कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बीआरआईमा ठोस उपलब्धि हासिल गर्न नेपालसँगको सहकार्यलाई अघि बढाइने : चीन

लक्ष्मी लम्साल

बेइजिङ — चीनले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मा ठोस उपलब्धी हासिल गर्न नेपालसँगको सहकार्यलाई अघि बढाउने बताएको छ ।

बीआरआईमा ठोस उपलब्धि हासिल गर्न नेपालसँगको सहकार्यलाई अघि बढाइने : चीन

बिहीबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै चिनियाँ परराष्ट्र प्रवक्ता चाउ ली च्येनले भने, ‘चिनियाँ राष्ट्रपतिको गत वर्ष भएको नेपाल भ्रमणका दौरान भएका सहमतिहरूलाई कार्यरूप दिन दुवै मुलुक तयार छन् । ’

नेपाल चीनले अघि सारेको बीआरआईको सदस्य मुलुक भएपनि सत्तारूढ दल नेकपाभित्र घरझगडा चलिरहेका चीनले यसअघि दुवै देशको शीर्ष नेतृत्वबीच भएको सहमतिलाई कार्यान्वयन गर्नुपर्ने कुरा दोहोर्‍याएको हो ।

पत्रकार सम्मेलनमा उनले नेपालसँग मिलेर आपसी सहमतिहरूलाई व्यवहारमा उतार्ने, जारी कोभिड १९ महामारी विरूद्धको सहयोगलाई निरन्तर बढाउने, बीआरआई परियोजनाको निर्माण, व्यापार तथा लगानी सहायता, प्रतिरक्षा, कानून कार्यान्वयन लगायतका द्विपक्षीय सम्बन्धको विकासलाई अघि बढाउने धारणा व्यक्त गरे ।

बुधबार नेपाल र चिनियाँ पक्षबीच भिडियोमार्फत् तेह्रौं चरणको चीन-नेपाल कूटनीतिक वार्ता भएको थियो । प्रवक्ता चाउले दुवै मुलुकबीचको आपसी सम्बन्ध तथा साझा अभिरुचिका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाहरूमा सो वार्तामा वैचारिक आदान-प्रदान भएको जानकारी दिए ।

प्रवक्ता चाउले चालु वर्ष दुई मुलुकबीच दौत्य सम्बन्ध स्थापना भएको ६५औं वार्षिकोत्सवमा दुवै मुलुकका नेताहरूले एक अर्कालाई बधाई सन्देश आदानप्रदान गरेको स्मरण गरे । चीन र नेपाल नदी र पहाडले जोडिएका मैत्रीपूर्ण छिमेकी भन्दै उनले भने, ‘गत वर्ष दुई मुलुकका राष्ट्रप्रमुखले सफलतापूर्वक पारस्परिक भ्रमण गरेबाट द्विपक्षीय सम्बन्ध नयाँ उचाइसम्म उकासिएको छ।’

चीन र नेपालले कोरोना भाइरस महामारीको प्रतिरोधका क्रममा एक अर्कालाई सहायता गरिरहेको पनि प्रवक्ता चाउले बताए । पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा प्रवक्ता चाउले नेपाल र चीन उही डुंगामा रहेका मुलुक भएकाले कोरोना महामारी विरूद्ध आपसी हातेमालो गर्ने बताए ।

प्रकाशित : श्रावण २९, २०७७ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?