गिरोहको धन्दा नै चौपट हुन पुग्यो ।

नेपाल र भारतका सुरक्षा अधिकारीसँग पनि उत्तिकै पहुँच राख्ने इल्ताफले आफ्ना विरोधीबारे सुराकी दिएर आफू सुरक्षित हुने रणनीति पनि अपनाएका थिए । सुरुमा युनुस अन्सारीसँगै मिलेर उनले जाली नोटको धन्दा चलाएका थिए । युनुस हाल नख्खु कारागारमा छन् । इल्ताफ पनि ३ वर्ष जाली नोट र करिब अढाई वर्ष व्यक्ति हत्या अभियोगमा कारागार बसेर छुटेका व्यक्ति हुन् । २०७५ अघिसम्म युनुससँगै समानान्तर रूपमा जाली नोट कारोबारमा सक्रिय थिए, इल्ताफ । पछिल्लो पटक बारा निजगढबाट पक्राउ परेर महानगरीय अपराध महाशाखाको हिरासतमा रहेका इल्ताफले नेपाल प्रहरीका उच्च अधिकारीहरूसँग आफ्नो घनिष्ट सम्बन्ध रहेको खुलाएका छन् ।

कुपण्डोल, विमानस्थललगायत स्थानबाट बरामद गरिएको जाली नोटमा मुछिएका उनी मुस्किलले उम्किएका थिए । तर भारतमा नोटबन्दीपछि जाली नोटको कारोबार नै चौपट हुन पुग्यो । त्यसपछि उनको ध्यान अरू नै अपराधमा जान थाल्यो । त्यहीबीच इल्ताफको सम्बन्ध साबिरमार्फत गुजरातका सञ्जयसँग भएको देखिन्छ । सञ्जय सन् २०१४ जनवरी २८ मा अहमदाबादबाट ३५ केजी सुन तस्करी अभियोगमा पक्राउ परेका व्यक्ति हुन् । जेलबाट छुटेपछि पनि उनको तस्करी धन्दा रोकिएन । ६ वर्षअघि पक्राउ परेर सञ्जय छुटेको पुष्टि उच्च प्रहरी स्रोतले पनि गर्‍यो । अहमदाबाद र त्यहाँस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल तस्करीको गतिविधि हुनेमध्येका उच्च जोखिममा रहेका क्षेत्र पनि हुन् । सञ्जयको अपराध जालो विस्तार भएको इलाका पनि त्यही रहेको स्रोत बताउँछ । पछिल्लो पटक साउन १३ मा सुन्धारामा बरामद सुन लेपन गरिएको साढे १५ केजी चाँदी र ७५० ग्राम सुन तस्करीमा मुछिएका इल्ताफ स्वयंले अढाई/तीन वर्षअघिबाटै सुन तस्कर सञ्जयसँग नजिकिएको स्विकारेका छन् । साउन १३ को घटनामा आफू सवारी व्यवस्थापनमा मात्रै संलग्न भएको उनको जिकिर थियो । तर बयानका क्रममा तस्करीमा संलग्न भएको र सवारी व्यवस्थापनदेखि वीरगन्जसम्म सामान पास गर्ने जिम्मा लिएको प्रमाण प्रहरीले देखाएपछि उनी हच्किएका थिए ।

इल्ताफसँगै हिरासतमा रहेका गुजरातकै निलेशले सञ्जयको मागअनुसार इल्ताफ र आफू मिलेर धन्दा चलाएको बयान दिएका छन् । प्रहरी उच्च स्रोतका अनुसार सुन्धाराको घटना हुनुअघि तीन पटकसम्म इल्ताफ र निलेशले मिलेर सञ्जयलाई गुजरात र मुम्बई पुर्‍याएको खुलेको छ । तस्करीमा काठमाडौंमा बसेका दाजुभाइ देवानसिंह र कौशल पटेलले सघाउँदै आएका थिए भने योजना इल्ताफ र निलेशले नै बनाउँथे । ‘तीन पटकसम्म सक्कली सुन नै पुर्‍याएर सञ्जयलाई विश्वासमा पारेका इल्ताफ र निलेशले पछिल्लो पटक १६ केजी सुन दिने भनेर रकम बुझेका थिए,’ स्रोत भन्छ, ‘तर सक्कली सुनको रकम बुझेर निलेश र इल्ताफले चाँदीमा पहेंलो धातु लेपन गरी सञ्जयलाई ठग्न खोजेका थिए ।’ सञ्जयको भारतमा सुन तस्करीको ‘कनेक्सन’ खोज्न नेपाल प्रहरीले आफ्नो संयन्त्र परिचालन गरिसकेको जनाएको छ ।

असार अन्तिम साता १६ केजी सुन लिन काठमाडौं आएका सञ्जयको योजना निलेश र इल्ताफ तथा काठमाडौंमै रहेका कौशल र देवानसिंहले तुहाइदिएका थिए । बयानका क्रममा इल्ताफ र निलेशले यो कुरा स्वीकार गरेको स्रोत बताउँछ । २०७६ माघअघिसम्म यी दुई आरोपितले ३ केजीका दरले तीन पटकसम्म सुन सञ्जयसमक्ष पुर्‍याएको पनि स्वीकार गरेका छन् ।

अभियुक्तबाटै यसअघि पनि सुन तस्करी गरेको स्वीकारोक्तिले अपराधको जालो थप फराकिलो हुन सक्ने देखाएको छ । नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल यस्तो अवस्थामा अनुसन्धानको दायरालाई थप फराकिलो बनाउन आवश्यक रहेको बताउँछन् । ‘अपराधमा मुछिएका व्यक्तिबाटै केही परिमाणको सुन तस्करी गरेको स्वीकार हुनुले यसमा ठूलो जालो संलग्न छ भन्ने स्पष्ट देखाउँछ,’ मल्ल भन्छन्, ‘अनुसन्धानको दायरालाई सुन्धाराको घटनासँग मात्रै सीमित राखिनु हुँदैन ।’ विगतमा जाली नोट कारोबार गर्ने गिरोह किन र कसरी सुन तस्करीमा लागे भन्ने पनि खोतल्न आवश्यक रहेको उनको भनाइ छ ।

पछिल्लो पटक सुनचाँदी तस्करीमा पक्राउ परेका नेपाल र भारतका अभियुक्तको जालोलाई यसअघि बरामद सुनका घटनासँग जोडेर अनुसन्धान गर्नुपर्ने तर्क गर्छन् मल्ल । विगत ६ वर्षमा मात्रै करिब ६ सय केजी तस्करीको सुन बरामद भइसकेको छ । ५ सय ५० भन्दा बढी व्यक्ति पक्राउ परिसकेका छन् ।

प्रकाशित : श्रावण ३२, २०७७ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?