कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

बीपीको सिनेट बैठक : पूर्ण विश्वविद्यालय, मानव अंग प्रत्यारोपण र ट्रमा सेन्टर विस्तार गर्ने निर्णय पारित 

प्रदीप मेन्याङ्बो

सुनसरी — कांग्रेस कार्यकर्ता र प्रतिष्ठानभित्रैबाट व्यापक विरोधकाबीच काठमाडाैंमा सम्पन्न ४४ औं सिनेट बैठकले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने, प्रतिष्ठान भित्रै ट्रमा सेन्टर स्थापना गर्ने, मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । 

बीपीको सिनेट बैठक : पूर्ण विश्वविद्यालय, मानव अंग प्रत्यारोपण र ट्रमा सेन्टर विस्तार गर्ने निर्णय पारित 

सिनेट बैठकले आर्थिक वर्ष २०७७/२०७८ का लागि २ अर्ब ९८ करोड ६७ लाख रुपैयाँको बजेटसमेत पारित गर्दै विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ । विश्वविद्यालय, अंगप्रत्यारोपण, ट्रमा सेन्टर स्थापना र सञ्चालनका लागि प्रतिष्ठानसँग जनशक्ति, भौतिक पूर्वाधार पर्याप्त भएकाले सिनेटले ती निर्णयहरु गरेको हो । सिनेट बैठक शुक्रबार सम्पन्न भएको थियो ।

कोरोना महामारीको बेला उपकुलपति प्राडा ज्ञानेन्द्र गिरिले आफ्नो स्वार्थअनुकुल सिनेट बैठकमार्फत् प्रतिष्ठानको स्वामित्वमा रहेको जग्गा व्यापारीलाई दिने निर्णय गरेको भन्दै धरानमा विरोध भइरहेको अवस्थामा विपक्षीहरुको अनुमानको विपरीत निर्णय भएको सार्वजनिक भएको हो । प्रतिष्ठानका रजिष्ट्रार प्राडा मोहनचन्द्र रेग्मीका अनुसार सिनेटले प्रतिष्ठानलाई स्वास्थ्य शिक्षा र उपचारको क्षेत्रमा मुलुककै पहिलो विश्व विद्यालय बनाउने निर्णय पारित गर्दै कार्यदल गठन गरिएको छ ।

कार्यदलमा संयोजक उपकुलपति गिरी रहेका छन् भने सदस्यहरुमा प्राडा उपेन्द्र कोइरला, प्राडा मधुर भट्टराई, प्राडा बालकृष्ण भट्टराई, धरान उपमहानगरकी उपमेयर मञ्जु भण्डारी र सदस्य सचिवमा रजिष्ट्रार प्राडा रेग्मी रहेका छन् । प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको सिनेट बैठकले प्रतिष्ठानलाई छुट्टै विश्वविद्यालयमा रुपान्तरण गर्ने प्रस्ताव पास भएको हो । विश्वविद्यालयमा रुपान्तरण गर्दै प्रतिष्ठानलाई थप विकास र विस्तार, विशिष्टिकृत गरेर पूर्ण विश्वविद्यालयमा रुपान्तरणका लागि योजना र नियम तर्जुमा गर्न कार्यदल बनाइएको प्राडा रेग्मीले बताए ।

प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा कल्याण समाज र कांग्रेसले सरोकारवालासँग कुनै छलफल नै नगरी कोरोना महामारीमा पदाधिकारीहरु सिनेट बैठकमा गएको भन्दै विरोध गरिरहेको बेला प्रतिष्ठानकै हितमा मुलुककै गौरव बढ्ने निर्णयहरु गरेको रेग्मीले बताए । उनले भने, ‘उपत्यकामा सिमित अंगप्रत्यारोपण अब प्रतिष्ठानमा पनि हुने बाटो खुलेको छ । साथै प्रतिष्ठानले उच्च तहको आफ्नै ट्रमा सेन्टर पनि सुरु गर्ने भएकाले कलेजो, मृगौला, प्याङ्क्रियाज लगायत अंग प्रत्यारोपण केन्द्र नै सञ्चालनका लागि सिनेटले पारित गरेको छ ।’ उनका अनुसार प्रतिष्ठानमा मानव अंग प्रत्यारोपण केन्द्र सञ्चालनका लागि गत वर्ष नै भारतको अहमदावादस्थित अंग प्रत्यारोपण केन्द्रसँग प्रशिक्षण र जनशक्ति उत्पादनका लागि सम्झौतासमेत भइसकेको छ ।

उपकुपति प्राडा गिरीले पछिल्लो समयमा सरुवा रोगले भन्दा नसर्ने रोगले मानिसको मृत्यु अत्यधिक हुन थालेका उल्लेख गर्दै मृगौला फेल हुने, हाडजोर्नी, मुटुको भल्भ फेर्नु पर्ने, फोक्सो र कलेजोको समस्याबाट ग्रसित हुने, दुर्घटना तथा अन्य कारणबाट मस्तिष्क मृत्यु भइ अकालमै ज्यान गुमाउने बिरामीहरुको संख्या कम गर्न प्रतिष्ठानमा मानव अंग प्रत्यारोपण केन्द्र र ट्रमा सेन्टर स्थापना गर्न लागिएको बताए ।

बैठकले प्रतिष्ठानको स्वामित्वमा रहेको धरान, मोरङ र काठमाडाैंका जग्गालाई स्थानीय सरोकारवालासँग छलफल गरेर स्वास्थ्य सेवामै टेवा पुग्ने गरी सदुपयोग गर्ने पनि पारित गरेको छ । सिनेट बैठक बस्नु एकसाता अघिदेखि स्थानीय सञ्चारमाध्यममा प्रतिष्ठानले ती जग्गाहरु निजी व्यापारीलाई लिजमा दिने निर्णय गर्न लागेको भनेर व्यापक अफवाह फैलिएजस्तो कुनैपनि निर्णय नभएको उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले बताए । उनले भने, ‘प्रतिष्ठानको स्वामित्वमा रहेका चल अचल सम्पत्तिको उपभोग नीति सम्बन्धी प्रस्ताव पनि पारित गर्दै प्रतिष्ठानको आर्थिक विकास र समृद्धिमा योगदान पुर्‍याउन, सार्वजनिक निजी साझेदारीमा निर्माण हुने परियोजनाहरूलाई व्यवस्थित गर्न मेरै संयोकत्वमा कार्यदल बनाइएको छ । कुनै व्यापारीलाई जिम्मा दिन होइन ।’ प्रतिष्ठानको शैक्षिक, कर्मचारी प्रशासनिक र आर्थिकलगायतका नियमावाली संशोधन गर्न शिक्षाध्यक्ष प्राडा गुरुप्रसाद खनालको संयोजकत्वमा समिति गठन गरिएको छ ।

उपकुलपति गिरीले प्रतिष्ठानमा निर्माणधीन अवस्थामै रोकिएर अधुरो अवस्थामा रहेका मातृ तथा शिशु उपचार केन्द्र (एमसिएच), क्यान्सर उपचार केन्द्र (अंकोलोजी), मुटुरोग उपचार केन्द्र (कार्डियोलोजी) का लागि पनि गृहकार्य भइरहेको बताए ।

प्रकाशित : श्रावण ३१, २०७७ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?