कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

स्थानीय तहबाट ‘निमित्त’ हटाउने तयारी

राजेश मिश्र

काठमाडौँ — निमित्त प्रशासकीय अधिकृतको भरमा चलेका स्थानीय तहमा बेरुजु बढेको महालेखा परीक्षण प्रतिवेदनले औंल्याएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको दरबन्दीका अधिकारी पठाउन गृहकार्य थालेको छ ।

स्थानीय तहबाट ‘निमित्त’ हटाउने तयारी

हाल २ सय ७ वटा स्थानीय तह निमित्तका भरमा छन् । काठमाडौं महानगरको प्रशासकीय अधिकृतको दरबन्दी विशिष्ट श्रेणीको सचिव तहको छ । त्यसबाहेकका ५ महानगर र ११ उपमहानगरमा प्रशासकीय अधिकृतमा सहसचिवको दरबन्दी छ । २ सय ७६ नगरपालिकामा उपसचिव तथा गाउँपालिकाहरूमा शाखा अधिकृतले प्रशासकीय अधिकृत चलाउनुपर्ने व्यवस्था छ । तर १ महानगर, ४ उपमहानगर, १ सय १३ नगरपालिका र ८९ गाउँपालिका निमित्तका भरमा छन् ।

शिक्षा, इन्जिनियरिङतर्फका प्राविधिक अधिकृत तथा नायब सुब्बा तहका कर्मचारीले स्थानीय तह चलाइरहेका छन् । निमित्त प्रशासकीय अधिकृतले तोकिएकै अधिकृतको जस्तो काम गर्न नसकेको देखिएको छ । उनीहरू जनप्रतिनिधिको दबाबमा रहने, कामचलाउ ढंगले काम गर्ने, अडान लिन नसक्ने जस्ता कमजोरी देखिएको मन्त्रालयको बुझाइ छ । आर्थिक अनुशासनको उल्लंघन पनि बढी निमित्त रहेकै स्थानमा देखिएको मन्त्रालय स्रोत बताउँछ ।

त्यसमाथि महालेखाले समेत निमित्त रहेका स्थानमा बढी बेरुजु तथा आर्थिक अनुशासन कमजोर देखिएको कुरा औंल्याएपछि मन्त्रालय दबाबमा परेको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले स्थानीय तहमा तोकिएकै दरबन्दीका कर्मचारी पठाउन प्रशासनतर्फका अधिकृतको खोजी थालिएको बताए । ‘मन्त्रालय वा केन्द्रीय निकायहरूमा १/२ जना शाखा अधिकृत वा उपसचिव नहुँदा काम बिग्रिँदैन तर स्थानीय तहमा एक जना नहुँदा काम ठप्प हुने अवस्था आउँछ,’ उनले कान्तिपुरसँग भने, ‘सबैतिरबाट खोजी गरेर भए पनि अधिकृत पठाउछौं ।’

उनका अनुसार यसै साता मन्त्रालयले विभिन्न निकायबाट तानेर ३८ जना शाखा अधिकृतलाई गाउँपालिकामा र २० जना उपसचिवलाई नगरपालिकामा सरुवा गरी कामकाजमा खटाइएको छ । तर अझै झन्डै डेढ सय स्थानीय तहका लागि कर्मचारी अपुग छन् । मन्त्रालयको प्रशासन महाशाखा प्रमुख सहसचिव राजीव पोखरेलले भदौभित्र सबैतिर दरबन्दीकै अधिकृत पुर्‍याउने तयारी रहेको बताए । यसै साता करिब १ सय ५० जनाको शाखा अधिकृतमा बढुवा हुन लागेकाले उनीहरूलाई स्थानीय तहमा प्राथमिकता दिइनेछ । भदौमा करिब ५० जना शाखा अधिकृत उपसचिवमा बढुवा हुने भएकाले त्यसबेला नगरपालिकाहरूमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पद पूर्ति गर्न सहयोग पुग्नेछ । एकपटक सबैतिर दरबन्दीकै प्रशासकीय अधिकृत पुर्‍याउने उनले बताए ।

मन्त्रालयले स्थानीय तहको प्रशासन चलाउन महिला कर्मचारीलाई अवसर दिने पनि तयारी थालेको छ । कुल ७ सय ५३ स्थानीय तहमध्ये ३ वटामा मात्रै महिला प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् । मन्त्रालयले सूचना जारी गर्दै प्रशासन सेवा, सामान्य प्रशासन समूहका शाखा अधिकृत तथा उपसचिव पदमा कार्यरत इच्छुक महिलालाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा जान आह्वान गरेको छ ।

प्रकाशित : श्रावण ३०, २०७७ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?