नेपालको अद्यावधिक नक्साको अंग्रेजी संस्करण स्वीकृत- समाचार - कान्तिपुर समाचार

नेपालको अद्यावधिक नक्साको अंग्रेजी संस्करण स्वीकृत

कान्तिपुर संवाददाता

काठमाडौँ — कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको अद्यावधिक (राजनीतिक-प्रशासनिक) नक्साको अंग्रेजी संस्करणलाई सरकारले स्वीकृत गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले शुक्रबार नापी विभागले तयार पारेको नेपालको अंग्रेजी संस्करणको नक्सा स्वीकृत गरेकी हुन् ।

नापी विभागले तयार गरी नाप नक्सा समितिमा निर्णय गरी स्वीकृतिका लागि मन्त्रालयमा पेस गरेको उक्त नक्सा मन्त्रालयबाट स्वीकृत भएको हो ।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भूभागलाई समेटेर नेपालले जेठ ७ गते नेपालको अद्यावधिक (राजनीतिक-प्रशासनिक) नक्सा प्रकाशन गरेको थियो । उक्त नक्साको अंग्रेजी संस्करणको नक्सा नापी विभागले प्रकाशन गरेको हो ।

नेपालको अद्यावधिक नक्सा जारी भएसँगै अन्य मुलुकलाई जानकारी दिनका लागि अंग्रेजी संस्करणमा नक्सा जारी गरिएको मन्त्रालयले जनाएको छ ।

अंग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्र संघ, कूटनीतिक नियोगहरूमा पठाउन बाटो खुलेको मन्त्री अर्यालले जानकारी दिइन् । नेपालको नक्सा अद्यावधिक भएको बारे जानकारी अंग्रेजी संस्करणको नक्सा परराष्ट्र मन्त्रालयमार्फत पठाएर गरिने नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिए ।

प्रकाशित : श्रावण ३०, २०७७ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकाभित्र ३ दर्जन बढी सेवा र व्यापार सञ्चालनमा रोक

जात्रा, भेला र विरोध जुलुस गर्न पनि नपाइने
मातृका दाहाल

काठमाडौँ — राजधानीका तीन जिल्लामा ३ दर्जन भन्दा बढी सेवा र व्यापार/व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले कोरोना संक्रमण नियन्त्रण गर्न अर्को आदेश नभएसम्म यी क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय र सेवा सञ्चालन गर्न नपाइने निर्णय गरेको हो ।

काठमाडौंका प्र्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालले खुल्ला स्थानमा मानिस भेला/जम्मा हुन, भीडभाड गर्न, सभा/जुलुस गर्न, जात्रा महोत्सव सञ्चालन, दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि, स्वास्थ्य मापदण्डविपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्य सम्बन्धी जमघट लगायतलाई निषेध गरिएको बताए ।

त्यस्तै सबै प्रकारका सभा/गोष्ठी, तालिम, सेमिनार, हल/पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङपुल, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको दाहालले बताए । संयुक्त सुरक्षा बैठकले संग्रहालय, चिडियाखाना, फुटपाथ/खुल्ला ठाउँ र ठेलागाडा तथा साइकलबाट सञ्चालित व्यापार/व्यवसाय, कवाडी संकलन, स्वास्थ्य मापदण्ड विपरित श्रमिक/कामदार ओसारपसार तथा टेकवेबाहेक होटल/रेस्टुरामा पनि जमघट गर्न प्रतिबन्ध लगाएको छ ।

निर्णय कार्यान्वयन भए नभएको अनुगमन गर्न आवश्यकता अनुसार प्रशासनको टोली अनुगमनमा खटिने पनि प्रजिअ दाहालले बताए । उपत्यकाका तीनवटै प्रशासनले यसअघि साउन २५ गतेदेखि भदौ ८ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा स्थगन गरिसकेको छ ।

प्रकाशित : श्रावण ३०, २०७७ १८:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×