कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यी हुन् ओली-दाहाल छलफलका सकारात्मक एजेन्डा

बबिता शर्मा

काठमाडौँ — नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल कार्यदल बनाएर पार्टी विवाद र शक्ति बाँडफाँडको विषय टुंग्याउन सहमत भएका छन् । नौ दिनपछि दुई अध्यक्षबीच भएको छलफलमा कार्यदल बनाउने प्रस्तावमा सहमत भएको ओली र दाहाल निकट नेताहरुको दाबी छ ।

यी हुन् ओली-दाहाल छलफलका सकारात्मक एजेन्डा

ओलीसँगको चार घण्टा छलफलबारे दाहालले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठलाई बिहीबार साँझ जानकारी गराएका छन् ।

यसबाहेक आफ्नो समूहका प्रदेश ५ का केन्द्रीय सदस्यहरुको भेलामा पनि दाहालले ओलीसँगको पछिल्लो संवादबारे ब्रिफिङ गरेका थिए ।

चार घण्टा लामो छलफलमा दुई पदबाट नहट्ने गरी ओलीको तर्फबाट प्रस्ताव पेस भएको थियो । जसअनुसार पहिलो अध्यक्ष ओली नै रहने, तर दाहाल पूर्ण रुपले पार्टी काममा केन्द्रित हुने रहेको छ ।

यसबाहेक सरकारले नियुक्ति र आधारभूत नीतिमा पार्टीसँग सल्लाह गर्ने, मन्त्रिपरिषद्को पुनर्गठन, मुख्यमन्त्री हेरफेर र सांगठनिक काम टुंग्याउने प्रस्ताव आएको दाहालले नेताहरुलाई जानकारी गराएका छन् ।

त्यस्तै केन्द्रीय कमिटीले तोकेको मितिमा सहमतिका आधारमा महाधिवेशन गर्ने प्रस्तावका बारेमा पनि अध्यक्षद्वयबीचमा छलफल भएको दाहालले बताएका थिए ।

एक नेताका अनुसार कार्यदल बाहेक अन्य प्रस्तावमा छलफल भएपनि सहमति भइनसकेको दाहालले नेताहरुलाई सुनाएका थिए । ओलीको तर्फबाट बिहिबार पेस भएको प्रस्तावको सीमाभित्र छलफल गर्ने गरी नभई कार्यदललाई पार्टी विवाद हल गर्न स्वतन्त्र ढंगले छलफल गरेर प्रस्ताव तयार गर्ने अधिकार दिने गरी सहमति भएको दाहालले बताएका थिए ।

तर, ओलीसँगको छलफलको विषयबस्तु अझै प्रस्ट नराखेको भन्दै वरिष्ठ नेता खनाल, नेपाल र श्रेष्ठले भने आंशका व्यक्त गरेका छन् ।

दुई अध्यक्षबीचको संवादपूर्व महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल र जनार्दन शर्माले सहमतिका लागि गृहकार्य र शीर्ष नेतासँग लगातार भेट गरेका थिए ।

यस्तै, ओली र दाहालबीच चाँडै नै स्थायी कमिटी बैठक बसाल्ने विषयमा पनि छलफल सकारात्मक भएको छ ।

प्रकाशित : श्रावण २९, २०७७ २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?