कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

नेकपा विवाद : ओली, दाहाल र नेपालको छवि कति बिग्रियो ?

‘यतिबेला तीनैजना नेताले देश र परिस्थितिबारे ध्यान दिनुपर्दथ्यो । सबैभन्दा बढी प्रधानमन्त्री र पार्टी अध्यक्षको हैसियतमा ओलीले नै दिनुपर्दथ्यो । तर, झगडाको सुरुवात उनले नै गरे । दाहाल र नेपाल पनि समझदार हुनुपर्ने हो ।’
बबिता शर्मा

काठमाडौँ — पार्टी एकता भएलगत्तै नेकपामा सुरु भएको अन्तरकलह अझै साम्य भएको छैन । एकपछि अर्को मुद्दाका कारण नेताहरुबीचको सम्बन्ध तिक्ततापूर्ण छ । सरकार र पार्टीबीच आधारभूत तालमेलसमेत छैन ।

नेकपा विवाद : ओली, दाहाल र नेपालको छवि कति बिग्रियो ?

त्यसैले नेकपाका नेताहरु चिन्तित हुँदै भन्न थालेका छन्, ‘पार्टीमा भाँड्भैलो छ । सरकारका काम प्रभावकारी भएन । पार्टीको छवि ध्वस्त भयो । अर्को चुनावमा के मुद्दा लिएर जनताकहाँ जाने ?’

आन्तरिक विवादले पार्टीको छवि बिग्रिएको नेकपाभित्रको बुझाई हो । नेकपा आफैमा संगठन हो र योसँग जोडिएका छन् हजारौं नेता र लाखौं कार्यकर्ता । त्यसैले विवादले पार्टीको मात्र होइन, शीर्ष नेताकै छविमा समेत प्रभाव परेको छ । यद्यपि जतिसुकै छवि बिग्रिए पनि अहिले शीर्ष नेताहरुको विकल्प नरहेको स्थायी कमिटी तहका नेताहरुको बुझाई छ । तर, उनीहरुमध्ये केहीले दुई अध्यक्षको नेतृत्व क्षमतामाथि प्रश्न भने उठाउन थालेका छन् ।

नेकपाको पछिल्लो शक्तिसंघर्षमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘फ्रन्टलाइन’ मा छन् । यसबाहेक पार्टीभित्रको शक्तिसन्तुलनको हिसाबले चौथो वरीयतामा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि नेकपा विवादको केन्द्रमै छन् । यद्यपि पछिल्लो पटक ओली र दाहाल–नेपाल समूहबीच टकराव देखिएको हो ।

विवादलाई लिएर दूवै समूहका आ–आफ्ना तर्क छन्, जसमार्फत उनीहरुले आफ्ना माग र अडानलाई जायज ठहराउने कोसिसा गरेका छन् । स्थायी कमिटीका केही सदस्यहरुको बुझाईमा नेकपा विवादले शीर्ष नेताहरुको चरित्र, कार्यशैली, हठ, सोच, विधि–पद्धतिप्रति आस्था र पदप्रतिको मोह उजागर गरेको छ । जसले पार्टीभित्र र आमजनतामा शीर्ष नेताहरुको छवि बिग्रिएको नेकपाकै नेताहरुको बुझाई छ । तर, तीन नेताको नीति, विधि र कार्यशैलीलाई अन्य नेताहरुको बुझाईमा एकरुपता भने छैन ।

असार १० देखि सुरु स्थायी कमिटी बैठक पटक–पटक स्थगन, दुई अध्यक्ष ओली–दाहालबीच नतिजाविहीन श्रृंखलाबद्ध संवाद र पार्टीभित्र बढ्दो धु्रवीकरणले शीर्ष नेताको छवि बिगारेको नेताहरुको बुझाई छ ।

ओलीमाथि अहंकार, आलोचना पचाउन नसक्ने स्वभाव र अधिनायकवादी कार्यशैली रहेको आरोप लाग्ने गरेको छ । यसबाहेक भ्रष्टाचारजन्य गतिविधिमा उनले नजरअन्दाज गरेको पनि आरोप छ । यता दाहाल र नेपाल समूहमाथि बहुमतका आडमा पार्टी र सरकारको नेतृत्व कब्जा गर्ने सोच पलाएको आरोप छ । तर, दुवै पक्षले एकअर्कामाथि पार्टी विभाजनका लागि गतिविधि गरेको आरोप पनि लगाउँदै आएका छन् ।

अहिले ओली र दाहालतिर सन्तुलन बनाइराख्ने प्रयास गरेका स्थायी कमिटीका एक सदस्य तीन नेताले गुटको राजनीति गरेर छवि बिगारेको सुनाउँछन् ।

‘तीनै नेताका केही समानता छन् । उनीहरुले गुटमा काम गरे । पार्टीभित्र इमान–जमानका मान्छेसँगको सम्बन्धभन्दा पनि आफ्नो गुटको मान्छेलाई हेरे । गुटभन्दा माथि उठ्न सकेनन् । सबैसँग सहकार्यमा ध्यान दिएनन्,’ ती नेताले नाम नराख्ने शर्तमा सुनाए ।

उनले व्यक्तिगत रुपमा पनि ओली, दाहाल र नेपालबारे टिप्पणी गर्दै थपे, ‘अहिले प्रधानमन्त्रीको राष्ट्रवादी अडानले थोरै भए पनि उनको छवि थेगिरहेको छ । यो मामिलामा शासकीय चरित्र देखाए । तर, उनको लोकप्रियता निकै तल झरेको छ । सिंगो पार्टी निर्माणमा उनको कमजोरी देखियो,’ उनले भने, ‘यसबाहेक दाहाल नेकपाको नेता हुनुपर्दथ्यो, गुटको नेता जस्तो देखिए । उनीबाट पार्टीको समग्र नेतृत्व गर्ने काम भएन । त्यहाँ उनको कमजोरी भयो । नागरिकलाई दाहालमाथि आशा थियो, अहिले आशामा प्रश्न उठ्यो । पदका लागि मात्रै लागे भन्ने भयो । माधव नेपालले विकास, राष्ट्रिय मुद्दाहरुमा अडान लिनेभन्दा पनि भित्रभित्रै चलखेल गरे । उनी पनि असन्तुष्ट गुटको नेता मात्रै छन् ।’

केन्द्रीय सदस्य राम कार्की शीर्ष नेताहरुले वैचारिक र संगठनात्मक नेतृत्व गर्न नसकेको निश्कर्ष सुनाउँछन् । ‘तीनै जनाले कठिन बेलामा नेतृत्व गर्न सक्नुहुन्न भन्ने सावित भयो । उहाँहरुको चरण गुज्रियो । अब स्थायी कमिटी पनि सडिसकेको रहेछ भन्ने स्थिति देखियो । अहिले कमिटी भनेकै स्थायी कमिटी मात्रै हो । केन्द्रीय कमिटी त ताली पड्काउने मात्रै हो । तर, स्थायी कमिटीले पनि अध्यक्षद्वयमा सुम्पेका विशेष अधिकारलाई कमिटीमा फिर्ता ल्याउन सकेन,’ कार्कीले भने ।

ओली, दाहाल र नेपालमा रहेका कमजोरीबारे कार्की थप्छन्, ‘उहाँहरुले वैचारिक– राजनीतिक मुद्दालाई अगाडि ल्याउन सक्नु भएन । सबैजना एउटै बाटो हिँड्नु भएको छ । बाटो हिँड्दा को अगाडि को पछाडि भन्ने विवाद देखियो । तर, भिन्न राजनीतिक कार्यदिशा कसैमा देखिएन । नयाँ बाटो दिन सक्नु भएन, समाजवादको आन्दोलनलाई अगाडि लैजान सक्नु भएन ।’

प्रधानमन्त्री ओलीबारे केन्द्रीय सदस्य कर्ण थापाको बुझाई फरक छ । ‘केपी ओली संघर्ष, प्रतिस्पर्धाबाट नेता हुनु भएको हो । प्रतिस्पर्धाबाट नेता भएको हुँदो विपक्षमा पनि थुप्रै मान्छे छन् । उहाँमा अडान र स्पष्टता छ ।’

ओली निकट मानिने नेता थापाको बुझाईमा अस्थिर चरित्र रहे पनि दाहालमा लचकता र गतिशीलता रहेको बताउँछन् । ‘दाहाल पार्टीको नेता हो तर बन्न सक्नु भएन । उहाँ कहिल्यै प्रतिस्पर्धाबाट नेता हुनुभएको थिएन । मनपरी ढंगबाट नेतृत्व गर्नुभएको थियो । कुनै प्रणाली, विधि–पद्धतिमा पार्टी कमिटी बनाएर होइन । त्यस्तो हुँदा पाँच हजारको पनि कमिटी बन्यो, सय जना र ३५ जनाको पनि कमिटी बनाएर काम गर्नुभयो । पार्टी हेडक्वार्टरले मात्रै पनि चल्यो । उहाँमा अस्थिर चरित्र छ । तर, लचकता र गतिशीलता पनि छ ।’

थापाको बुझाईमा नेकपाभित्रको अहिलेको भद्रगोलको मुख्य जिम्मेवार माधव नेपाल हुन् । उनी भन्छन्, ‘आठौं राष्ट्रिय महाधिवेशनमा उहाँसँग १० जना मान्छे थिए । त्यतिबेला केपी र झलनाथबीचको द्वन्द्वमा आफ्ना सीमित मान्छे प्रयोग गरेर बीचको राजनीति गर्नुभयो । एकता हुँदा पनि भाग खोज्ने र तिनै मान्छे लिएर अहिले खेलिरहनु भएको छ । विचारमा कहिलै नेतृत्व गर्नु भएको छैन । जहिल्यै दुई पक्षबीचको द्वन्द्वबाट फाइदा लिने मान्छे हो । पदका लागि जे पनि गर्ने रैछन् भन्ने उजागर भयो ।’

अरुको द्वन्द्वमा नेता हुने प्राविधिक मान्छे भएको र नेपालसँग रहेका नेता पनि राजनीतिक भन्दा प्राविधिक धेरै रहेको थापाको दाबी छ । नेपालकै स्वेच्छाचारिताले ०५४ मा पार्टी विभाजन भएको थापाको आरोप छ ।

यस्तै, आफ्नो नाम सार्वजनिक गर्न नचाहने स्थायी कमिटीका अर्का एक सदस्यले पनि ओली र दाहालका समस्यामाथि आफ्नो मूल्याङ्कन सुनाए । प्रधानमन्त्री ओलीमा पुँजीवादी बाटोमा हिँड्ने चरित्र देखिएको आरोप उनले लगाए ।

‘नेपाली समाजमा नवउदारवाद हावी छ । जसले प्रत्येक दिन दलाल मात्रै उत्पादन गर्छ । तर, सरकारको नेतृत्व गर्दा पनि ओलीले दलाल उत्पादन गर्ने उद्योग बन्द गर्न सक्नु भएन । समाजवादी पार्टीतिर डोराउन सक्नु भएन,’ उनले ओलीमाथि टिप्पणी गरे, ‘नवउदारवादले संसारभर अधिनायक शैलीको मान्छे खोजिरहेको छ । पुँजीवादले जहिले नेताको नाममा पार्टी होस् भन्ने चाहन्छ । यसले समूह, कमिटी, उद्देश्य र लक्ष्यको पार्टी खोज्दैन । ट्रम्पको पार्टी, मोदीको पार्टी भने जस्तै ओलीको पार्टी भयो । अहिले पुँजीवादमा ओली फिट भए । कोही पुँजीवादविरुद्ध लड्ने हो भने उनी ढल्छन् । उनीविरुद्ध मात्रै लडेर केही हुँदैन ।’

तीनै नेताले दाहालको कार्यशैलीबारे टिप्पणी गर्दै भने, ‘दाहाल पनि पुँजीवादविरुद्ध खुलेर लड्न सकेनन् । उनीबाट समाजवादी बाटो सोझ्याउने आँट भएन । त्यसो गर्दा धेरै चिज गुमाउनु पर्छ । बुद्ध बन्न सक्नु पर्छ । त्यो साहस उनमा देखिएन । उनी अहिलेकै गोलचक्करमा रमाए ।’

केन्द्रीय सदस्य डोरप्रसाद उपाध्याय भन्छन्, ‘पछिल्लो विवादले उहाँहरुको ‘इमेज’ धेरै खस्किएको छ । सदाचारीको छवि छैन । राजनीतिमा अडान छैन । विधि पद्धति माग्ने बेलासम्म हुन्छ, आफू सत्तामा गएपछि अरुले (दाहाल–नेपाल) पनि कार्यान्वयन गर्दैनन् । उस्तै प्रवृत्तिबीचको संघर्ष हो । त्यो संघर्षमा अहिले केपी ओली हावी छन् ।’

नेकपा निकट एक पूर्वप्राध्यापक नेकपाको अहिलेको विवादले ओली स्वेच्छाचारीे र दाहाल पदलोलुप रहेको सन्देश गएको सुनाउँछन् । उनको बुझाईमा दुई पक्षबीचको विवादलाई आफ्नो अनुकल बनाउने लाग्ने छवि देखिएको छ ।

ओलीको सोच र कार्यशैलीबारे ती प्राध्यापक भन्छन्, ‘ओली पदका भोका रहेछन् भन्ने भएको छ । नेकपा लडाइँमा उनले लिएको अडानले उनी देशको स्थितिको पटक्कै ख्याल गर्दैनन् भन्ने सन्देश गयो । उनी हठी छन् भन्ने पनि भयो । अहिले उनमा देशकाल र परिस्थिति बिग्रेला अनि आफ्नो पार्टी फुट्ला भन्ने डर नराख्ने प्रवृति देखियो । आफू अध्यक्ष भएको पार्टीको बैठकमा नजाने गलत नजिर बसाले । पार्टी विधि–पद्धति मिच्नेमा अगाडि देखिए । नेकपा विवादले उनका समस्या र कार्यशैली सतहमा ल्याइदियो र छवि पनि बिग्रियो ।’

ती बुद्धिजीवीले अर्का अध्यक्ष दाहालको समस्या पनि सुनाए, ‘नेकपामा अहिले जे जस्तो भयो र त्यसमा दाहालको जे भूमिका देखियो यसले उनी कुर्सीबाहेक केहीको प्रवाह नभएको नेताका रुपमा देखिए ।’ यसबाहेक उनले नेपालबारे टिप्पणी गरे, ‘समय, परिस्थिति विचार नगरेर परिस्थितिलाई आफ्नो अनुकल बनाउन मात्रै लागे ।’

र, समग्रमा ती प्राध्यापकले तिनै नेताबारे आफ्नो निश्कर्ष सुनाए : ‘यतिबेला तीनैजना नेताले देश र परिस्थितिबारे ध्यान दिनुपर्दथ्यो । सबैभन्दा बढी प्रधानमन्त्री र पार्टी अध्यक्षको हैसियतमा ओलीले नै दिनुपर्दथ्यो । तर, झगडाको सुरुवात उनले नै गरे । दाहाल र नेपाल पनि समझदार हुनुपर्ने हो । बरु उत्तिकै ‘रियाक्टिभ’ देखिए । अहिले तीनै जनाको छवि गिरेको छ । यी नेतालाई पदबाहेक अरु कुनै मतलव छैन भन्ने सन्देश गएको छ । खासगरी ओलीको स्वेच्छाचारीे र दाहालको पदलोलुपको छवि बन्यो ।’

नेकपामा सुध्रिने र सुधार्ने तथा आलोचना र आत्मआलोचनाको खेल पनि चल्छ । तर, अहिलेसम्म दुवै पक्ष आफ्ना कमजोरी स्वीकारेर अगाडि बढ्न तयार छैनन् । विवाद लम्बिँदै जाने र सरकारको काम प्रभावकारी नहुने हो भने शीर्ष नेताहरुको छवि थप खराब हुने केन्द्रीय एवं स्थायी कमिटी तहका नेताहरुको बुझाई छ । यद्यपि ९ दिनपछि ओली र दाहालबीच संवाद सुरु भएको छ । नाटकीय रुपमा सहमति जुट्यो भने बिग्रिएको छवि विस्तारै सुधार पनि होला कि !

प्रकाशित : श्रावण २९, २०७७ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?