चाँदीमा लेप लगाएर १६ केजी सुनको पैसा ठगी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाँदीमा लेप लगाएर १६ केजी सुनको पैसा ठगी

कुख्यात जाली नोट तस्कर इल्ताफ हुसेन पक्राउ, इल्ताफ र निलेशले सक्कली सुन लिन आएका सञ्जयलाई सुनको लेपन लगाएको चाँदी दिएर आफैंले घुमुवामार्फत लुट्न लगाएको खुलासा
मातृका दाहाल

काठमाडौँ — कुख्यात जाली नोट तस्कर इल्ताफ हुसेन अन्सारी र भारतीय चलचित्र निर्माता निलेश सखियाले नक्कली सुन दिएर १६ केजी सुन बराबरको पैसा ठगी गरेको खुलासा भएको छ । बाराको निजगढबाट बिहीबार पक्राउ परेका इल्ताफले निलेशको योजनामा सुनको पैसा लुटिएको खुलाएका हुन् ।

इल्ताफले आफू मध्यस्थकर्ता मात्रै भएको र मुख्य योजनाकार निलेश नै भएको बताएका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले तस्करीका योजनाकारमध्येका एक जना इल्ताफलाई पक्राउ गरिएको र उनको बयानपछि केही नयाँ तथ्य खुल्न सक्ने बताए । अनुसन्धान भइरहेकाले सबै कुरा बोल्न नमिल्ने उनको भनाइ छ । स्रोतका अनुसार नक्कली सुन दिएर सक्कलीबापतको रकम ठग्ने योजनामा निलेश र इल्ताफकै हात थियो ।

भारत गुजरातका सञ्जय पटेललाई काठमाडौंमा १६ केजी सुन दिन भनेर इल्ताफ र निलेशले बोलाएका थिए । उक्त सुनको पहिल्लो बजार मूल्य १२ करोड रुपैयाँभन्दा बढी पर्छ । उच्च स्रोतका अनुसार सुन लिनका लागि सञ्जयले निलेशलाई भारतमै रकम भुक्तानी गरेका थिए । सोही क्रममा सक्कली सुन लिन सञ्जय असार अन्तिम साता निलेशसँगै काठमाडौं आए । उनी कमलपोखरी अपार्टमेन्टमा डेढ साता बसेर भारत फर्किने योजनासहित आएका थिए ।

पहिल्यै पैसा लिएका निलेशले चाँदीमा सुनको लेपन लगाएर सञ्जयलाई ठग्ने योजना बुने । यसका लागि उनले जाली नोट तस्करीमा जेल बसेर छुटेका इल्ताफसहित काठमाडौंमै व्यापार गर्ने गुजरातका कौशल पटेल र उनका दाजु देवानसिंह पटेललाई जिम्मा दिए । देवान र कौशलको लाजिम्पाटमा सुनचाँदी सरसफाइ गर्ने पसल छ । निलेशको देवानसिंह, कौशल र इल्ताफसँग पुरानै चिनजान रहेको स्रोतको भनाइ छ । भारतबाटै देवानसिंहलाई निलेशले चाँदी खरिद र लेपन लगाउन १६ लाख रुपैयाँ दिइसकेका थिए । त्यसैअनुसार राजधानीकै एक पसलबाट १६ केजी चाँदी खरिद गरिएको थियो । अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले चाँदी खरिद गरेको पसलको नाम गोप्य राखेको छ ।

न्युरोडकै मनीष मल्लिकले १६ टुक्रा चाँदीमा सुनको लेपन लगाइदिएका थिए । यसबापत उनले प्रतिटुक्रा एक हजारका दरले पैसा लिए । बाँकी चाँदीका टुक्रामा अरू नै कालिगडबाट सुनको लेपन लगाइएको थियो ।

निलेशले सुन तयार भयो भनेपछि सञ्जयले पैसा दिएका थिए । अनुसन्धान भइरहेका कारण सञ्जयबाट निलेशले कति पैसा लिए भन्नेबारे यकिन खुल्न सकेको छैन । त्यसपछि निलेश सञ्जयकै साथ काठमाडौं आए । पैसा लिएपछि निलेशले सञ्जयलाई ठग्ने योजना बुनेर प्रहरीका घुमुवालाई १५ लाख रुपैयाँ दिई चाँदीमा लेपन लगाइएको पहेंलो धातु लुटाउने योजना बनाए । यो कुरा इल्ताफले प्रहरीलाई बयानमा बताएका छन् ।

साउन १२ गते यही योजनासहित महानगरीय प्रहरी वृत्त दरबारमार्गका घुमुवा बहादुरसिंह कठायतलाई हात लिएर कौशल र देवानसिंहले भोलिपल्ट साउन १३ गते सञ्जयलाई लेपन लगाएको सुन दिएर पठाउने र त्यसलाई बाटैमा प्रहरीले नियन्त्रणमा लिने अनि सञ्जयलाई सुन लुटिएको भन्ने योजना बनाए । त्यसका लागि बहादुरसिंहलाई १० लाख रुपैयाँ दिने डिल भयो । बहादुरसिंहले रकम थोरै भयो भनेर मानेनन् । ५ लाख थप्ने सहमति भयो । त्यस दिनको यो घटना दरबारमार्गकै अर्का घुमुवा प्रसन्न श्रेष्ठले पनि थाहा पाए । योजनामा प्रसन्नलाई पनि सामेल गराइयो । यो सबै इल्ताफ र निलेशको योजनामा भएको थियो । यसबापत देवानसिंह र कौशललाई कमिसन दिने पनि सहमति भएको स्रोत बताउँछ ।

यो योजना कमलादीको एक होटलमा बसेर गरिएको थियो तर घुमुवाले दरबारमार्गका डीएसपी रञ्जन दाहाललाई सक्कली सुन भारत लैजान गिरोहले तयारी गरेको र १३ गते बिहानै सुन लिएर बा६च ५५१९ नम्बरको स्कोर्पियो जिप हात्तीसारबाट कमलादी हुँदै जान लागेको गलत सूचना दिए । गाडी कमलपोखरी सिटी सेन्टर सडक खण्डबाट कमलपोखरी हुँदै कमलादीबाट अघि बढ्यो । गाडीमा थिए इल्ताफ, निलेश र सञ्जय । साथमा पहेंलो जलप लगाइएको १५ केजी ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुन अनि २ थान पेस्तोल ।

गाडीअघि दिएको लोकेसनभन्दा केही फरक रुटमा कमलादी–घण्टाघर हुँदै अघि बढ्यो । निलेश र इल्ताफले आफू अघि बढेको सूचना देवानसिंह, कौशल र घुमुवाहरू प्रसन्न र बहादुरसिंहलाई दिएका थिए । गाडी पछ्याउँदै दुवै जना घुमुवा सहिदगेटबाट सुन्धारा आकाशे पुलनजिकै पुगेपछि प्रहरीले सुन नियन्त्रणमा लिन घेरा हालेको भन्दै सञ्जयलाई निलेशले सुनाए । हतियार र सुनसहित भाग्न लागेका सञ्जय आत्तिए । घुमुवालाई निलेश आफैं बाहिर निस्केर लेपन लगाएको साढे १५ केजी चाँदी र ५ सय ग्राम सुन अनि २ थान पेस्तोल दिए । प्रहरी आएको भन्दै इल्ताफ र सञ्जय त्यही गाडीबाट भागे । निलेश, देवानसिंह र कौशल आफ्नै बाटो लागे । तीनै जना योजना सफल भएको भनेर हिँडे । उनीहरू भारत भाग्ने योजनामा थिए । यता सामान नियन्त्रणमा लिएको भन्दै घुमुवाले डीएसपी दाहाललाई जानकारी गराए ।

केहीबेरमा डीएसपी सुन्धारा आइपुगे । साढे १४ केजी सामान डीएसपीलाई बुझाएका घुमुवा प्रसन्नले एक केजी आफ्नो खल्तीमा हालेर सँगै रहेका बागबजारका व्यापारी उमेश श्रेष्ठलाई दिए । घटना सुन्धारामा भएको थियो । सामान सुन वा चाँदी जाँच गर्न डीएसपी दाहाल सुनचाँदी व्यवसायी महासंघमा पुगे । त्यसबेलासम्म बरामद सामान सुन नै भएको भ्रममा थिए दाहाल । जाँचेपछि मात्रै ५ सय ग्राम सक्कली र बाँकी सबै चाँदीमा सुन लेपन गराइएको खुल्यो ।

प्रहरीले घटनास्थल कमलादी भन्दै केहीबेरमा पत्रकार सम्मेलन गर्‍यो । यता घटनाको अनुसन्धानमा जुटेपछि सुन लुटाउने निलेश र पटेल दाजुभाइ भागिसकेका थिए भने सामान लुटिएपछि गाडी चालक इल्ताफ र सुन लिन आएका सञ्जय पनि त्यही गडीमा भागे । त्रिपुरेश्वरबाट थापाथली हुँदै भागेका उनीहरू ललितपुरको नखिपोट पुगेर एक निर्माणाधीन घरको कम्पाउन्डमा रोकिए । गाडी त्यहीं छोडेर भागेकामध्ये इल्ताफ बिहीबार बाराको निजगढबाट पक्राउ परेका हुन् । सञ्जय अझै फरार छन् । उता घटना भएको भोलिपल्टै योजना सफल भएपछि काठमाडौंबाट भागेका निलेश, देवानसिंह र अपार्टमेन्टमा कामदारका रूपमा ल्याइएका विजय पटेललाई महानगरीय अपराध महाशाखाको टोलीले पूर्वी नवलपरासीको दुम्कीबासबाट १४ गते पक्राउ गर्‍यो ।

त्यही दिन महाशाखा र काठमाडौं प्रहरीको टोलीले घुमुवा प्रहरी बहादुरसिंह र प्रसन्न श्रेष्ठलाई अनि सुराकीका रूपमा खडा गरिएका कौशललाई काठमाडौंबाट पक्राउ गर्‍यो । सुन्धाराबाट १ केजी पहेंलो धातु लुकाएका उमेश श्रेष्ठ बागबजारस्थित कोठाबाटै सामानसहित पक्राउ परे । तर इल्ताफ र सञ्जय फरार भएका कारण घटनाको सत्यतथ्य खुल्न सकेको थिएन । सुन उपलब्ध गराउने भनेर लिएको पैसा इल्ताफ वा निलेश कोसँग छ भन्ने अनुसन्धानकै क्रममा रहेको स्रोतले बताएको छ । सुनबापतको पैसा काठमाडौं वा भारतमै भुक्तानी भयो भन्ने पनि अनुसन्धान भइरहेको छ ।

काठमाडौंमा भुक्तानी भएको भए लुकाएको आशंकामा सम्भावित स्थानको पनि खोजी भइरहेको स्रोत बताउँछ । लुटपाटका योजनाकार निलेश भारतीय चलचित्र निर्माता हुन् । गत वर्ष मात्रै उनले बनाएको पेनाल्टी चलचित्रमा आफूले घाटा खाएपछि गलत काममा लागेको बयान प्रहरीलाई दिएका छन् । इल्ताफ र निलेशलाई सँगै राखेर अनुसन्धान गरेपछि थप तथ्य र प्रमाण बाहिर आउने प्रहरी स्रोत बताउँछ ।

को हुन् इल्ताफ ?

डेढ दशकको अवधिमा पटकपटक प्रहरीलाई छल्दै अपराधको जालो फैलाउँदै आएका इल्ताफ हुसेन अन्सारी बिहीबार बाराबाट पक्राउ परे– ‘बिचौलिया’ को भूमिकामा संलग्न भएको कसुरमा । इल्ताफ नेपाल, भारत, पाकिस्तानलगायत मुलुकका सुरक्षाकर्मीदेखि आपराधिक समूहसँग पनि उत्तिकै निकट थिए । नेपाल प्रहरीका केही उच्च अधिकारीसँग उनको निकटता यसअघिका अनुसन्धानले पनि पुष्टि गरेको थियो ।

अपराधका गोप्य धन्दाबारे कहिलेकाहीँ आफैं सुराकी बनेर विभिन्न मुलुकका सुरक्षाकर्मीसँग पनि निकटस्थ रहे । नेपाल प्रहरी उच्च स्रोतका अनुसार जाली नोट र हतियार कारोबारबारे अर्को समूहका सूचना इल्ताफले यदाकदा दिन्थे । त्यसका आधारमा कैयौं पटक इल्ताफमार्फत जाली नोटका सूचना प्रहरीले पाउँथ्यो तर उनले आफ्नो धन्दा पनि त्यत्तिकै सक्रिय बनाइराखे ।

आफू संलग्न अपराधको जालो भत्किने भयले उनी विभिन्न मुलुकका सुरक्षाकर्मीसँग सम्पर्कमा बस्थे । २०६० पछि इल्ताफ यसैगरी चलिरहे । तर जब इल्ताफको दोहोरो भूमिका भएको सूचना प्रहरीले सुइँको पायो, इल्ताफको दैनिकी एकाएक भूमिगत हुन थाल्यो । डेढ दशक अघिसम्म रोजगारी र दैनिक गुजाराका लागि संघर्षरत इल्ताफ जब जाली नोट, हतियार र यस केन्द्रित धन्दामा लागे, तब उनका विगतका संघर्षहरू सेलाउँदै गए । जाली नोटकै कारोबारमा हाल नख्खु कारागारमा रहेका युनुस अन्सारीदेखि भारत, दुबई, पाकिस्तानलगायतका गिरोहसँग निकट हुन थाले ।

युनुससँग नजिकिएसँगै इल्ताफ ‘भारतीय जाली नोट कारोबारका नामुद ‘योजनाकार’ बने । त्यही सिलसिलामा २ पटक त पक्राउ नै परे । ज्यान मुद्दा र जाली नोट, जाली नोट र दुवै धन्दाका लागि अवैध हातहतियार ओसारपसार– यी तीन कसुरमा उनी प्रहरीको निसानामा थिए । २०६४ असार २० गते अनामनगरमा इल्ताफकै योजनामा बलराम पटुवारको गोली हानी हत्या भयो । इल्ताफलाई प्रहरीको विशेष ब्युरोले पक्राउ गरेको थियो । घटनामा लाल मोहम्मदलगायत पनि मुछिए । तर इल्ताफविरुद्धको केस स्थापित नभएपछि छुटे ।

त्यसपछि भूमिगत बनेका इल्ताफ पुनः जाली नोट कारोबारमै सक्रिय भए । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ०७२ जेठ ३० गते ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको थियो । ०६५ सालमा साउथ एसियन डेभलपमेन्ट सेन्टरका नामबाट अन्सारीले आफन्त फूलनाज बेगम र आफ्ना नाममा सगोलमा नामसारी गरेको बा६च ५५१९ नम्बरको स्कोर्पियो जिप अपराध धन्दामा उनले प्रयोग गर्दै आएका थिए ।

०६७ जेठ २६ गते ललितपुर जिल्ला अदालतले जाली नोटको कारोबारमा अन्सारीलाई ३ वर्ष कैद र २ करोड ६१ लाख ९ हजार रुपैयाँ जरिवाना असुल्ने फैसला सुनाउँदा उनी फरार भइसकेका थिए । ०६४ असारमा अनामनगरमा बलराम पटुवालको हत्यापछि केही समय जेल बसेर छुटेपछि भागेका इल्ताफ जाली नोटको कारोबारमा दोषी ठहर हुनुअघि नै फरार भइसकेका थिए । रौतहट, पर्सा, बारालगायत प्रदेश २ का विभिन्न सीमावर्ती जिल्ला अपराधका लागि उनका स्थायी आधारस्थल हुन् । कहिलेकाहीँ मात्रै काठमाडौं आउने गरेका थिए ।

सक्कली नाम लुकाउन उनले मुन्ना खान, सदरुल अन्सारी, सदरुल मियाँलगायत नामबाट पनि सक्रिय भए । त्यसबीच जाली नोट कारोबार आरोप लाग्दै आएका केही व्यक्ति मारिए, कति पक्राउ परे, त्यसको सोझो फाइदा इल्ताफले उठाएर आफ्नै समूह चलाएको त्यस बेलाको प्रतिआतंकवाद निर्देशनालय (हाल विशेष ब्युरो) मा काम गरेका एक सुरक्षा अधिकारी बताउँछन् ।

पछिल्लोपटक ०७६ जेठ १० गते युनुस अन्सारीसहित ६ जना ७ करोड ६७ लाख ९४ हजारसहित पक्राउ परेका थिए । उक्त जाली नोट कारोबारमा इल्ताफको पनि संलग्नता थियो तर प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । ०७० माघ ११ गते जाली नोटकै कसुरमा युनुस पक्राउ पर्दा पनि इल्ताफ भाग्न सफल भएका थिए ।

०६६ कात्तिक २० गते कुपन्डोलमा सेख सफी अहमद ५४ लाख नक्कली भारुसहित पक्राउ परे । उक्त जाली नोट पनि इल्ताफले नै भारत पुर्‍याइदिन आफूलाई दिएको बयानमा उल्लेख गरेको प्रहरी स्रोतको भनाइ छ । प्रहरी स्रोतका अनुसार इल्ताफ र युनुसको सम्बन्धमा खटपट आउँदा युनुसकी श्रीमतीले विवाद मिलाइदिने गरेको अनुसन्धानमा संलग्न स्रोत बताउँछ । युनुस र इल्ताफको ललितपुर नखिपोटमै घर छ ।

ती अधिकारीको भनाइअनुसार इल्ताफ ‘एउटै गोलीले दुइटा सिकार’ गर्ने जाली नोट कारोबारी हुन् । ‘उनी धन्दा चलाउने र बेलाबखत जालो नभत्किने गरी सुरक्षाकर्मीलाई पनि सूचना दिन्थे, त्यहींबाट दोहोरो भूमिकामा उनी अघि बढ्दै हतियार र जाली नोट कारोबारमा सक्रिय बन्न थाले ।’

प्रकाशित : श्रावण ३०, २०७७ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्

स्वास्थ्यकर्मीले पाएनन् सुविधा

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले महामारीका बेलामा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी र चिकित्सकलाई जोखिम भत्ता दिने निर्णय गरे पनि त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा खटिने कुनै चिकित्सकले हालसम्म भत्ता पाएका छैनन् । 

भत्ता त दिएनन् नै, तलबमा पनि १५ प्रतिशत काटेको उनीहरूको भनाइ छ । आफैं सुरक्षा सामग्री किनेर लगाउनुपरेको, घर जान सवारी नपाएको, संक्रमित भइसकेपछि पनि बस्ने ठाउँ नदिएको भन्दै अस्पतालका चिकित्सकले आवाज उठाइरहेका थिए । ‘हामीले प्रशासनमा गएर धेरैपटक यसबारे कुरा गरेको हो,’ आकस्मिक कक्षमा कार्यरत अर्की चिकित्सकले भनिन्, ‘हाम्रो माग सुनेनन्, आज पूरै आकस्मिक कक्ष असुरक्षित भयो ।’

वीर अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सक हरेक दिन सार्वजनिक सवारी चढेर ड्युटीमा जान्छन् । अस्पतालले सवारीको व्यवस्था नगरिदिँदा जोखिम मोलेर यात्रा गर्नुपरेको उनले गुनासो गरे । संक्रमण नसरोस् भनेर पीपीई, मास्क, पन्जाजस्ता सुरक्षात्मक सामग्री आफैं किन्ने गरेको उनले बताए । ‘सरकारले सर्वसाधारणलाई संक्रमणबाट बच्न सावधानी अपनाउनुपर्छ भनेको छ, तर हामीले दैनिक असुरक्षित भएर काम गर्नुपरेको छ,’ उनले भने, ‘आकस्मिक कक्षमा आउने सबैको पीसीआर रिपोर्ट मागेर मात्रै उपचार गर्छु भन्न मिलेन, आफू मात्रै संक्रमित भइहालें भने त ठीकै छ, सार्वजनिक सवारीमा अरूलाई सारिएला कि भन्ने डर छ ।’

फ्रन्टलाइनमा बसेर बिरामी हेर्नुपर्ने जिम्मेवारी भए पनि हालसम्म उनले कोरोना जोखिम भत्ता पाएका छैनन् । सुरक्षात्मक सामग्री नहुँदा मास्कको भरमा बिरामी जाँचिरहेका छन् । वीरका चिकित्सकजस्तै मेडिकल कलेजलगायत राजधानीका ठूला अस्पतालमा कार्यरत चिकित्सक असुरक्षाका बीच कामको पेलानमा परिरहेका छन् । स्वास्थ्य मन्त्रालयले गत वैशाखमा जारी गरेको संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन निर्देशिकाअनुसार फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मी, सफाइकर्मीलाई तलबको ५० प्रतिशत जोखिम भत्ता दिइने भनिएको छ । तर, पाटन, टिचिङ, वीर, सशस्त्र प्रहरीजस्ता केन्द्रीय अस्पतालकै जनशक्तिले हालसम्म जोखिम भत्ता नपाएको गुनासो गरेका छन् ।

स्वास्थ्यकर्मीसमेत संक्रमित हुनुले सुरक्षाको व्यवस्थापन कमजोर भएको बुझिने नेपाल चिकित्सक संघका महासचिव बद्री रिजालले बताए । ‘चिकित्सक संक्रमित हुनु या जोखिममा पर्नु भनेको अस्पताल नै जोखिममा पर्नु हो,’ उनले भने, ‘स्वास्थ्यकर्मी सुरक्षित बनाए भोलि बिरामीले उपचार नपाउने स्थितिबाट जोगिन सकिन्छ ।’

जनस्वास्थ्यविद् डा. शरद वन्त स्वास्थ्यकर्मीको संख्या न्यून भएको देशमा उनीहरू नै संक्रमित हुनु र बढीभन्दा बढीलाई क्वारेन्टाइनमा राख्नुपर्ने स्थितिले भोलि स्वास्थ्यमा भयावह स्थिति आउन सक्ने बताउँछन् । स्वास्थ्यकर्मी बचाउन उच्चतम सतर्कता अपनाउनुपर्ने भनिए तापनि नेपालमा बेवास्ता गरिएको उनले बताए । उनका अनुसार स्वास्थ्यकर्मीलाई संक्रमण हुनबाट जोगाउन मुख्यतः सुरक्षाका गुणस्तरीय सामग्री र काम गर्ने सम्मानित वातावरण हुन आवश्यक छ ।

प्रकाशित : श्रावण ३०, २०७७ ०७:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×