लिदी पहिरो : भूकम्पले थिलथिलो पारेको क्षेत्र- समाचार - कान्तिपुर समाचार

लिदी पहिरो : भूकम्पले थिलथिलो पारेको क्षेत्र

लिदीका स्थानीय बर्खा लागेपछि बास बस्न अन्यत्रै सुरक्षित स्थानका घर र गोठमा जाने गरेका थिए ।
उक्त बस्ती पहिरोका हिसाबले उच्च जोखिममा भएकाले बस्ती स्थानान्तरण गर्न भूकम्पलगत्तै विज्ञहरूले सुझाएका थिए ।
अब्दुल्लाह मियाँ

काठमाडौँ — जेठ अन्तिममा मनसुन सुरु भएयता शुक्रबारसम्म सिन्धुपाल्चोकमा पहिरोका १८ वटा घटना भए । तर, जुगल गाउँपालिका–२ लिदिमा शुक्रबार बिहान करिब ६ बजे आएको पहिरोलाई भूगर्भविद् र पहिरो अध्ययन गरेकाहरूले अघिल्ला भन्दा फरक किसिमको भनी विश्लेषण गरेका छन् । 

'झट्ट हेर्दा त्यो ठाउँ पहिरो नजाने जस्तो देखिन्छ, त्यहीँ भएर त्यति बाक्लो बस्ती बसेको होला,' पुल्चोक इन्जिनियरिङ क्याम्पसका अध्यापकसमेत रहेका भूगर्भविद् वशन्तराज अधिकारीले कान्तिपुरसित भने, 'सुरुमा खोल्सोले तलतिरबाट माटो खोलेको देखिन्छ र धेरै वर्षा भएपछि मास्तिरको माटो गलेर झ्वाप्पै तलतिर खसेको छ ।'

अधिकारीका अनुसार तलतिरबाट खोल्सोले लामो समयदेखि माटोलाई खोलेपछि कमजोर बनेको माथिल्लो भूभाग एकै पटक तलतिर बगेको तस्बिर विश्लेषणले प्रष्टिन्छ । 'त्यहाँको भू–भागमा भित्रैसम्म पानी पुगेपछि कमजोर बनेको माटो–ढुंगालगायत डेब्रिज (माटो, ढुंगा, रुख, विरुवालगायत) एकै पटक तलतिर सोहोरिएको छ,' उनले भने, 'तल्लो भागमा पहिरो छेक्ने अरु केही नभएपछि माथिबाट बगेर आएको पहिरो बस्तीमाथि सलल बगेको देखिन्छ ।'

उक्त क्षेत्रलाई २०७२ सालको भूकम्पले हल्लाएको थियो । भूकम्पले हल्लाएर थिलथिलो पारेको क्षेत्र (माटोलगायत भू-भाग) लाई स्थिर हुन धेरै वर्ष लाग्छ । 'पक्कै पनि मनसुन अघि त्यो क्षेत्रमा धेरै धाँजा फाटेको हुनुपर्छ,' अधिकारीले थपे, 'ती धाँजाबाट वर्षातको पानी भित्र छिरेपछि माटो कमजोर हुन्छ र कालान्तरमा पहिरोको रूप लिन्छ ।'

यो वर्षको मनसुनमा धेरै जसो पहिरो भूकम्पले बढी प्रभाव पारेका क्षेत्रमै देखिएका छन् । भूकम्पले अति प्रभावित १४ जिल्लामध्ये पनि यो वर्षको मनसुनमा सिन्धुपाल्चोकमा नै धेरै पहिरोका घटना भएका छन् ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले भूकम्पले अति प्रभावित ५ जिल्लामा गरेको अध्ययनले पनि डेढ लाख घर पहिरोको उच्च जोखिममा रहेको करिब ५ वर्षअघि नै निष्कर्ष निकालेको थियो । भूगर्भविद्हरूले त्यस्ता जोखिममा रहेका बस्तीहरूलाई जतिसक्दो चाँडो सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत सम्बन्धित निकायलाई सुझाएका थिए ।

धादिङ, दोलखा, गोरखा, रसुवा र सिन्धुपाल्चोकमा गरिएको उक्त अध्ययनले ती जिल्लाका २ लाख ६२ हजार ५ सय ११ घरमध्ये १ लाख ५५ हजार २ वटा घर पहिरो र डेब्रिजका उच्च जोखिममा रहेको निष्कर्ष निकालेको थियो । पाँच जिल्लाका ५१ देखि ७२ प्रतिशत घर पहिरो, डेब्रिज र चट्टानी पहिरोको उच्च जोखिममा रहेको इसिमोड टोलीले औंल्याएको थियो । अध्ययनले धादिङको री, दोलखाको गौरीशंकर, गोरखाको काशीगाउँ, केरौंजा, माछेखोला, लाप्राक र लापु, रसुवाको लाङटाङ, गोलजुङ, डाँडागाउँ तथा सिन्धुपाल्चोकको साबिकका भोताङ, धुस्कुन, राम्चे, तातोपानी, अत्तरपुर, गुन्सा, महाँकाल र थाकनी गाविसका ५० प्रतिशतभन्दा बढी घर धेरै जोखिममा रहेको देखाएको थियो ।

शुक्रबार पहिरो गएको क्षेत्र जोखिमयुक्त भएकाले स्थानान्तरण गर्नुपर्ने सूचीमा समेटिएकोमध्येकै बस्ती हो । जोखिमयुक्त भएकाले जुगल गाउँपालिकाले पनि उक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि मनसुन सुरु हुनुअघि नै जिल्ला प्रशासन कार्यालयलाई पत्रमार्फत् ध्यानाकर्षण गराएको थियो ।

पहिरोका घाइते भन्छन्, ‘बस्ती सारिदेउ भन्दा बेवास्ता गरे, अहिले यस्तो भयो’

सभामुख अग्निप्रसाद सापकोटासँगै शुक्रबार बिहान घटनास्थलको निरीक्षण गरी फर्किएका उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार पहिरोको जोखिम बुझेर नै स्थानीयहरू बर्खा लागेपछि बास बस्न त्यहाँका घरभन्दा टाढाका सुरक्षित स्थानका गोठ (अस्थायी घर) मा जाने गरेका थिए । 'बस्ती सार्नुपर्छ भनेर लगातार कुरा उठेको हो', न्यौपानेले भने, 'स्थानीयहरू भूकम्पपछि जहिल्यै त्रसित थिए ।' सभामुख सापकोटाले जारी गरेको विज्ञप्तिमा पनि उक्त क्षेत्र भुकम्पपछि जर्जर भएको क्षेत्र भएकाले विपद्का घटना दोहोरिइरहने उल्लेख छ ।

नेपाल भूगोल समाजका अध्यक्षसमेत रहेका भूगोलविद् प्राध्यापक नरेन्द्रराज खनालले लिदिको पहिरो एकै पटक नभई थोरैथोरै गरेर शुक्रबार बृहत रूप लिएको हुनसक्ने तर्क गरे । 'त्यहाँ अलि अलि माटो झर्ने र चिरा पर्ने क्रम पहिले नै सुरु भएको हुनुपर्छ, अचानक आएको पहिरो होइन,' नेपालका ठूला पहिरोबारे अध्ययन गरेका खनालको विश्लेषण छ, 'अहिले आएर लिदिमा पहिरोले विकराल रूप लिएकोजस्तो देखिन्छ, तस्बिरहरूको विश्लेषण गर्दा त्यो क्षेत्र अझै पहिरोको जोखिममा छ, सतर्क हुनुपर्छ ।'

खनालका अनुसार पहाडी क्षेत्रमा कहाँ, कहिले र कत्रो पहिरो जान्छ भन्ने कुरा भौगर्भिक बनावट, भिरालोपन, भूकम्प लगायतका भौगर्भिक हलचल, खोलाखोल्सीको फैलावट, वर्षाको मात्रा भू–उपयोगको तरिका र विकास निर्माणले निर्धारण गरेको हुन्छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबारसम्म पहिरो, भारी वर्षा, बाढी र अचानक बाढी (फ्ल्यास फ्लड) का गरी ६ सय ७० वटा घटना भएका छन् । त्यसमा परेर २ सय ७ जनाको मृत्यु भएको छ भने ८७ जना बेपत्ता र २ सय बढी घाइते भएका छन् । जेठ ३० मा मनसुन सुरु भएयता ७५ वटा जिल्लामा मनसुनजन्य विपद्का घटना भएका छन् ।

प्रकाशित : श्रावण ३०, २०७७ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्

विदेशमा अलपत्र नेपाली उद्धार गर्न थप ४३ वटा उडान हुने 

सुरज कुँवर

काठमाडौँ — विदेशमा अलपत्र परेका नेपालीलाई उनीहरुकै खर्चमा चार्टर उडानबाट स्वदेश फर्काउन छाउनीस्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पाँचौपटक थप ४३ वटा उडानलाई अनुमति दिएको छ ।

सीसीएमसीका एक अधिकारीका अनुसार यी उद्धार उडान भदौ १ गतेदेखि सुरु भएर १५ गतेसम्म सञ्चालन हुनेछन् । यी उडानबाट कम्तीमा ७ हजार नेपाली स्वेदश फर्किन पाउने छन् । भदौ १५ पछि सरकारले नियमित उडान सुचारु गर्ने जनाइसकेको छ ।

शुक्रबार सार्वजनिक गरिएको यो तालिकामा सीसीएमसीले नेपाल वायुसेवा निगमलाई १७ वटा, हिमालय एयरलायन्सलाई १५ वटा उद्धार उडानको अनुमति दिएको छ । त्यस्तै युरोप र अमेरिकामा अलपत्र परेका नेपालीहरुका लागि टर्किस एयरलाई अनुमति दिइएको छ । यीबाहेक कतार एयर, फ्लाई दुबई, मालिन्दो एयर, जजिरा एयरवेज, कोरियन एयर, एयर अरेबिया, इतिहाद एयर र सिल्क एयरलाई पनि अनुमति दिइएको छ ।

अनुमति दिइएका गन्तव्यमा दुबईका लागि ८ वटा उडान, दोहाका लागि ७, क्लालालम्पुर ६, जेद्दा १, कुबेत ३, दमाम ५, रियाद २, जापान १, आबुधाबी ५, कोरिया १, सारजाहा २, अष्ट्रेलिया १ गरी ४३ वटा उडान रहेका छन् । यी उडानबाट करिब ७ हजार नेपाली स्वदेश फर्किने छन् ।


यो तालिकाले यी मुलुकबाहेक युरोप, अमेरिका तथा अफ्रिकाबाट फर्किन चाहाने नेपालीलाई पनि खुला गरेको छ । ‘अहिले कतिपय मुलुकमा नियमित उडान भइसकेकाले तोकिएका गन्तव्यसम्म नियमित उडानबाट नेपाल आउन खुला गरेका छौं’, ती अधिकारीले भने ।

यी उडानको टिकट बिक्री तोकिएका वायुसेवाले मात्रै गर्नुपर्ने भनिएको छ । स्वदेश फर्किन चाहने नेपालीले पीसीआर वा आरडीटी परीक्षण गराएको प्रमाणपत्र बुझाउनुपर्ने हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइसकेपछि उनीहरुले नेपाल सरकारले बनाएको स्वास्थ्य प्रोटोकल पालना अनिवार्य गर्नुपर्ने छ ।

सरकारले भदौ १५ सम्म आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायिक उडान रोकेकाले त्यस दिनसम्म लागू हुने गरी नयाँ तालिका जारी गरिएको हो ।

सीसीएमसीका रहेका एक सहसचिवका अनुसार विभिन्न मुलुकमा रहेका नेपाली दूतावासहरुमा कम्तीमा ५० हजार नेपालीले स्वदेश फर्किन चाहेका छन् ।

सरकारले चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र चैत ११ गतेदेखि आन्तरिक उडानमा रोक लगाएको थियो । विदेशमा अलपत्र नेपालीलाई जेठ २९ गतेदेखि स्वदेश फर्काउन सुरु गरेको थियो । त्यसयता बिहीबारसम्म ३० वटा मुलुक र ती मुलुक हुँदै भएका ३ सय २३ वटा चार्टर उडानबाट ५० हजार ६ सय ६२ नेपाली स्वदेश फर्किसकेका छन् ।

प्रकाशित : श्रावण ३०, २०७७ २१:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×