दाहाल-नेपाल समूहका लगातार भेला, ओलीमाथि दबाब बढाउने रणनीति

बबिता शर्मा

काठमाडौँ — आफूहरुले उठाएका मागलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सिधै अस्वीकार गरेको निष्कर्षमा पुगेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह ओलीमाथि दबाब बनाउने रणनीतिमा जुटेका छन् । ओली समूहमाथि दबाब बनाउने रणनीतिअनुसार दाहाल–नेपाल समूह आफू निकट नेता–कार्यकर्तासँग लगातार छलफलमा छ । 

दाहाल-नेपाल समूहका लगातार भेला, ओलीमाथि दबाब बढाउने रणनीति

साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच भएको छलफल सकारात्मक नभएपछि दाहाल–नेपाल समूहले दबाबको रणनीति अंगीकार गरेका हुन् । यद्यपि नौ दिनपछि बिहीबार भेटवार्ता गरेका नेकपाका अध्यक्षद्वय ओली र दाहालले पार्टीको पछिल्लो विवाद सुल्झाउने गरी सकारात्मक छलफल भएको यी नेताका सचिवालयको दाबी छ ।

ओली र दाहालबीच संवाह रोकिएलगत्तै दाहाल–नेपाल समूहले आफ्ना निकट नेता कार्यकर्तासँग छलफल थालेका थिए । यस्ता छलफलको मुख्य उद्देश्य ओली र उनको समूहमाथि सहमतिका लागि दबाब बनाउनु नै रहेको दाहाल–नेपाल समूहमा रहेका एक नेताले बताए । ओली समूहसँग ठोस सहमति नभएसम्म यस्ता छलफल जारी रहने ती नेताको भनाइ थियो ।

ओलीले पार्टी विभाजन गर्ने गरी गतिविधि गरेको आरोप लगाउँदै आएको दाहाल–नेपाल समूह आफैं पछिल्लो समय गुटगत सक्रियतामा देखिएको हो । यही सिलसिलामा पछिल्लो पटक यो समूहले बिहीबार प्रदेश ५ का केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन् ।

अध्यक्ष दाहाल, वरिष्ठ नेता खनाल, वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले काठमाडौंमा उपलब्ध प्रदेश ५ का आफू निकट केन्द्रीय सदस्यहरुसँग छलफल गरेका हुन् । स्थायी कमिटी सदस्य घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, देव गुरूङ, गोकर्ण विष्टलगायतका नेता पनि भेलामा सहभागी थिए ।

छलफलमा नेताहरुले पार्टीको पछिल्लो विवाद र अबस्थाका साथै सम्भावित कदमबारे ब्रिफिङ गरेको र केन्द्रीय सदस्यहरुले सुझाव दिएको एक सदस्यले बताए । अध्यक्ष दाहालले अहिलेको लडाइँ पदका लागि नभएको कुरा दोहोर्‍याएका थिए । उनले विधि, पद्धति, विचार, कार्यदिशाको लडाइँ भएको बताएका थिए ।

अन्य नेताहरुले पनि ओलीको व्यक्तिवादी प्रवृत्तिका कारण सरकार र पार्टीमा समस्या पैदा भएको भन्दै असन्तुष्टि पोखेका थिए । उनीहरुले ओलीको रुपान्तरणका लागि अहिलेको लडाइँ भएको बताएका थिए । ती सदस्यका अनुसार सकेसम्म पार्टी विभाजनको विकल्पमा जानेबारे कुनै कदम नचाल्न केन्द्रीय सदस्यहरुले सुझाव दिएका थिए ।

दाहाल नेपाल–समूहले बुधबार गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गर्दै उनीहरुका सुझाव संकलन गरेका थिए । प्रधानमन्त्री ओलीले पार्टीको नीति र विधि मान्न तयार हुदै कार्यशैलीमा सुधार गर्नुपर्ने गडकी प्रदेशका नेकपाका केन्द्रीय सदस्यहरुको धारणा थियो । त्यसअघि साउन २१ मा नेकपाका चार नेताले पत्रकारसँग छलफल गरेका थिए । छलफलमा दाहालले सकेसम्म राम्रोका लागि काम गर्ने र नभए खराब परिस्थितिका लागि पनि मानसिकरुपमा तयार हुनुपर्ने बेला आएको बताएका थिए ।

ओलीले मदन भण्डारी फाउन्डेशनका नामबाट विभिन्न जिल्लाहरुमा भेला, बैठक र कमिटी निर्माणका गतिविधि भइरहेको यो समूहको दाबी छ ।

यो समूहले पत्रकारसँग अन्तक्रिया गरेपछि त्यसै दिन हुने भनेको दाहालसँगको भेट ओलीले टारेका थिए ।

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो । पछिल्लो छलफलमा कुन कमिटीबाट विवाद हल खोज्ने भन्नेमा दुई पक्षबीच नयाँ विवाद थपिएको थियो । प्रधानमन्त्री ओली सचिवालय बैठकमा भएपछि मात्रै स्थायी कमिटी बस्‍‍नुपर्ने अडान थिए ।

अध्यक्ष दाहाल स्थगित स्थायी कमिटी बैठक सुचारु गर्ने र केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने अडानमा बसेपछि त्यसयता दुई अध्यक्षबीच थप संवाद हुन सकेको थिएन । यसबाहेक प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने दाहाल–नेपाल समूहको माग छ । यो समूहबाट उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा भने पन्छिएका छन् ।

दुवै पद नछाड्ने ओलीको अडान छ । स्थगित स्थायी कमिटी सुचारु गर्ने विषयमा पनि उनीहरुबीच मतभेद छ । एक सय ५२ केन्द्रीय सदस्यले लिखित मात्र गरे पनि केन्द्रीय कमिटीको बैठक अनिश्चित छ । बुधबारमात्रै एक टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले ५ दिनभित्र पार्टी विवाद हल हुने दाबी गरेका थिए ।

प्रकाशित : श्रावण २९, २०७७ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?