नेकपा विवाद : ९ दिनपछि ओली-दाहाल संवाद- समाचार - कान्तिपुर समाचार

नेकपा विवाद : ९ दिनपछि ओली-दाहाल संवाद

दुई अध्यक्षबीच संवादहीनता तोडिए पनि पार्टीभित्रको गतिरोधलाई कसरी समाधान गर्ने भन्नेबारे ठोस सहमति जुटेको छैन ।
बिनु सुवेदी

काठमाडौँ — नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा नौ दिनेदेखिको संवादहीनता तोडिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार करिब चार घण्टा भएको छलफललाई नेताहरूले अध्यक्षद्वय अडानबाट ‘रियलाइजेसन’ तर्फ उन्मुख भएको संकेतका रूपमा व्याख्या गरेका छन् ।

यद्यपि पार्टीभित्रको गतिरोधलाई कसरी समाधान गर्ने भन्नेबारे दुई अध्यक्षबीच सहमति भइसकेको छैन ।

बैठकमा स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल र जनार्दन शर्माले सहमतिका लागि भन्दै प्रस्तावहरू पेस गरेको र त्यसमा आफूले कुनै जवाफ नदिएको अध्यक्ष दाहालले बताएका छन् । ‘चार घण्टाको छलफल भए पनि बैठकमा ओलीजीसित त्यति लामो कुरा भएन, शंकर पोखरेल र जनार्दन शर्माले सहमतिका लागि भन्दै केही बुँदा पढेर सुनाउनुभएको थियो,’ बिहीबार साँझ काठमाडौंको थापागाउँमा प्रदेश ५ का आफूनिकट केन्द्रीय कमिटी सदस्यहरूलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘सहमतिका लागि बैठकमा आउने कुरालाई मैले सकारात्मक रूपमा लिएको छु ।’

दाहालले बैठकमा भनेअनुसार पार्टी एकतालाई बलियो बनाउन स्थायी कमिटी बैठकमा जाने, अहिलेसम्मका कमीकमजोरीमा आत्मालोचना गर्दै त्यसलाई सच्याएर लैजाने, एकता प्रक्रिया जतिसक्दो छिटो पूरा गर्ने, अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई सच्याएर अझै सुदृढ बनाएर लैजाने प्रस्ताव पोखरेल र शर्माको थियो । ‘तर उहाँ (पोखरेल) ले ल्यापटप हेरेर भन्नुभएको थियो, कुनै त्यस्तो लिखित प्रस्ताव आएन, मैले बैठक बस्ने कुरा सकारात्मक हो भन्ने जवाफ दिएको छु,’ दाहालले भने ।

बैठक बस्ने कुरा पनि ठोस रूपमा नआएको दाहालले बताए । ‘ओलीजीतिरका अरू नेताहरू स्थायी कमिटी बैठकमा जानुपर्छ भन्नेमै हुनुहुन्छ, उहाँ पनि आजचाहिँ बैठकमा जाने कि भन्नेसम्मको मनस्थितिमा देखिनुभयो,’ दाहालले भने, ‘जाने कि भन्नेसम्म मात्रै हो, ठोस कुरा भएको छैन ।’

महासचिव विष्णु पौडेल, पोखरेल र शर्मा बैठकमा केहीबेर बस्ने र केहीबेर अध्यक्षद्वयलाई एक्लै छोडिदिने गरिरहेका थिए । बैठकको सुरुवातमा स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि केही बेर बसेर निस्किएका थिए । ‘म छलफल सफल पार्नुस् भन्ने शुभकामना दिएर निस्किएको हुँ,’ नेम्वाङले भने । सहमतिको बिन्दु पहिल्याउन दुवै अध्यक्ष टसको मस नभएपछि दोस्रो तहका नेताहरू सहमतिको विकल्प खोज्न छलफलमा जुटेका थिए । ओली पक्षीय नेताहरूले कान्तिपुरलाई दिएको जानकारीअनुसार केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाउने र त्यसको संयोजक दाहाललाई तोक्ने प्रस्ताव यसअघि गरिएको भए तापनि बिहीबारको बैठकमा त्यो विषयमा छलफल नभएको दाहालले बताएका छन् । महासचिव पौडेल र स्थायी कमिटी सदस्य पोखरेलले पछिल्लो समय बुधबार मात्रै अध्यक्ष दाहाललाई भेटेर केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समिति बनाउने र त्यसको संयोजक दाहाल बस्ने गरी सहमति गर्न प्रस्ताव गरेका थिए ।

दाहालनिकट एक स्थायी कमिटी सदस्यका अनुसार अहिलेको परिस्थितिमा मंसिरका लागि प्रस्ताव गरिएको अर्ली महाधिवेशन त के, चैतमा हुने भनिएको महाधिवेशनसमेत हुन नसक्ने निष्कर्ष दाहाल–नेपाल पक्षको छ । त्यसैले ओली पक्षबाट आएको उक्त प्रस्तावमा दाहाल सकारात्मक भइनसकेको उनीनिकट स्रोतको भनाइ छ । ‘यस विषयमा दाहालले बुधबार नै रुचि नदेखाएकाले बिहीबार थप छलफल नभएको हुन सक्छ,’ एक स्थायी कमिटी सदस्यले कान्तिपुरसँग भने ।

वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरूले पनि यही हालतमा महाधिवेशन हुन नसक्ने र ओलीले नै आफू सत्तामा रहुन्जेल महाधिवेशन हुन दिन्न भनेकाले यो जालझेलको अर्को पत्तोमात्रै हुन सक्ने निचोड निकालेका छन् । यही निचोड उनीहरूले दाहाललाई पनि सुनाएका छन् ।

गत साउन १८, १९ र २० गते दुई अध्यक्षबीच संवाद भए तापनि निचोडमा पुग्न सकेको थिएन । २१ गते अध्यक्ष दाहालसहित उनी पक्षीय सचिवालय सदस्यहरूले पत्रकार भेटघाटमा जतिसुकै खराब परिणाम पनि आउन सक्ने बताएका थिए । त्यसपछि सोही साँझका लागि तय भएको अध्यक्षहरूको छलफल रोकिएको थियो । अध्यक्षहरूका बीचमा लगातार छलफल हुने तर त्यसले कुनै निचोड निकाल्न नसक्ने हुँदा कार्यकर्ता झन् निराश हुने भएकाले यसरी ‘तारेख’ धाएझैं दिनदिनै निष्कर्षविहीन छलफल गर्नभन्दा केही समय रोकिएर सहमतिको विकल्पसहित संवाद थाल्नुपर्ने भन्दै दोस्रो तहका नेताहरू सक्रिय भएका थिए । ‘धेरै दिनदेखि अध्यक्षहरूका बीचमा भेटघाट भएको थिएन, त्यसलाई तोड्नका लागि वातावरण तयार भएको थिएन, त्यो वातावरण बनाउन हामी लागेका थियौं,’ स्थायी कमिटी सदस्य नेम्वाङले भने, ‘दुई अध्यक्ष बसेर हार्दिकतापूर्वक छलफल गर्नुभएको छ, अब सहमति गर्ने जिम्मा पनि उहाँहरूको नै हो ।’

दाहालका प्रेस संयोजक विष्णु सापकोटाले रोकिएको छलफल सुरु भए तापनि कुनै सहमति भने भइनसकेको बताए । ‘ठ्याक्कै यसै भन्ने निष्कर्ष त निस्किएको छैन,’ सापकोटाले भने, ‘अहिले देखिएका सबै समस्यालाई समाधान गर्ने दिशातर्फ छलफल उन्मुख भएको छ, शुक्रबार फेरि अध्यक्षद्वयका बीचमा कुराकानी हुन्छ ।’ ओलीलाई भेट्न जानुअघि दाहालले वरिष्ठ नेता नेपालसँग आफ्नै निवास खुमलटारमा संवाद गरेका थिए ।

साउन १३ गते प्रधानमन्त्री एवं अध्यक्ष ओलीले एकतर्फी स्थगित गरेपछि दाहाल पक्षीय स्थायी कमिटी सदस्यहरूको बैठकले अध्यक्ष दाहाललाई ओलीसँग वार्ता गरी सहमतिमा स्थायी कमिटी बैठक बोलाउन जिम्मेवारी दिएको थियो । त्यतिखेर पनि दाहालले सहमति नहुने संवादमा आफू नबस्ने बताएपछि १८ गते मात्रै वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य नेम्वाङसहित बैठक बसेको थियो । तर ती छलफल सकारात्मक भएका थिएनन्, बरु दुवै पक्षका नेताले आआफ्ना गुटका छुट्टाछुट्टै भेला गरेका थिए । त्यसैले दोस्रो तहका नेताहरूका बीचमा संवाद नभएसम्म अध्यक्षहरूबीचको संवादलाई रोक्ने निर्णय उनीहरूले गरेका थिए ।

धोकाधडी र बदला लिने काम मात्रै भयो : दाहाल

अध्यक्ष दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट धोकाधडी, षड्यन्त्र र बदला लिने काम मात्रै भएको गुनासो गरेका छन् । दाहाल–नेपाल निकटका प्रदेश ५ का केन्द्रीय सदस्यहरूको भेलालाई सम्बोधन गर्दै दाहालले अरूलाई छक्याएर, झुक्याएर आफूलाई ठूलो देखाउने ओलीको बानी रहेको र त्यसै कारण पनि पार्टी एकता प्रक्रियामा अवरोध आएको बताएका थिए । उनले ओलीले दुईमध्ये एक पदबाट राजीनामा दिनुपर्छ भन्ने आफ्नो पुरानो अडान यथावत् रहेको र बिहीबारको छलफलमा पनि त्यही कुरा दोहोर्‍याएको बताएका थिए ।

बैठकमा दाहालले कुनै पनि हालतमा पार्टी नफुट्ने भन्दै तल्लो तहका कार्यकर्ताका माझमा सन्देश प्रवाह गर्न पनि भेलामा आग्रह गरेका थिए । ‘पुराना विवाद यथावत् छन्, उहाँ, उहाँकै कुरामा हुनुहुन्छ,’ दाहालले भेलामा भने, ‘पार्टी एकताका लागि भनेर हामीले उहाँको लचकता पर्खिएर बसेका छौं ।’ उनले पार्टी बैठकबाट भाग्ने प्रवृत्तिले निकास निस्कन नसक्ने बताए ।

वरिष्ठ नेता माधवकुमार नेपालले स्वेच्छाचारी शासक बन्नकै लागि ओलीले पार्टी एकता गरेको बताए । ‘आफूलाई खास र शक्तिशाली प्रधानमन्त्री देखाउन ओलीजीले पार्टी एकता गर्नुभएको रहेछ, उहाँ अहिले कार्यकर्ताको मतको बलमा निरंकुश बन्दै जानुभएको छ,’ नेपालले भेलामा भने, ‘त्यतिखेर गलत नियतले पार्टी एकता गरेका रैछन् भनेर अहिले बुझ्दैछु ।’ सहभागी भए तापनि खनालले भने सम्बोधन गरेनन् ।

ओली पक्षले मदन भण्डारी फाउन्डेसनका नाममा तल्लो तहसम्म कार्यक्रम गरेर पार्टी फुटका लागि तयार हुन भनेपछि आफूहरूले पनि केन्द्रीय सदस्यहरूसँग छलफल गरेको नेताहरूले बताएका छन् । यसअघि बुधबार गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग दाहाल–नेपाल पक्षीय सचिवालय सदस्यहरूले छलफल गरेका थिए । उक्त छलफलमा दाहालले पार्टी कुनै पनि हालतमा नफुट्ने भएकाले ढुक्क रहन आग्रह गरेका थिए ।

प्रकाशित : श्रावण ३०, २०७७ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्

‘हटस्पट’ वीरगन्जमा अभावै अभाव

पीसीआर किट र रिएजेन्ट अभावले दुई दिन स्वाब परीक्षण रोकियो, स्वास्थ्यकर्मी र बिरामीमा संक्रमण देखिन थालेपछि नारायणी अस्पतालमा आकस्मिकबाहेक सबै सेवा साउन ९ देखि बन्द छन् ।
भूषण यादव

वीरगन्ज — कोरोना ‘हटस्पट’ बनेको वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट र रिएजेन्ट अभावले दुई दिनसम्म स्वाब परीक्षण प्रभावित बन्यो । प्रयोगशालाले बुधबारदेखि अर्को व्यवस्था नभएसम्म कुनै पनि नमुना परीक्षण गर्न नसकिने भन्दै सूचना नै टाँस्यो ।

साउन २६ र २७ गते आइपुगेका विभिन्न जिल्लाका नमुनासमेत परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको सूचनामा उल्लेख छ । ५ दिनअगाडिदेखि नै पीसीआर किट माग गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।

पीसीआर किटको अभावमा अस्पतालले मंगलबार ११ सयभन्दा बढी स्वाबको नमुना काठमाडौं पठाएको थियो । ‘सरोकारवाला निकायलाई अग्रिम जानकारी गराउँदा पनि समयमै पीसीआर किट आइपुगेन,’ एक चिकित्सक भन्छन्, ‘यसले देखाउँछ, महामारीको बेला राज्यसंयन्त्रको काम कस्तो छ ?’ बारा र रौतहटमा संकलन गरिएका स्वाब पनि यहाँको प्रयोगशालामा परीक्षण हुँदै आएको छ । तर यहाँ रिएजेन्ट, पीसीआर किट अभाव छ ।

बुधबार राति ११ बजे मात्रै काठमाडौंबाट पीसीआर किट आइपुगेको नारायणी प्रयोगशाला प्रमुख डा. निरा पाठकले जानकारी दिइन् । ‘नयाँ रि–एजेन्ट आउँदा त्यसलाई भ्यालिडेसन गर्नुपर्ने हुन्छ । केही पोजिटिभ र केही निगेटिभ स्याम्पल लिएर भ्यालिडेसन गर्‍यौं,’ उनले भनिन्, ‘स्याम्पलहरू रि–रन भइसक्यो ।’ रि–एजेन्ट नहुँदा दुई दिन काम प्रभावित भयो । प्रयोगशालामा दैनिक करिब ५ सय स्याम्पल टेस्ट हुने गरेको उनले बताइन् ।

प्रदेश २ मै पीसीआर किट अभाव रहेको छ । प्रदेश आपूर्ति निर्देशानलय प्रमुख डा. प्रमोद यादवका अनुसार पीसीआर किट केन्द्र सरकारबाटै आउने गरेको छ । ‘अभाव हुन थालेपछि प्रदेश सरकार आफैंले ५० हजार पीसीआर किट खरिद गर्ने योजना अगाडि बढाएको छ,’ डा. यादवले भने, ‘सप्तरी र जनकपुरको प्रयोगशालमा एउटा/एउटा पीसीआर मेसिन थप्ने र रौतहटमा पीसीआर मेसिन स्थापना गरिनेछ ।’

तीन सातादेखि अस्पताल बन्द

गत साउन ९ देखि नारायणी अस्पतालको आकस्मिकबाहेक अन्य सबै सेवा बन्द छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कर्मचारी तथा अन्तरंग विभागमा भर्ना भएका बिरामीलाई समेत कोरोना देखिएको भन्दै निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुरेन्द्रप्रसाद चौधरीले सूचना जारी गरी आकस्मिक सेवाबाहेकका अन्य सबै सेवा बन्द भएको जनाएका थिए । त्यसयता अस्पतालका चिकित्सकसहित ५१ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ । जनशक्ति अभाव भएपछि करिब २० दिनअगाडि नै स्वास्थ्य मन्त्रालय र विभागमा जानकारी गराइएको मेसु डा. उपाध्याय बताउँछन् ।

अस्पताल सञ्चालनका लागि १० जना मेडिकल अधिकृत, ४ जना फिजिसियन, १४ जना नर्सिङ स्टाफ, ४ जना कार्यालय सहयोगी र ६ जना सरसफाइ कर्मचारी माग गरिए पनि स्वास्थ्य विभागले हालसम्म

दुई जना नर्सिङ स्टाफ पठाइदिएको डा. उपाध्यायले बताए । स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित हुँदा अस्पतालको सेवा सञ्चालनमा मात्र कठिनाइ भएको छैन, कोरोना अस्पताल व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको छ ।

नारायणी अस्पताल सञ्चालनमा नहुँदा बिरामीले सहज उपचार पाउन सकेका छैनन् । ज्वरो, खोकी र झाडापखालाका बिरामीलाई निजी अस्पतालले भर्ना लिन मानेका छैनन् । पछिल्लो ६ दिनमा उपचार नपाएर वीरगन्जमा ४ जनाको मृत्यु भइसकेको छ । मृतकका आफन्त र स्थानीयले अस्पताल र चिकित्सकको विरोधमा प्रदर्शनसमेत

गरेका छन् । नारायणी अस्पतालको परिसरमा रहेको कोरोना बुथ र एक जना चिकित्सकको कारमा तोडफोड भएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले एक वडा सदस्यसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । वैशाख र जेठमा भर्ना भएका कोरोना संक्रमित डिस्चार्ज भएपछि नारायणी अस्पतालमा फेरि जनरल सेवा सुरु भएको थियो । हाल दुईवटा निजी अस्पताल नारायणी अस्थायी कोरोना अस्पतालको नाममा सञ्चालनमा ल्याइएको छ ।

संघीयतामा पनि काठमाडौंकै आस

साउन १५ मा पर्साका प्रमुख राजनीतिक दलले वीरगन्जमा कोरोना रोकथाम र नियन्त्रणका लागि विज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको विशेष टोली वीरगन्ज पठाउन सरकारसँग माग गरेका थिए । साउन १८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली पठाएको थियो । नारायणी अस्पताल स्रोतका अनुसार मेसु डा. उपाध्यायले उच्चस्तरीय टोलीलाई जनशक्ति अभाव र कोरोना अस्पताल व्यवस्थापनको समस्याबारे अवगत गराएका थिए । उक्त टोली फर्किएको १० दिनभन्दा बढी भइसक्दा पनि कुनै सुधार भएको छैन ।

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका उपप्रध्यापक वीरेन्द्रप्रसाद साह मुलुक संघीयतामा गए पनि संविधानअनुसार संरचना निर्माणमा कसैको ध्यान नगएको बताउँछन् । ‘संघीयतामा गए पनि व्यावहारिक हिसाबले सबै संरचना बनिसकेका छैनन्,’ उनले भने, ‘बनाउन कसैको ध्यान पनि गएको देखिँदैन ।’ सरकार नागरिकप्रति गैरजिम्मेवार भएर प्रस्तुत भएको उनको बुझाइ छ । ‘यता मान्छे मरिरहेका छन्, अस्पतालमा बेड अभाव छ, त्यसमा कुनै चिन्ता छैन,’ उनले भने, ‘तर, सरकार प्रमुख मेयरलाई बोलाएर राम–सीताको मन्दिर बनाउन निर्देशन दिन्छन् । वीरगन्जको स्थिति सोचेभन्दा बढी खराब छ ।’ हालको संकट व्यवस्थापनका लागि उनले स्थानीय तहमा संयन्त्र बनाउन आवश्यक रहेको सुझाए ।

नारायणी अस्पतालका चिकित्सक डा. निरजकुमार सिंह चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्थापन स्थानीय सरकारले पनि गर्न सक्ने बताउँछन् । ‘कोरोना उपचारमा हालसम्म निजी अस्पतालमा कार्यरत चिकित्सकलाई संलग्न गराइएको छैन,’ उनले भने, ‘नारायणीकै मेडिसिन विभागका ८ जना टोलीको काँधमा जिम्मेवारी थुपारिएको छ ।’

बुधबारसम्म पर्सामा १ हजार १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये २ सय ४५ जना संक्रमित निको भएका छन् । हालसम्म २० जनाको मृत्यु भएको छ । ८ सय ९७ जना सक्रिय संक्रमितमध्ये १ सय ६७ लाई मात्र कोरोना अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाशित : श्रावण ३०, २०७७ ०७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×